+
+
Shares

ट्र्याक खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति   

मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक स्तरोन्नति भएको छ ।    

रासस रासस
२०८३ वैशाख २७ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक स्तरोन्नति भएको छ, जुन १५ वर्षपछि मार्ग खुलेको हो।
  • सङ्घीय सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरी सडक स्तरोन्नति योजना सम्पन्न गरेको छ।
  • बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग भएकाले यो सडकले मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दालाई लाभान्वित बनाएको छ।

२७ वैशाख, म्याग्दी । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक स्तरोन्नति भएको छ ।

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको बाबियाचौर–दरबाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पीपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरबाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति भएको हो ।

सङ्घीय सरकारले चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले लक्ष्यअघि नै काम सम्पन्न गरेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले गत माघ महिनादेखि सुरु भएको सडक स्तरोन्नति योजनाको म्याद आगामी असारसम्म भए पनि तीन महिनाअघि नै सम्पन्न गरेको बताए । दुई करोड पाँच लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । खहरेदेखि छिसवाङ हुँदै ओखोलासम्म एक किलोमिटर ५०० मिटर सडकलाई पक्की नालासहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ ।

२०६७ सालमा मार्ग खुलेको सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको छिसवाङका दुर्गाबहादुर खत्रीले बताए । मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फी मात्र गाडी चल्ने गरेका थिए । सडक फराकिलो पार्न स्थानीयवासीले स्वतःस्फूर्त रूपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छन् ।

यो सडकबाट मङ्गलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी–दरबाङ सडकको बाबियाचौर–दरवाङ खण्डमा पहिरो लगायतका कारणले अवरुद्ध हुँदा वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्व रहेको छ ।

यसअघिका दुई आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पीपलबोट खण्डमा र सङ्घीय सरकारले हिलवाङ–खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन् । जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्व र प्राथमिकता दिइएको छ ।

हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताए । यसअघि सङ्घीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?