News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड निर्देशक राजकुमार हिरानीको फिल्म 'थ्री इडियट्स'को सिक्वेल 'फोर इडियट्स'का लागि विक्की कौशलसँग छलफल भइरहेको छ।
- अभिनेता आमिर खानले 'फोर इडियट्स'मा करिब १० वर्षपछि पात्रहरूको जीवनमा आएका परिवर्तन देखाइने बताए।
- फिल्मको काम सन् २०२७ बाट सुरु हुने अपेक्षा गरिएको छ र विक्कीले 'महावतार'को काम पूरा गर्नुपर्नेछ।
मुम्बई । बलिउड इतिहासमा सबैभन्दा मन पराइएका फिल्ममध्ये एक ‘थ्री इडियट्स’को सिक्वेल बन्ने चर्चा फेरि सुरु भएको छ । यससँगै फिल्मको कास्टमा एउटा ठूलो नयाँ नाम जोडिन सक्ने संकेत देखिएको छ ।
हालैका रिपोर्टअनुसार, निर्देशक राजकुमार हिरानीको सन् २००९ को ब्लकबस्टर फिल्म ‘थ्री इडियट्स’को सिक्वेल ‘फोर इडियट्स’का लागि अभिनेता विक्की कौशलसँग छलफल भइरहेको छ ।
रिपोर्टमा जनाइएअनुसार, उनलाई फिल्ममा चौथो ‘इडियट’को भूमिकाका लागि लिन खोजिएको हो । यदि कुरा मिल्यो भने उनी आमिर खान, आर. माधवन र शरमन जोशीसँग देखिनेछन् । यसले बलिउडमा ठूलो स्तरको कास्टिङ बन्ने अनुमान गरिएको छ ।
पिंकभिल्लाका अनुसार, विक्कीलाई यो भूमिकाका लागि प्रस्ताव मात्र गरिएको छैन, उनले यसप्रति चासो पनि देखाएका छन् । उनको पात्रले कथामा नयाँ भावनात्मक आयाम थप्ने र कलाकारबीचको केमिस्ट्रीलाई अझ बलियो बनाउने अपेक्षा छ । साथै, विक्की आमिर खानसँग काम गर्न उत्साहित रहेको र सबैले सम्झिरहने फिल्मको हिस्सा बन्न चाहेको पनि उल्लेख गरिएको छ ।
अभिनेता कौशलले यसअघि निर्देशक राजकुमार हिरानीसँग ‘सन्जु’ (२०१८) र ‘डंकी’ (२०२३)मा काम गरिसकेका छन् ।
रिपोर्ट अनुसार, ‘फोर इडियट्स’बारेको छलफल अब प्रारम्भिक चरणभन्दा अगाडि बढिसकेको छ । यसका लागि धेरै चरणका बैठक भइसकेका छन् र विक्कीले यो प्रोजेक्टमा सहभागी हुने इच्छा पनि व्यक्त गरेका छन् ।
तर, यो फिल्ममा अन्तिम रूपमा जोडिनुअघि विक्कीले ‘महावतार’को काम पूरा गर्नुपर्नेछ । उक्त फिल्मका लागि छुट्टै सुटिङ तालिका आवश्यक छ र यसको छायांकन चाँडै सुरु हुने तयारीमा रहेको बताइएको छ ।
यससँगै रिपोर्टमा फिल्मको काम निरन्तर अगाडि बढिरहेको उल्लेख छ । निर्देशक राजकुमार हिरानी आफ्नो लामो समयका सहकर्मी तथा लेखक अभिजात जोशीसँग मिलेर कथामा काम गरिरहेका छन् ।
‘फोर इडियट्स’को काम सन् २०२७ बाट सुरु हुने अपेक्षा गरिएको छ ।
अभिनेता खानले हालै अमर उजालासँगको अन्तर्वार्तामा यस प्रोजेक्टको औपचारिक पुष्टि गरेका छन् । उनले फिल्मको कथाबारे महत्वपूर्ण जानकारी दिँदै ‘थ्री इडियट्स’को अन्त्यपछि करिब १० वर्ष पछिको कथालाई यसले समेट्ने बताए ।
यस अवधिमा पात्रहरूको जीवनमा आएका परिवर्तन, नयाँ संघर्ष र चुनौतीहरू देखाइनेछ । साथै, आमिरले ‘फोर इडियट्स’मा काम सुरु गर्नुअघि अर्को फिल्म पूरा गरिरहेका छन्, ताकि उनको समय तालिका अन्य कलाकारसँग मिलाउन सहज होस् ।
सन् २००९ मा रिलिज भएको ‘थ्री इडियट्स’ ठूलो व्यावसायिक सफलता हासिल गरेको फिल्म हो । निर्देशक हिरानीले लेखन तथा निर्देशन गरेको र अभिजात जोशीले सह–लेखन गरेको यो फिल्म विधु विनोद चोपड़ाले निर्माण गरेका हुन् ।
फिल्ममा आमिर खान, आर. माधवन र शरमन जोशीले तीन इन्जिनियरिङ विद्यार्थीको भूमिका निभाएका छन्, जो सपना, मित्रता र भारतीय शिक्षा प्रणालीको दबाबसँग जुधिरहेका हुन्छन् । यस फिल्ममा करीना कपूर, बोमन ईरानी र मोना सिंहले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया 4