News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रविधिको अवलम्बन अपरिहार्य रहेको बताएका छन्।
- पाण्डेले प्रदेश र संघको कानुन बाझिए संघीय कानुन नै मान्य हुने स्पष्ट पारे।
- प्रदेश सरकारले कर बुझाउने व्यवसायीको हितमा नयाँ प्रविधि व्यवस्थापनमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
२७ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बदलिँदो विश्व परिवेश अनुसार प्रविधिको अवलम्बन अपरिहार्य रहेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।
संवैधानिक व्यवस्थाको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश कानुन संघीय कानुनसँग बाझिएको अवस्थामा संघीय कानुन नै मान्य हुने स्पष्ट पारे ।
यस क्षेत्रको समस्या समाधानका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले पनि कानुन निर्माण र लबिइङमा सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
गत वर्ष राइड सेयरिङ सेवालाई कानुनी मान्यता दिँदा भएको विरोधका सन्दर्भमा मुख्यमन्त्री पाण्डेले व्यवसायीहरूलाई प्रविधिको महत्त्व बुझाउन आवश्यक रहेको बताए ।
उहाँले भने, ‘संविधानले स्पष्ट भनेको छ कि प्रदेश र संघको कानुन बाझिएमा संघकै कानुन लागु हुन्छ । त्यसैले सबै कुरा प्रदेश सरकारको एकल अधिकारभित्र मात्र पर्दैनन् । हामी प्रविधिमा नगई सुखै छैन । संसार प्रविधिमा गइसक्यो, ढिलो वा चाँडो हामीले पनि यसलाई आत्मसात गर्नैपर्छ। यो कसैको व्यवसाय विस्थापित गर्न वा लगानी निरुत्साहित गर्न ल्याइएको होइन ।’
यातायात व्यवसायीहरूले राज्यलाई तिर्दै आएको कर, रुट पर्मिट दस्तुर र नवीकरण शुल्कको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले दर्ता भएर सञ्चालनमा रहेका सवारीसाधन र राइड सेयरिङमा रहेका सवारीबीचको कानुनी र व्यावहारिक भिन्नतालाई व्यवस्थित गरिने बताए ।
राज्यलाई विधिवत रूपमा कर बुझाउने व्यवसायीहरूको हितलाई ध्यानमा राख्दै नयाँ प्रविधिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा प्रदेश सरकार अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया 4