News Summary
Generated by OK AI. Editorially reviewed.- एकै परिवारका ४ दाजुभाइले खुसी बचत तथा ऋण सहकारीको रकम अपचलन गरी फरार भएपछि करिब ११० बचतकर्ताले ४ वर्षदेखि रकम पाउन सकेका छैनन्।
- खुसी सहकारीमा कुल २७ करोड रुपैयाँ बचत रहेको छ भने करिब ९ करोड रुपैयाँ फिर्ता पाउनुपर्ने बचतकर्ताले सहकारी प्राधिकरणमा निवेदन दिएका छन्।
- सञ्चालकहरू फरार छन् र बचतकर्ताले सहकारीका प्रमाणपत्र नष्ट भएको तथा कर्जा लिएका ऋणीहरू पनि फरार रहेको बताएका छन्।
२५ वैशाख, काठमाडौं । एकै परिवारका ४ दाजुभाइले रकम अपचलन गरेपछि खुसी बचत तथा ऋण सहकारीका बचतकर्ता समस्यामा परेका छन् । ती चार दाजुभाइ रकम अपचलन गरेर फरार भएसँगै बचतकर्ताले विगत ४ वर्षदेखि आफ्नो बचत रकम पाउन सकेका छैनन् ।
काठमाडौंभित्र ४ वटा शाखा मार्फत बचत संकलन गरेको खुसी सहकारीमा रकम दावी गर्ने बचतकर्ता करिब ११० पुगेका छन् । संस्थामा कुल २७ करोड रुपैयाँ बचत रहेको सहकारी विभागले जनाएको छ ।
बचत फिर्ता नपाएपछि माग दावी गर्ने बचतकर्ताले हालसम्म करिब ९ करोड रुपैयाँ पाउनुपर्ने भन्दै प्रमाणसहित सहकारी प्राधिकरणमा निवेदन दिएका छन् । खुसी बचत तथा ऋण सहकारी संस्था बन्द छ, भने सञ्चालकहरू फरार छन् । साना बचतकर्ता नआए पनि ठूला बचतकर्ता प्राधिकरणमा माग दावी गर्न आउने क्रम जारी छ ।
सहकारीका अध्यक्ष अभय घिमिरे हुन् । उनी अमेरिका बस्ने एक महिलासँग सम्बन्धमा रहेकाले सहकारीको पैसा उतै लगेको हुन सक्ने उनलाई नजिकबाट बुझ्ने बचतकर्ताको आरोप छ । उनी आफू पनि विदेश पलायन भएको हुन सक्ने बचतकर्ता बताउँछन् ।
सहकारीका सञ्चालक तथा अन्य माथिल्लो जिम्मेबारी सम्हालेका पदाधिकारीमा मातृका घिमिरे, ज्ञानेन्द्र घिमिरे र सुबोध घिमिरे हुन् । उनीहरू एकै परिवारका हुन् । झापा जिल्ला स्थायी ठेगाना भएका घिमिरेहरू नेकपा एमाले निकट मानिन्छन् । उनीहरूले सहकारीकै सेवा केन्द्र उदघाटनका लागि पनि शीर्ष नेताहरू ल्याउने गरेका थिए ।
सञ्चालकले बचतकर्ताको रकम अपचलन गरेसँगै प्रमाण पनि मेटाएको बचतकर्ता बताउँछन् । सहकारीका बचतकर्ता सुशील थापाको मुद्दती निक्षेप प्रमाण पत्र समेत सञ्चालकले नै गायब गरिदिएका छन् ।
मुद्दती निक्षेप परिपक्व हुने समयमा कर्मचारीलाई पठाएर प्रमाणपत्र मागेको तर फिर्ता नै नदिएको थापाले बताए । ‘मेरो मुद्दती खातामा १९ लाख छ, त्यसको प्रमाण छ, मुद्दती निक्षेपमा भएको पैसा दावी गर्ने आधार पनि छैन’ थापाले भने, ‘प्रमाणपत्र नै उनीहरूले नवीकरण गर्न लगेपछि फिर्ता दिएनन्, अब त्यो उनीहरुले नष्ट गरिसकेका छन् ।’
थापाजस्तै मुद्दती निक्षेपको प्रमाण आफूसँग नभएको तथा सञ्चालकले नै लगेको बचतकर्ता संख्या सयौं हुन सक्ने अनुमान छ ।
सेयर पूँजी ५ करोड रहेको खुसी सहकारी संस्थाले खिचापोखरी न्युरोडमा प्रधान कार्यालय राखेको थियो । कालीमाटी, चाबहिल र गंगबुमा पनि थप कार्यालयमार्फत कारोबार गरेको थियो । हाल प्रधान कार्यालयसहित सबै सेवा कार्यालय बन्द छन् । साथै सञ्चालकले सहकारी कारोबारका प्रमाण समेत नष्ट गरेको बचतकर्ताको भनाइ छ ।
पीडितहरू सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानमा जोडिई संघर्ष समिति गठन गरेका छन् । संघर्ष समितिमार्फत नै प्रहरी, राष्ट्रिय सहकारी नियमन प्रधिकरण, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय लगायतका निकायमा बचत फिर्ताका लागि दवाव दिइरहेका छन् ।
सबैजसो बचतकर्ताले संस्था बन्द गरेर सञ्चालक भागिसकेपछि मात्र जानकारी पाएको थापाले बताए । ‘कतिपयको पासबुक नै छैन, मुद्दती निक्षेप भएका कतिपयको प्रमाणपत्र नै छैन, बचकर्तालाई अप्ठेरो पर्नेगरी योजना बनाएर सञ्चालक भागे’ थापाले भने ‘पसलमा काम गरेर कमाएको पैसा सहकारीमा राखेको थिएँ, त्यो पैसाका लागि दौडधुप गर्दा काम पनि छोड्नु पर्यो, भएको पैसा पनि फस्यो ।’
खुसी सहकारीका मुख्य सञ्चालक एकै परिवारका दाजुभाइहरू रहेको थापाले बताए । कार्यालयका अन्य कर्मचारी पनि सञ्चालकका आफन्त र नातागोताकै मान्छे मात्र रहेको उनको भनाइ छ ।
सञ्चालकका बुबा भने पीडितको सम्पर्कमा छन् । बुबाले बचतकर्तालाई पैसा फिर्ता दिने आश्वासन पनि दिएको थापाले सुनाए । मुद्दा फिर्ता लिन अनुरोध गर्दै बुबाले आफूहरूलाई बचत फिर्ता गर्ने आश्वासन दिएको थापाले सुनाए । यद्यपि छोरा कहाँ छन् भन्ने कसैलाई थाहा नभएको पनि बुबाले बताउने गरेका छन् ।
सञ्चालकहरूले सहकारीको बचत रकम कहाँ परिचालन गरेका छन् भन्ने जानकारी समेत अहिलेसम्म नभेटिएको थापाको भनाइ छ । ‘हामीले उनीहरूको नागरिकताबाट सम्पत्ति कहाँ कहाँ छ भनेर खोज्ने कोसिस पनि गर्यौं,’ थापाले भने, ‘कसरी कहाँ लुकाएका छन् पत्तै लागेको छैन ।’
खुसी सहकारी खिचापोखरीबाट करिब ९ करोड रुपैयाँ बराबर कर्जा लिएका ऋणीहरू समेत फरार रहेको अर्की बचतकर्ता राधा महर्जनले बताइन् । ‘संस्थाबाट कर्जा लिएका करिब ८० जना ऋणी भागिसकेको अवस्था छ,’ महर्जनले भनिन् ‘संस्थाको कार्यालय रहेका घरहरूमा भाडा समेत नतिरेको अवस्था छ, प्रधान कार्यालको तिर्न बाँकी भाडा एक करोड भएको रहेछ ।’ उनको पनि करिब १८ लाख रुपैयाँ सो सहकारीमा फसेको छ ।
कालीमाटी सेवा केन्द्रका कतिपय बचतकर्ता मजदुरी काम गर्ने रहेको उनले बताइन् । ‘कवाडी संकलन तथा मजदुरी गर्नेहरू परेका छन्,’ उनले भनिन् ‘बिहान बेलुका भेट्दा सहकारीको पैसा आउँदैन ? भनेर सोध्छन ।’ खुसी सहकारीलाई समस्याग्रस्त घोषणा गर्न प्रदेश सरकारले किन रोकेको ? उनको जिज्ञासा छ ।
‘हाम्रो बचत फस्यो, संस्था छैन, सञ्चालक छैनन् र पनि समस्याग्रस्त हुँदैन’ उनले भनिन् । समस्याग्रस्त घोषणा भएमा बचतको केही रकम भए पनि फिर्ता पाउने आश उनमा छ ।
प्रतिक्रिया 4