२६ वैशाख, काठमाडौं । नेपालको कूल ऊर्जा जडित क्षमता ४ हजार २ सय ९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादितबाहेक ४ हजार २ सय ९६ मेगावाट क्षमता निर्धारण भएको हो । चालु आर्थिक वर्षको अन्त्यसम्म कूल जडित क्षमता चार हजार ५ सय मेगावाटभन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ ।
हाल निर्माणको क्रममा तीन हजार मेगावाट क्षमताका आयोजना छन्, भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म ६६ केभीभन्दा माथिका करिब ७ हजार ३ सय ६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
यस्तै, १४ हजार ३ सय २३ एमभिए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने ३३ केभी क्षमताका करिब ८ हजार २ सय २५ सर्किट किलोमिटर प्रसारण लाइन तथा ३ हजार ३ सय ८ एमभीए क्षमताको सबस्टेसन निर्माण भएका छन् ।
सरकारको पहल र सक्रियता, नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभरको विद्युत् चुहावट १२.५ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको छ ।
यस्तै प्राविधिक चुहावटलाई क्रमश: घटाउँदै लैजाने लक्ष्य राखिएको छ । सवस्टेसनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट क्रमश: घटाइने मन्त्रालयले स्पष्ट पारेको छ ।
यसैगरी प्रतिव्यक्ति विद्युत् खपत ४ सय ५० किलोवाट घण्टा बराबर पुगेको छ । हालसम्म राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत्मा पहुँचमा पहुँच प्राप्त जनसङ्ख्या ९९ प्रतिशत बराबर पुगेको छ ।
हालसम्म विद्युत् निर्यात २ हजार ९ सय १८ गिगावाट प्रतिघण्टा छ भने विद्युत् आयात करिब ५ सय ९० गिगावाट घण्टा भएको छ ।
हालसम्म सौर्य विद्युत् उत्पादन क्षमता ६२.७ मेगावाट बराबर पुगेको छ । लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५.३ मेगावाट बराबर विद्युत् उत्पादन भएको छ । –रासस
प्रतिक्रिया 4