+
+
Shares

असलासहित रैथाने माछा संरक्षणका लागि सरकारद्वारा अनुदान स्वीकार

यो परियोजना नुवाकोट जिल्लाका आवश्यक स्थानीय तहहरूमा सञ्चालन गरिनेछ । परियोजनाको कार्यान्वयन अवधि सन् २०२६ देखि २०२९ सम्म रहने मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १९:१८

२५ वैशाख, काठमाडौं । सरकारले मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछाका प्रजातिको संरक्षणका लागि अनुदान सहायता स्वीकार गरेको छ । वैशाख २२ गते बसेको मन्त्रिपरिषद् बैठकले असला, कत्ले र सहर जातका रैथाने माछा संरक्षणका लागि अनुदान सहायता कार्यक्रम स्वीकृत गरेको हो ।

विश्व वातावरण सुविधा (जिइएफ) अन्तर्गतको विश्व जैविक विविधता संरचना कोष (जिबिएफएफ)ले एक दशमलव ४५ मिलियन अमेरिकी डलर अनुदान प्रस्ताव गरेको थियो । सो रकममध्ये प्राविधिक सहायता खर्च कटाएर करिब एक दशमलव २७ मिलियन अमेरिकी डलर नेपाल सरकारको संघीय सञ्चित कोषमार्फत रैथाने माछा संरक्षण कार्यक्रममा खर्च हुने सरकारले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ‘मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख प्रजातिका माछाको संरक्षण र माछा मार्ने समुदायहरूको दिगो जीविकोपार्जन’ नामक परियोजनाका लागि सो रकम सरकारले स्वीकृत गरेको हो ।

सो कार्यक्रमअन्तर्गत मध्य त्रिशूली नदी बेसिनमा चिसो पानीमा पाइने लोपोन्मुख रैथाने माछा प्रजातिको संरक्षण, पुन:स्थापना तथा स्थानीय माछा मार्ने समुदायको दिगो जीविकोपार्जनमा सहयोग पुर्‍याइने लक्ष्य राखिएको कृषि मन्त्रालयले जनाएको छ ।

यसअन्तर्गत जैविक विविधतामैत्री अभ्यास विस्तार, संकटापन्न माछा प्रजातिको उत्पादन तथा पुन:स्थापना, एक्वाफार्म स्थापनालगायत कार्य गरिने छ । यो परियोजना नुवाकोट जिल्लाका आवश्यक स्थानीय तहहरूमा सञ्चालन गरिनेछ ।

परियोजनाको कार्यान्वयन अवधि सन् २०२६ देखि २०२९ सम्म रहने मन्त्रालयले जनाएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?