News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक सहारा शर्माले आफ्नो बाल्यकाल र अनुभवबाट प्रेरणा लिएर 'एक मुठ्ठी बादल' नामक फिल्म तयार पारेकी छिन्।
- फिल्ममा आँचल शर्माले अभिनय गरेकी छिन् र उनले आफ्नो विवाहित जीवनसँग पात्रलाई जोड्न सहज भएको बताएकी छिन्।
- 'एक मुठ्ठी बादल' फिल्म १ जेठदेखि देशव्यापी प्रदर्शनको तयारीमा छ र परिवारभित्र महिलाको स्पेसको कथालाई प्रस्तुत गर्छ।
ऋचा शर्मासँगको भेटमा सहारा शर्माले एउटा सुझाव पाइन्- एउटा राम्रो फेमिनिस्ट फिल्म बनाऊ न ।
सहाराका लागि अभिनेत्री शर्माको सुझाव चुनौतीपूर्ण थियो । फिल्म त बनाउने तर, कस्तो ? लामो दिमागी कसरतपछि सहाराले आफ्नै बाल्यकाल, अनुभव र सोचहरू सम्झिइन् ।
आफ्ना निजी सोचलाई उनले ‘एक मुठ्ठी बादल’को आकार दिइन् । अनि तयार भयो एउटा मर्मस्पर्शी दृश्यभाषा !
अनलाइनखबर स्टुडियोमा सहारा आफ्ना अभिनेत्रीद्वय निशा शर्मा र आँचल शर्मासँगै फिल्मबारे गफिइन् । यो फिल्म अहिले पनि नेपाली समाजको परिवारसँग सान्दर्भिक रहेको बताउँदै सहाराले यो प्रत्येक घरको कथा रहेको बताइन् ।
आफ्नो भोगाइ र समाजको सान्दर्भिकता जोडिएकाले यो कथा भन्न जरुरी रहेको उनको कथन छ । कथा तयार भएपछि आफूहरू उत्तिकै गहिराइमा डुब्न सक्ने कलाकारको खोजीमा निस्किएको र त्यस क्रममा आँचल र निशालाई भेटेको उनले सुनाइन् ।
आँचलले अभिनय गरेको एक म्यूजिक भिडियो हेरेर सहारा प्रभावित भएकी रहेछिन् । त्यो म्युजिक भिडियोमा आँचलको अभिनयले आफू प्रभावित भएको र आफूले खोजेकै कलाकार आँचलभित्र भेटेको उनले बताइन् ।
नयाँ र अनुभवी कलाकारलाई एकैसाथ लिएर काम गराउँदा रोचक अनुभव रहेको उनले बताइन् । आजको बदलिँदो समाजमा घर छाड्नु र आफ्नो ठाउँ खोज्नु उस्तै उस्तै रहेपनि हेर्ने दृष्टिकोणमा भिन्नता हुने उनले बताइन् ।
आँचलले सहारा शर्मासँग काम गर्दा आफूले सहज महसुस गरेको बताइन् । ‘उहाँ महिला हो । महिला भएकाले काम गर्न निकै सहज भयो । यसको अर्थ, मैले काम गरेका पुरुषसँग राम्रो थिएन भन्ने होइन’ आँचलले भनिन्, ।
अभिनय गर्दा आफूले आफ्नो जीवनको उतारचढावसँग रिलेट गरेको अनुभव आँचलले सम्झिइन् । विवाहित जीवन पनि भोगेकाले आफूलाई पात्रमा डुब्न सहज भएको आँचल बताउँछन् । आफ्नो करिअरमा यो फिल्मले खास अर्थ राख्ने बताउँदै आँचलले आफूले गरेका फिल्ममध्ये उत्कृष्ट रहेको बताइन् ।
निर्देशक शर्माको निर्देशकीय शैलीबाट आफू प्रभावित रहेको उनको भनाइ छ ।
वरिष्ठ अभिनेत्री निशाले यो फिल्ममा आँचलकी आमाको भूमिका निर्वाह गरेकी छन् । निशाभित्र आफूले कथामा चाहिएको पात्रजस्तै कुरा पाएको स्मरण सहाराले गरिन् ।

यो फिल्मको कथावस्तु मनपरेर आफू झन्डै ३ दशकपछि फिल्ममा फर्किएको स्मरण निशाले गरिन् । नयाँपुस्तासँग काम गर्दाको स्मरण गदै उनले अहिलेको पुस्ताले पढेर, बुझेर र मिहेनतसहित काम गर्ने गरेको र त्यो कुरा आफूले यो फिल्मको सेटमा देखेको अनुभव सेयर गरिन् ।
दर्शकले ‘एक मुठ्ठी बादल’ हेरेपछि हरेक परिवार र घरभित्र महिलाको लागि स्पेस अनिवार्य हुनुपर्छ भन्ने कुरा महसुस गर्न सक्ने विश्वास उनले व्यक्त गरिन् । ‘घरभित्र महिलाले खोज्ने स्पेस र अस्तित्वको कथा यो फिल्म हो’ उनले भनिन्, ‘दर्शकले त्यो कुरा महसुस गरेर निस्कनुहुन्छ जस्तो लाग्छ ।’
निर्देशक शर्माले यो फिल्ममार्फत परिवारभित्रको कथा भनेकी छिन् । विवाह नजिकिँदै जाँदा बाबा, आमा, दिदी, बहिनी र फुपूसहित सिंगो परिवार एक ठाउँमा भेला हुन्छ । वर्षौंदेखिको माया, मौनता र अपेक्षाले भरिएको यो परिवारमा एक अप्रत्याशित घटनाले सबैलाई स्तब्ध तुल्याउँछ । परिवारको हिस्सा हुनुको अर्थ, घर छोड्नुपर्दाको अनुभूति र बदलिँदो संसारमा आफ्नै ठाउँ कसरी खोजिन्छ भन्ने कथालाई प्रस्तुत गर्छ ।
‘एक मुठ्ठी बादल’ १ जेठदेखि देशब्यापी प्रदर्शनको तयारीमा छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर




प्रतिक्रिया 4