News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको छ।
- महासंघका महासचिव डेकनाथ गौतमले नेपाल आयल निगमले गरेको मूल्यवृद्धिले यातायात व्यवसायी र यात्रुमा प्रत्यक्ष असर परेको बताए।
- महासंघले पेट्रोलियम पदार्थको सहज आपूर्ति र भाडा समायोजनका लागि सरकारसँग माग गरेको छ।
२ चैत, काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो ।
महासंघका महासचिव डेकनाथ गौतमले सोमबार विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गएराति पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
उनले पेट्रोलियम पदार्थको प्रत्यक्ष उपभोग गर्ने आम यातायात व्यवसायी र उपभोक्ता वर्गको हितलाई मध्यनजर नगरी साबिकको मूल्यमा एकाएक भारी मूल्यवृद्धि गर्दा देशभर यातायात सेवा सञ्चालन गर्ने यातायात व्यवसायी एवम् यात्रुमा प्रत्यक्ष असर पर्न गएको बताए ।
महासंघले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकार समक्ष माग गरेको छ ।
सार्वजनिक यातायात सञ्चालनमा सवारीसाधनहरू डिजेल/पेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारीसाधन सञ्चालनमा देखिएको महासंघले जनाएको छ ।
नेपाल आयल नियमले गएरातिदेखि डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।
महासंघले संघीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया 4