२९ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले आफ्नो कार्यकाल आगामी माघ ५ गतेसम्म रहेको बताएका छन् । मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर २ मा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।
‘निर्वाचन कार्यतालिका र कानुनअनुसार सभामुखको कार्यकाल आगामी माघ ५ गते सकिँदैछ,’ उनले भने ।
अर्को निर्वाचनका लागि मनोनयन दाखिला गर्ने अघिल्लो दिन सभामुखको कार्यकाल सकिने कानुनी व्यवस्था छ । समानुपातिकतर्फ गत पुस १३ र १४ गते नै मनोनयन दाखिला भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनय दर्ताको समय आगामी माघ ६ गते तय भएको छ ।
सभामुख घिमिरेले आफ्नो कार्यकाल प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म रहेको बताएका हुन् ।
वर्तमान सरकारले निर्वाचन गराउन कार्यतालिका सार्वजनिक गरिसकेको भएता पनि निर्वाचन हुन्छ/ हुन्न भन्ने अन्योल कायमै रहेको उनले बताए । अन्योल भएपनि निर्वाचन तालिका अनुसार तयारी गर्दै जानु नै पर्ने उनले बताए ।
उनका अनुसार यदि चुनाव भएन भने के हुन्छ भन्ने बारेमा आ–आफ्नै तर्कहरू छन्, तर कानुनमा स्पष्ट उल्लेख छैन ।
सभामुखले आफ्नो कार्यकाल आगामी माघ ५ गतेसम्म रहेको दाबी गरिरहँदा उपसभामुख इन्दिरा राना भने कार्यकाल सकिएको भनेर जिम्मेवारीबाट हटिसकेकी छन् ।
१३ पुसमै राना संघीय संसद् सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आफूले प्रयोग गरेको गाडी बुझाएर बिदा भएकी हुन् ।
प्रतिक्रिया 4