+
+
Shares

सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि उठेका प्रश्नको निरूपण विधिसम्मत होस् : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सार्वजनिक पदधारीमाथि उठेका प्रश्नहरू प्रमाण, तथ्य र विधिसम्मत प्रक्रियाबाट मात्र हुनुपर्ने बताएको छ।
  • कांग्रेस प्रवक्ता देवराज चालिसेले अनुसन्धानमा परेकाहरूले सहयोग गर्नुपर्ने र राज्य निकायहरूले निष्पक्षता कायम गर्नुपर्ने बताएका छन्।
  • कांग्रेसले कानुनको दृष्टिमा सबै नागरिक समान हुने र राज्यको कानुनी प्रक्रियामा सहयोग गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको स्मरण गराएको छ।

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि उठेका प्रश्नहरूको निरूपण प्रमाण, तथ्य र विधिसम्मत प्रक्रियाबाट मात्र हुनुपर्ने बताएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको धारणा सार्वजनिक गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि उठेका प्रश्नहरूको निरूपण हल्ला, राजनीतिक पूर्वाग्रह वा प्रचारबाजीबाट हुन नहुने बताएका छन् ।

‘सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि प्रश्न उठ्नु स्वाभाविक हो, तर त्यसको निरूपण सार्वजनिक हल्ला, राजनीतिक पूर्वाग्रह वा प्रचारबाजीबाट होइन, केवल प्रमाण, तथ्य र विधिसम्मत प्रक्रियाबाट हुनुपर्दछ,’ उनले भनेका छन्, ‘राज्यका संस्थाहरू बलियो हुनु भनेको उनीहरूले आफ्नो अधिकारको प्रयोग निष्पक्ष र विश्वसनीय ढङ्गले गर्नु हो ।’

अनुसन्धानमा परेकाहरूले सहयोग गर्नुपर्ने र राज्यका निकायहरूले निष्पक्षता कायम गर्नुपर्ने कांग्रेसको भनाइ छ । यसले मात्र लोकतान्त्रिक मूल्य, कानुनी राज्य र संस्थागत विश्वसनीयता मजबुत हुनेतर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

‘राज्यले विधिसम्मत ढङ्गले गर्ने अनुसन्धानमा कुनै अवरोध नपुर्‍याई सहयोग गर्न अनुसन्धानको दायरामा परेका व्यक्तिहरूलाई आग्रह गर्दै सरकारका सबै कार्य, कारबाहीहरू पनि चयनात्मक नभई कानुनले तोकेको प्रक्रिया अनुसार मात्र अगाडि बढून् भन्नेतर्फ नेपाली कांग्रेस, सरकार र सम्बद्ध निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ चालिसेले भनेका छन् ।

विधिको शासनलाई लोकतन्त्रको आधारभूत सिद्धान्त भन्दै कांग्रेसले कानुनको दृष्टिमा सबै नागरिक समान हुने र कोही पनि कानुनभन्दा माथि नहुने स्मरण गराएको छ ।
‘राज्यले कानुनसम्मत रूपमा गर्ने अनुसन्धानमा सहयोग गर्नु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य हो,’ कांग्रेसले भनेको छ, ‘जुनसुकै ओहोदामा रहेका व्यक्ति भए पनि राज्यको कानुनी प्रक्रियालाई सहयोग गर्नुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ र सबैलाई यसमा सहयोग गर्न आग्रह गर्दछ ।’

सम्पत्ति शुद्धिकरण विभागले गरेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको सार्वजनिक प्रतिबद्धतालाई लोकतान्त्रिक संस्कार र राजनीतिक परिपक्वताका रूपमा लिइएको प्रवक्ता चालिसेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?