News Summary
Generated by OK AI. Editorially reviewed.- हर्क साम्पाङले सुकुमवासी बस्ती हटाउने सरकारी कार्यशैलीको आलोचना गर्दै व्यवस्थित योजना आवश्यक भएको बताएका छन्।
- उनले संसद्को ढोका थुनेर सरकार अध्यादेशबाट काम गर्दै बहुमतको आँधीमा कसैको कुरा नसुन्ने भएको उल्लेख गरेका छन्।
- प्रतिपक्षी दल कांग्रेस र एमालेले सुकुमवासी समस्या समाधानमा सक्रिय भूमिका नखेलेको भन्दै हर्कले प्रश्न उठाएका छन्।
हर्कवादको औचित्य कति छ भन्नेबारे कुनै बेला छुट्टै कुरा गरौंला। तर हर्क साम्पाङको औचित्य भने यतिबेला राष्ट्रिय राजनीतिमा निकै देखिन थालेको छ। सबैलाई थाहा छ, उनी एकसुरे छन्। उनले खोलेको श्रम संस्कृति पार्टीमा खासै प्रणाली बसिसकेको छैन। उनी जता जान्छन्, पार्टी त्यतै जान्छ। उनी जे गर्छन्, पार्टी त्यही हो। उनले जे बोल्छन्, त्यही पार्टीको निर्णय हो। हर्कको संस्कृति श्रम संस्कृति हो।
अच्छा, २३ वैशाखका दिन ललितपुरको नखिपोटमा अनलाइनखबरको टिम पुग्दा हर्क पुराना सिनेकर्मी राजकुमार राईलाई पार्टीमा स्वागत गर्दै थिए। द कमान्डो फिल्ममार्फत चर्चामा आएका राजकुमार बीचका धेरै वर्ष नेपथ्यमा बसे। हर्कसँग आरेन राई, सुदीप राई, प्रितम साँवा लगायत युवाको साथ थियो। भीडभाड अवश्य थियो, तर नयाँ पार्टीप्रति आकर्षण उत्तिकै।
संसद्मा यतिबेला प्रमुख प्रतिपक्षको भूमिकामा नेपाली कांग्रेस छ। अर्को प्रतिपक्षी एमाले पनि छँदैछ। नेकपा, राप्रपा लगायत पार्टी पनि आ–आफ्नै कद र साइजमा मौजुद छन्। यी सबका बीच यतिबेला किन हर्क साम्पाङ र उनको पार्टीका सांसदहरू बढ्ता खोजीमा छन् त ?
यसो हुनुको कारण छ। विशाल बहुमतको बालेन सरकार फटाफट निर्णय गर्दैछ। सुकुमवासी बस्तीहरूमा डोजर चलेको छ। होल्डिङ सेन्टरहरूमा अति राम्रो सुविधा र सहजता छ भनेर सरकार पक्षले प्रचार गरिरहेको छ। प्रधानमन्त्री कार्यालयले गराएको योजनाबद्ध भ्रमणमा नेपाल प्रहरी र महानगर प्रहरीको सुरक्षा बीच सुकुमवासीहरू भन्छन्, अँ त, हामीलाई यहाँ सुविस्ता छ। पहिले श्रम गरेर खानु परेको थियो, अहिले सित्तैंमा सरकारले दिएको छ।
हाम्रा संवाददाताहरूसँग कुरा गर्दा भने सुकुमवासी यसो भन्दैनन्। व्यवस्थित योजना बनाएर बस्ती हटाएको भए अहिलेको समस्या आउँदैनथ्यो। बाहिर जे बोले पनि रास्वपा सभापति रवि लामिछाने स्वयं सरकारलाई भित्र चाहिं यस्तै सल्लाह दिइरहेका छन्। सुकुमवासी हटाउने नीति ठिक, तर कार्यशैली बेठिक भनेर यतिबेला सत्तारुढ दलभित्रै झिनो आवाज उठिरहेका बेला हर्क साम्पाङ सरकारी तौरतरिका विरुद्ध आवाज उठाइरहेका छन्।

नखिपोट, ललितपुरमा हामी पुग्दा हर्क लोकतन्त्रमा नागरिकले किन इज्जत, प्रतिष्ठासाथ बाँच्न, हिंडडुल गर्न पाउनुपर्छ भनेर धेरैजसो नेपालीमा, घरीघरी अंग्रेजीमा बोलिरहेका थिए। उनी भन्दैथिए, ‘काम गर्नेको पनि आफ्नो अधिकार हुन्छ। गरिबको पनि आफ्नो इज्जत हुन्छ। छाप्रामा च्यापिएका कापी, किताबले बच्चाहरूका आँखामा आँशु ल्याएका छन्। सुकुमवासी बस्तीमा कोही प्रेमीप्रेमिका थिए र अहिले बिहे गर्ने तयारीमा थिए भने तिनको इज्जतमा धावा बोलिएको छ। सरकार यसरी चलिरहेको छ।’
हर्क हुन्, कामकुरा गर्दा धेरथोर बढाइँचढाइ गरिहाल्छन्। खासमा सबैजसो नेताहरू संवेदनामा खेल्न माहिर नै हुन्छन् नि ! कि कसो चमेली !
तर यतिबेला केही सुकुमवासीमा डोजर पेलेपछि अव्यवस्थित बसोबास क्षेत्र अनि ऐलानी जग्गातिर आँखा लगाइरहेको सरकारलाई पहिले पर्याप्त तयारी, अनि मात्र कारबाहीको कार्यसूचीमा बाध्य पार्नेहरूमध्ये हर्क साम्पाङ पनि एक हुन्।
यहाँ थुप्रै नेता होल्डिङ सेन्टर नामका एक किसिमका डिटेन्सन् सेन्टरमा पुगेका छैनन्। सुकिलोमुकिलो राजनीतिको धङधङी कतिपयलाई सत्तायात्रा शुरु नहुँदै लागिसकेको छ। गरिबको पिरलो कतिका लागि रामरमाइलो भएको छ। राजनीतिको रोटी नै सेक्न सही, हर्क ती सेन्टरमा पुगेका छन्। त्यहाँको आँखोदेखी हाल पब्लिकलाई सुनाइरहेका छन्।
यसबीचमा कांग्रेस र एमाले के गर्दैछन् ? खासमा हर्कभन्दा ठूलो हैसियतमा त तिनीहरू छन्। दुईजना नेताहरूसँगको टेलिफोन संवाद यहाँ साझा गर्दैछु। एमालेका एक उच्च तहका नेताले फोनमा भने, ‘यत्रो मान्छेहरू एकैपल्ट बेघरबार बनेका छन्। तपाईंहरू के गर्दै हुनुहुन्छ ?’
मैले उल्टै सोधें, ‘हामी त सकेको रिपोर्टिङ र बहस गर्दैछौं। तपाईंहरू चाहिं के गर्दै हुनुहुन्छ ?’ ती नेता नाजवाफ भए। उनले आफ्नो पार्टीको शीर्ष तहले सुन्ने गरी कन्टेन्ट बनाइदिन निरीह याचना पो गरे!
अर्को प्रसंगमा मैले कांग्रेसका एक उच्च तहका नेतालाई भनें, ‘तपाईंहरू सरकार चलाउन त अक्षम ठहरिनु नै भयो, प्रतिपक्ष चलाउन पनि अक्षम ठहरिने खतरा बढ्यो।’ ती नेताले दिएको जवाफ यहाँ उद्धृत गर्ने अनुमति मलाई छैन।
नेकपाको कुरै नगरुँ। त्यसका अध्यक्ष, ए होइन होइन, संयोजक प्रचण्ड फेरि वामपन्थी एकताको धुनमा छन्। राष्ट्रिय जीवनका ज्वलन्त मुद्दाहरू सडक र बस्तीहरूमा अनाथ र अलपत्र छन्। उनी मुद्दाहरू भन्दा माथि वाम एकता खोजिरहेका छन्।
यस्तो बेलामा हर्क साम्पाङ– आफ्नो सुरताल मिले पनि नमिले पनि, राजनीति रंगढंग मिले पनि नमिले पनि सरकारलाई जनताका समस्या सुनाइरहेका छन्। उनी नखिपोटमा भन्दै थिए, ‘संसद्को ढोका थुनेर सरकार सिसा फुटाल्दै अध्यादेशबाट प्रवेश गरिरहेको छ। बहुमतको आँधीमा ऊ कसैको कुरा नसुन्ने भएको छ।’
हर्कले भने जस्तै सोह्रैआना सही नहोला। लोकप्रिय सरकारले जनताका आवाज सुन्ने आफ्नै संयन्त्र बनाएको होला। तर संसदीय समितिमा मन्त्रीहरूको प्रस्तुति र अहंकार हेर्दा कठै भन्नुपर्ने भएको छ।
कतिपय संसदीय समितिमा सरकारका प्रतिनिधि नै हुँदैनन्। यो सरकार अहिलेसम्मका सबै प्रकृति र प्रवृत्तिलाई जोडदार प्रश्न उठाएर बनेको हो। प्रश्नहरूको तेजोबध नहोस्, प्रश्नहरूको पुनरोदय होस्।
यस अर्थमा हर्क साम्पाङले उठाएका प्रश्नहरू यतिबेला सान्दर्भिक छन्। उनी आफैंले विगतमा धरानको मेयर हुँदा प्रश्नहरूलाई कति सुने या कान थुने, मनमौजी तालमा शासन गरे भन्ने विगत आफैंमा यहाँ प्रासंगिक छ।
तर यतिबेला प्रतिपक्षको आवाजलाई बल दिन हर्कले जुन भूमिका खेलिरहेका छन्, त्यही भूमिका कांग्रेस, एमाले, नेकपा आदिले पनि खेलुन्। फेसबुकमा छवि प्रदर्शन गर्ने मात्रै होइन, नागरिकका वास्तविक समस्याउपर छलफल शुरु होस्। बास उठेका सुकुमवासीसामु मन्त्री र सांसदहरूले पोस्ट गरेका लुगा, गहना र झोलाको भिडियो कस्तो भद्दा अनि विवेकहीन मजाक जस्तो लाग्छ। बरु विवेकपूर्ण र तथ्यपरक प्रश्नहरू जति उठे, त्यति नै सरकारलाई फाइदा पुग्छ।
हो कि होइन, रास्वपाका नेताहरू ? एकपल्ट सोच्नोस् त प्रतिपक्षीहरू ?
प्रतिक्रिया 4