+
+
Shares

वीरगञ्जको बीपी उद्यानलाई हरियाली बनाइँदै (तस्वीरहरू)

मेयर राजेशमान सिंहले यो परियोजना केवल पार्क निर्माण मात्र नभई समग्र शहरी जीवनस्तर उकास्ने अभियान भएको बताएका छन् ।

सफल खतिवडा सफल खतिवडा
२०८३ वैशाख २२ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्ज महानगरपालिकाले बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कार्यलाई तीव्रता दिएको छ।
  • मेयर राजेशमान सिंहले पार्क निर्माणले तापक्रम नियन्त्रण, प्रदूषण न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा योगदान पुर्‍याउने बताउनुभयो।
  • महानगरपालिकाले पार्कभित्र पैदल मार्ग, विश्रामस्थल, फूलबारी र रेल्वे संग्रहालय निर्माण गर्ने योजना बनाएको छ।

२२ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि तथा वातावरणीय सुधारलाई प्राथमिकता दिँदै बीपी उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने कार्यलाई तीव्रता दिएको छ ।

लामो समयदेखि अव्यवस्थित र अतिक्रमणको चपेटामा परेको उक्त क्षेत्रलाई अब स्वच्छ, खुला र आकर्षक सार्वजनिक स्थलका रूपमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

हाल उद्यान क्षेत्रमा माटो पुर्ने, जमिन सम्याउने तथा नियमित सिँचाइ गर्ने काम भइरहेको छ । महानगरपालिकाका अनुसार आगामी चरणमा दुबो रोप्ने, विभिन्न प्रजातिका फूल तथा बिरुवा लगाउने र हरियाली व्यवस्थापनलाई व्यवस्थित गर्ने तयारी गरिएको छ । यसले पार्कलाई प्राकृतिक रूपमा सुन्दर र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।

मेयर राजेशमान सिंहले यो परियोजना केवल पार्क निर्माण मात्र नभई समग्र शहरी जीवनस्तर उकास्ने अभियान भएको बताएका छन् ।

बीपी उद्यानलाई आधुनिक, सफा र व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्दै जाने सिंहले भनाइ थियो ।

जसले वीरगञ्जको सौन्दर्य मात्र बढाउँदैन, यहाँका नागरिकलाई स्वच्छ वातावरण र विश्रामका लागि खुला स्थान पनि उपलब्ध गराउँछ ।

उनले थपे कि पार्क निर्माणले तापक्रम नियन्त्रण, प्रदूषण न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

महानगरपालिकाले पार्कभित्र पैदल मार्ग, विश्रामस्थल, फूलबारी तथा हरियाली क्षेत्रको व्यवस्थित संरचना निर्माण गर्ने योजना बनाएको छ ।

साथै, पार्कको उत्तरतर्फ रहेको पुरानो रेल्वे लिक क्षेत्रमा रेल्वे संग्रहालय निर्माण गर्ने योजना पनि अघि बढाइएको छ । ऐतिहासिक महत्व झल्काउने उद्देश्यले जनकपुरबाट पुरानो रेल इन्जिन ल्याएर संग्रहालयमा राख्ने तयारी भइरहेको छ ।

यसअघि उद्यान क्षेत्रमा अतिक्रमण गरी व्यापार गर्दै आएका व्यवसायीलाई वैकल्पिक व्यवस्थाका रूपमा छपकैयाँस्थित रेल्वे सडक क्षेत्रमा कृषि बजार स्थापना गरी स्थानान्तरण गरिएको छ । यसले उद्यान क्षेत्रलाई पूर्ण रूपमा खुला र व्यवस्थित बनाउन सहयोग पुगेको छ ।

महानगरपालिकाले यसअघि वीरगञ्ज भन्सार क्षेत्रमा पनि वृक्षारोपण गरी शहरको हरियाली विस्तार गर्ने प्रयास गरेको थियो ।

बीपी उद्यानको हरियाली पार्क निर्माण सम्पन्न भएपछि वीरगञ्जमा शहरी सौन्दर्य वृद्धि, वातावरण संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आशा गरिएको छ ।

   

लेखक
सफल खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?