News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्।
- छनोट समितिले ४७ आवेदकबाट कम्तीमा ३ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ।
- अध्यक्ष पदका लागि स्नातकोत्तर उपाधि र कम्तीमा ७ वर्षको अनुभव आवश्यक छ।
२१ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदका लागि आकांक्षी ४७ जनाले आवेदन दिएका छन् । छनोट समितिले सोमबारसम्मको समय राखेर आवेदन माग गरेकोमा ४७ जनाले बुझाएका हुन् ।
सरकारले राजनीतिक पहुँचका आधारमा नभई खुला प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गर्ने भएपछि आवेदन पनि विगतको तुलनामा धेरै परेको हो । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको सचिवालयमा उनीहरूले आवेदन बुझाएका हुन् ।
समितिको सचिवालय अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको छ । समितिले वैशाख १५ देखि २१ गतेसम्मकोसमय राखेर दरखास्त आह्वान गरेको थियो ।
समितिले अब ४७ आवेदक मध्येबाट संक्षिप्त सूची तयार गर्नेछ । त्यसमध्येबाट समितिले कम्तीमा ३ जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । सरकारले तीन जना मध्येबाट एकलाई धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ । यसरी नियुक्त भएका अध्यक्षको कार्याअवधि ४ वर्षको हुनेछ ।
यही वैशाख ८ गते बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य छन् । वैशाख ४ गते बोर्ड अध्यक्षबाट सन्तोष श्रेष्ठले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
बोर्डको अध्यक्षमा आवेदन दिनका लागि योग्यताका हकमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचारजन्य, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागु औषध कारोबार लगायतका फौजदारी कसुर पाएका व्यक्ति अध्यक्ष पदका लागि अयोग्य हुने छन् ।
प्रतिक्रिया 4