+
+
Shares

सुन्दरहरैंचामा नयाँ अभ्यास : आधुनिक सार्वजनिक शौचालयमा किताब, कफी र कारोबार

सार्वजनिक शौचालय भन्नेबित्तिकै फोहोर र दुर्गन्धको चित्र आउने परम्परागत सोचलाई मोरङको सुन्दरहरैचाले उल्ट्याएको छ, जहाँ एउटै भवनभित्र सफा शौचालय, कफी शप र पुस्तकालय सञ्चालनमा छन् ।

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०८३ वैशाख २३ गते ८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुन्दरहरैचा नगरपालिकाले विराटचोक र सलकपुर चोकमा आधुनिक सार्वजनिक शौचालयसहित पुस्तकालय, कफी शप र पसलसमेत सञ्चालनमा ल्याएको छ।
  • नगरपालिकाले प्रदेश सरकारको सहयोग नपाए पनि आफ्नै स्रोतबाट ८ स्थानमा १५ करोड लागतमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाइरहेको छ।
  • सार्वजनिक शौचालय भवनमा सरसफाइका लागि एक परिवारलाई बसोबास र पारिश्रमिक दिइएको छ र भवनका सटरबाट आउने भाडाले खर्च धानिन्छ।

२३ वैशाख, विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको विराटचोकबाट करिब पाँच सय मिटर पश्चिम–दक्षिणतर्फ देखिन्छ एउटा दुईतले सफाचट् भवन । आकर्षक डिजाइनका कारण सबैको नजरमा पर्ने व्यापारिक प्रयोजनको यो एउटै भवनमा इन्टरनेट र स्नान सुविधासहितको आधुनिक सार्वजनिक शौचालय छ । यही भवनमा सार्वजनिक पुस्तकालय, कफी शप, शैलुन र फेन्सी पसलसमेत छन् ।

महेन्द्र राजमार्गसँगै जोडिएको यो संरचनाले ‘सार्वजनिक शौचालय’भन्ने शब्दप्रतिको परम्परागत सोचलाई नै चुनौती दिएको छ । प्राय: सार्वजनिक शौचालय भन्नासाथ फोहोर, दुर्गन्ध र अव्यवस्थित स्थानको चित्र आउँछ । तर यहाँ भने दृश्य बिल्कुल फरक छ– सफा, सुगन्धित र व्यवस्थित ।

सलकपुर चोकमा रहेको यस्तै अर्को संरचना बाहिरबाट हेर्दा सानो व्यावसायिक कम्प्लेक्सजस्तो देखिन्छ । भुइँतलामा चिया पसल, सैलुन र कपडा पसलमा ग्राहकको भीड हुन्छ । तर त्यही बीचको सानो प्रवेशमार्गबाट भित्र छिर्दा सफा र व्यवस्थित शौच कक्षसहितको सार्वजनिक शौचालय भेटिन्छ ।

यहाँ फरक क्षमता भएका तथा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय छ । त्यतिमात्र होइन नुहाउने सुविधा, आराम गर्ने स्थान र महिनावारी भएकाका लागि सिनेटरी प्याड फेर्ने व्यवस्थासमेत उपलब्ध छ । त्यसमा २ रुपैयाँको सिक्का हालेपछि प्याड उपलब्ध हुने व्यवस्था छ । योसँगै प्रयोगकर्ताले मोबाइल वा ल्यापटप चार्ज गर्न सक्ने सुविधा पनि राखिएको छ ।

खुल्ला पुस्तकालयमा सुकुना बहुमुखी क्याम्पस र स्कुलका विद्यार्थीहरु पनि आउने गरेका छन् । पुस्तकालयमा विभिन्न विधाका १ सय बढी पुस्तकहरु रहेका छन् । पाठकहरुलाई पुस्तक पढ्न सजिलो होस् भनेर टेबुल–कुर्सीको व्यवस्थासमेत गरिएको छ । यसले स्थानीय युवाहरूमा पढ्ने बानी विकास गर्ने अपेक्षा गरिएको छ ।

शौचालय जस्तो आधारभूत संरचनासँग ज्ञानको केन्द्र जोड्ने यो नवीन अवधारणा सुन्दरहरैंचा नगरपालिकाको हो । सुन्दरहरैचा नगरपालिकाले यस्ता नमुना शौचालयलाई प्राथमिकताका साथ विस्तार गरिरहेको छ । विराटचोक बजार र सलकपुर चोकमा सञ्चालनमा आइसकेका संरचनाहरू अब बलिया, गछिया, गोठगाउँ, खोर्साने, मिर्गौलिया लगायत क्षेत्रमा निर्माण भइरहेका छन् ।

नगर प्रमुख केदारप्रसाद गुरागाईंका अनुसार प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाए पनि नगरपालिकाले आफ्नै स्रोतबाट अभियानलाई निरन्तरता दिएको छ । आगामी दुई वर्षभित्र सबै निर्धारित स्थानमा यस्ता शौचालय निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘अहिलेसम्म तीन स्थानमा शौचालय निर्माणको कार्य पुरा भएको छ । अब अरु थप पाँच स्थानमा पनि निर्माणको कार्यले गति लिइरहेको छ,’ नगरप्रमुख गुरागाईंले भने ।

अभियान संयोजक एवम् व्यवसायी भोला प्रसाद दुलालका अनुसार स्थानीय समुदाय र नगरपालिकाको सहकार्यमा यो परियोजना अघि बढाइएको छ । विकास बजेटको दुई प्रतिशत रकम छुट्याएर शौचालय निर्माणलाई प्राथमिकता दिइएको छ ।

नमुना सार्वजनिक शौचालय बनाउने अभियानमा साथ दिइरहेको सुन्दर हरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीका अनुसार सुन्दरहरैचा नगरपालिका भित्रका ८ स्थानमा यस्तै प्रकारका सार्वजनिक शौचालय तयार हुनेछन् । जसका लागि १५ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

नगरपालिकाको ३५ प्रतिशत र पब्लिक, प्राइभेट, पार्टनरसीप र दातृ निकायको सहयोग अन्तरगत ६५ प्रतिशत साझेदारीमा यी शौचालय तयार हुनेछन् । स्थानीयको सहभागिताका लागि १ सय रुपैयाँ भन्दा माथि सहयोगका लागि सार्वजनिक रुपमा आह्वान गरिएको छ ।

व्यवस्थापनको नमुना मोडेल

विराटचोकमा सन्चालित सार्वजनिक शौचालय भवनमा एक परिवारलाई पारिश्रमिकसँगै बसोबासको व्यवस्था गरिएको छ । यही परिवारले शौचालयको नियमित सरसफाइको जिम्मा लिएको छ । दिनमा तीन पटक सफाइ गरिने भएकाले शौचालय सधैं प्रयोगयोग्य र स्वच्छ रहन्छ ।

भवनका अगाडिका सटरबाट आउने भाडाले सरसफाइ, कर्मचारी र पुस्तकालय सञ्चालनको खर्च धानिन्छ । यसले सेवा, आम्दानी र दिगो व्यवस्थापनको उदाहरण प्रस्तुत गरेको छ ।  यी शौचालय केवल सुविधा मात्र होइन परिवर्तनका प्रतीक पनि हुन् ।

नेपालमा अझै पनि सार्वजनिक शौचालयलाई उपेक्षित दृष्टिले हेरिन्छ, तर सुन्दरहरैचाको यो प्रयासले यदि योजना, व्यवस्थापन र प्रतिबद्धता सही भए सार्वजनिक संरचना पनि उच्चस्तरीय बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

सार्वजनिक शौचालय निर्माण अभियानका संयोजक एवं व्यवसायी भोलाप्रसाद दुलाल भन्छन्, ‘निजी क्षेत्रको सहकार्यमा गरिने हरेक कार्यलाई हामी उदाहरणीयरुपमा देखाउन चाहान्छौं । सार्वजनिक शौचालयप्रति आम नागरिकको धारणा बदल्दै मुलुककै नमुनाको रुपमा यसलाई उभ्याउन चाहेका छौं ।’

दुलाल थप्छन्, ‘अहिलेसम्म नेपालका धेरै स्थानमा शौचालय, व्यवसाय र पुस्तकालयको संयोजन देखिएको छैन । त्यसैले यो परियोजना वास्तवमै नमुना बन्ने सम्भावना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?