News Summary
Generated by OK AI. Editorially reviewed.- इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षणका लागि कोदोको पिठोबाट बिस्कुट बनाउनेलाई अनुदान दिन थालेको छ।
- नयाँबजारकी पार्वती भट्टराईले उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत अनुदान पाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेकी छन्।
- गाउँपालिकाले औजार खरिदमा सहयोग गर्दै युवालाई आत्मनिर्भर बनाउन र कोदोलाई ब्रान्डिङ गर्ने योजना अघि बढाएको छ।
२२ वैशाख, मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ । उपाध्यक्षसँग युवा यद्यमी कार्यक्रमअन्तर्गत पालिकाबासीलाई अनुदान दिन सुरु गरेको हो ।
अनुदान पाएर हाल एक जना महिलाले गाउँपालिकाको नयाँबजारमा कोदो पिठोबाट बिस्कुट उत्पादन गर्न थालेकी छन् । नयाँबजारकी पार्वती भट्टराईले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेकी हुन् । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको उनको भनाइ छ ।
उद्यमी भट्टराईले उद्योग नै सञ्चालन गरेर यसको उत्पादन सुरु गरेकी हुन् । भट्टराई ‘कोदोको बिस्कुट तथा बेकरी उद्योग’ नाम दिएर उद्योग स्थापना गरेको उनले बताइन् ।
तयारी कोदो फल्ने, पिस्ने र मह वा चिनी एवं केही मैदा मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाएर यसलाई तयार गर्ने गरिएको छ । उत्पादन सुरु भरेको भर्खरै मात्र भएर हाल स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरूले कोसेलीका रूपमा बिस्कुट लैजाने गरेको उनको भनाइ छ ।
माइजोगमाई गाउँपालिकाद्वारा सञ्चालित उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमअन्तर्गत अनुदानमार्फत आफूले सो उद्योग स्थापना गरेको सञ्चालक भट्टराईको भनाइ छ । यसमा मिसाइने गुलियो या मह चिनी, उखुको खुदोले अझ मिठोपन दिने गर्दछ ।
सँगै भट्टराईले पाउरोटीलगायतका परिकारसमेत तयार पार्ने योजना बनाएकी छन् । तयार गरेको कोदोको बिस्कुट उपभोक्ताले रुचाउने गरेको उनको भनाइ छ । उनले मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएको बताइन् ।
गाउँपालिकाले सहयोग गरेको यो कार्यक्रमले स्थानीयस्तरमा कोदाको समेत ‘ब्रान्डिङ’ हुने अपेक्षा लिइएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए ।
उनले बिस्कुट बनाउन थालेपछि कोदोलाई ‘ब्रान्ड’ बनाउन सकिने सम्भावनादेखिको उल्लेख गरे । पछिल्लो समय कोदोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएपछि यसको उत्पादनसमेत कम हुँदै आएको छ ।
गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुने र उत्पादनसँगै किसानलाई फाइदा पुग्ने गाउँपालिका अध्यक्ष थेबेको भनाइ छ ।
उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमले नेपालमा नै केही गर्न चाहने युवाहरूलाई सहयोग गर्ने गाउँपालिकाकी उपाध्यक्ष प्रवीना राईले बताइन् । उनका अनुसार उद्योग स्थापना गर्न गाउँपालिकाले नै सहयोग गरेको छ ।
गाउँपालिकाले औजार खरिदमा सहयोग गरेको जनाइएको छ । विभिन्न वडामा रहेका युवाहरूलाई काममा जोड्न र आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।
उनले यो कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन सके गाउँपालिकाले थप सहयोग गर्ने बताउँदै व्यावसायिक तरिकाले काम गर्न सुझाव दिइन् ।
युवा तथा उद्यम गर्न चाहानेहरुले नयाँ र रचनात्मक हिसाबले काम गरे उद्योग सञ्चालकलाई मात्र नभएर सिङ्गो गाउँपालिकालाई नै फाइदा मिल्ने उनको भनाइ छ । वस्तु उत्पादनमा मात्र नभएर उत्पादित वस्तु बजारसम्म लैजानसमेत गाउँपालिकाको सहयोग आवश्यक छ ।
प्रतिक्रिया 4