News Summary
Generated by OK AI. Editorially reviewed.- लगानी बोर्डले स्थापना यता ५३ परियोजनाका लागि कुल १६ खर्ब ७३ अर्ब रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ।
- हाल ५ खर्ब ९८ अर्ब रुपैयाँ लगानीका २८ जलविद्युत् परियोजना निर्माणाधीन छन्।
- २ वटा परियोजना वित्तीय व्यवस्थापन चरणमा छन् र ११ वटा आयोजना विकास सम्झौता चरणमा छन्।
२२ वैशाख, काठमाडौं । लगानी बोर्डबाट स्वीकृत लगानीको कुल आकार १७ खर्ब रुपैयाँ नजिक पुगेको छ ।
लगानी बोर्डका अनुसार बोर्ड स्थापनायता ५३ परियोजनाका लागि कुल १६ खर्ब ७३ अर्ब रुपैयाँ बराबर लगानी स्वीकृत भएको हो ।
बोर्डको नेतृत्व गरी सोमबार पदमुक्त निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीका अनुसार दीर्घकालीन महत्त्वका ठूला परियोजनामा लगानी केन्द्रित गर्न बोर्डले भूमिका खेलेको छ ।
उनका अनुसार अहिले १७ खर्ब बराबरका परियोजना स्वीकृत भइसकेका छन् । थप करिब २० खर्ब रुपैयाँ बराबरका परियोजनामा लगानी गर्न लगानीका प्रस्ताव प्राप्त भएका छन् ।
लगानी बोर्डले हालै नेपाल उद्योग परिसंघसँगको सहकार्यमा १ खर्ब अमेरिकी डलर बराबरका पीपीपी परियोजनाको पाइपलाइन तयार पारी आगामी १० वर्षभित्र कार्यान्वयन गर्ने लक्ष्यसहित लगानीकर्ताको बीचमा लैजाने तयारी गरेको समेत जानकारी दिए ।
जसका माध्यमबाट आगामी ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १ खर्ब बराबर पुर्याउन समेत सहयोग गर्ने उनको भनाइ छ । जुन वर्तमान सरकारको समेत लक्ष्य हो । लगानी बोर्ड स्थापना २०६८ सालमा भएको थियोे ।
५८ अर्ब ८१ करोड लागतका २ परियोजना सम्पन्न
लगानी बोर्डबाट स्वीकृतिप्राप्त परियोजनामध्ये दुई परियोजनाबाट अहिले उत्पादन भइरहेको छ । होङ्सी सिमेन्टको लगानी २०७२ सालमा स्वीकृत भएको थियो । उसले अहिले उत्पादन गरिरहेको छ ।
त्यस्तै ह्वासिन सिमेन्टको समेत सोही वर्ष लगानी स्वीकृत भएको थियो । यो कम्पनीले समेत अहिले उत्पादन गरिरहेको छ । होङ्सीमा ३७ अर्ब ३५ करोड र ह्वासिनमा २१ अर्ब ४५ करोड लगानी स्वीकृत गरिएको थियो ।

५ खर्ब ९८ अर्ब लगानीका २८ परियोजना निर्माणाधीन
लगानी बोर्डबाट स्वीकृत परियोजनामध्ये अहिले ५ खर्ब ९८ अर्ब रुपैयाँ लगानीका २८ वटा परियोजना भने निर्माण चरणमा छन् । यसमा सबै जलविद्युत् आयोजना छन् ।
निर्माणाधीन आयोजनामा ९ सय मेगावाट क्षमताको अरुण थर्ड, २ सय १६ मेगावाट अपर त्रिशूली–१, ५० मेगावाट मर्स्याङ्दीबेसी हाइड्रोपावर, ६० मेगावाट अपर त्रिशूली–३बी हाइड्रोपावर र ४२.९ मेगावाट आँखुखोला हाइड्रोपावर छन् ।
यसैगरी ५७.३ मेगावाट म्याग्दी खोला हाइड्रो, १ सय ६४ मेगावाट कालीगण्डकी गर्ज, ९७.२ मेगावाट इसुवाखोला, ७७.५ मेगावाट घुन्साखोला हाइड्रो, ५७ मेगावाट हिमचुली दोर्दी हाइड्रोपावर समेत अहिले निर्माण चरणमा छन् ।
त्यसैगरी ६५ मेगावाट दूधखोला हाइड्रो, १३९.२ मेगावाट लोअर मनाङ मर्स्याङ्दी हाइड्रो, ५६ मेगावाट जुमखोला हाइड्रो, ९९.८ मेगावाट तामाकोशी–५ र ४० मेगावाट रहुघाट हाइड्रोपावर समेत अहिले निर्माणाधीन छन् ।
यसैगरी १ सय २ मेगावाट अपर मर्स्याङ्दी–१, ७० मेगावाट दूधकोशी–२, ७०.३ मेगावाट सिमबुवा खोला, ४३ मेगावाट अपर मादी–०, २२ मेगावाट रोल्वालिङ खोला, ६३ मेगावाट चुजुङ खोला, ४९.९५ मेगावाट दङ्गा खोला हाइड्रोपावर समेत अहिले निर्माण भइरहेका छन् ।

यसैगरी ४४.५२ मेगावाट सानीभेरी, १ सय ६६ मेगावाट सुपर तमोर, १ सय ६ मेवाटा जगदुल्ला, ४४ मेगावाट बाकन खोला, ४३.२ मेगावाट लिलुङ खोला र ५४ मेगावाट लोअर अप्सुवा हाइड्रोपावर समेत निर्माणाधीन छन् ।
२ परियोजना वित्तीय व्यवस्थापन चरणमा
लगानी बोर्डका अनुसार २ वटा परयोजना भने वित्तीय व्यवस्थापन सहित कार्यान्वयन चरणमा प्रवेश गरेका छन् । जसको कुल लागत २ खर्ब ५५ अर्ब रुपैयाँ छ । यी आयोजनामा ६ सय ६९ मेगावाट तल्लो अरुण जलविद्युत् आयोजना र ९ सय मेगावाट माथिल्लो कर्णाली जलविद्युत् आयोजना रहेको बोर्डले जनाएको छ ।
११ परियोजना आयोजना विकास सम्झौता चरणमा
लगानी बोर्डका अनुसार कुल ५ खर्ब ५५ अर्ब रुपैयाँ लागतका ११ वटा परियोजना भने आयोजना विकास सम्झौता चरणमा छन् । सोही चरणमा रहेका आयोजनामा चीन–नेपाल मैत्री औद्योगिक पार्क दमक, ३ सय २७ मेगावाट माथिल्लो मर्स्याङ्दी–२, डाबर नेपाल क्षमता विस्तार तथा उत्पादन विविधीकरण, काठमाडौं उपत्यका फोहोर व्यवस्थापन परियोजना (प्रथम प्याकेज), नयाँपुल–मुक्तिनाथ केबुलकार, २ सय १० मेगावाट चैनपुर सेती जलविद्युत् र ३ सय ४१ मेगावाट बुढीगण्डकी जलविद्युत् आयोजना छन् ।
यसैगरी २ सय १६ मेगावाट बझाङ अपर सेती, ४ सय ३९ मेगावाट बेतन कर्णाली जलविद्युत्, २ सय ४५ मेगावाट रिसेन क्लिन इनर्जी सोलार परियोजना र २ सय ८५ मेगावाट माथिल्लो तमोर जलविद्युत् परियोजना समेत सोही चरणमा रहेको बोर्डले जनाएको छ ।

५ परियोजना विस्तृत अध्ययन चरणमा
लगानी बोर्डका अनुसार अहिले ८४ अर्ब लगानीका ५ वटा परियोजना भने लगानीकर्ता मार्फत विस्तृत अध्ययन चरणमा छन् । जसमा २ सय ४५ मेगावाट क्षमताको ग्रिड कनेक्टेड सोलार पीभी र ब्याट्री स्टोरेज, दाङ सिमेन्ट, सम्राट सिमेन्ट, सूर्यतारा सिमेन्ट र काठमाडौं उपत्यका फोहोर व्यवस्थापन परियोजना (प्याकेज दोस्रो र तेस्रो) छन् ।
कार्यान्वयनमा जान सकेनन् ५ परियोजना
यस अवधिमा ५ परियोजना भने कार्यान्वयन प्रक्रियामा जान नसकेको लगानी बोर्डले जनाएको छ । अघिल्लो साता बसेको बोर्ड अनुगमन तथा सहजीकरण समितिको १३औं बैठकले कार्यान्वयनमा जान नसकेका परियोजनाका समस्या र कारण पहिचान सहित लिनुपर्ने नीतिगत निर्णयबारे लगानी बोर्डको कार्यालयले सम्बन्धित विकासकर्ता एवं सम्बद्ध निकायसँग समन्वय गरी आवश्यक प्रस्ताव तयार पारी आगामी बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।
बोर्डका अनुसार ड्याङ्गोटे सिमेन्ट, रिलायन्स सिमेन्ट, सवारी उत्पादन तथा एसेम्ब्लिङ प्लान्ट परियोजना, भेन्चर वेस्ट टु इनर्जी धरान र होटल परियोजना (दहचोक, भक्तपुर र पोखरा) यस सूचीमा छन् ।
प्रतिक्रिया 4