+
+
Shares

ननिदाइ बस्ने सांसदलाई सम्मान दिनुपर्ने स्थिति छ : विपिन आचार्य

आचार्यले प्रविधिले दिएको सुविधालाई प्रयोग गरेर संसद्‌का कामकारबाही छिटो सकिने अवस्था रहे पनि पुरानै ढर्रामा चलिरहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यले संसद सञ्चालनका विधि कर्मकाण्डी भएको भन्दै सुधार गर्नुपर्ने बताएका छन्।
  • आचार्यले प्रविधिको सदुपयोग गरी संसद् काम छिटो सक्नुपर्ने र सांसदहरूको कार्यसम्पादन मूल्याङ्कन गर्नुपर्ने बताए।
  • सत्तापक्ष र प्रतिपक्षले कानुन निर्माणमा दलीय चस्मा फुकालेर गुण र दोषका आधारमा निर्णय गर्नुपर्ने आचार्यले प्रश्न उठाए।

४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले संसद सञ्चालनका लागि बनेको विधि कर्मकाण्डी भएको जनाउँदै सुधार गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा रास्वपा सांसद आचार्यले प्रविधिले दिएको सुविधालाई प्रयोग गरेर संसद्‌का कामकारबाही छिटो सकिने अवस्था रहे पनि पुरानै ढर्रामा चलिरहेको बताए ।

‘विपक्षी दलको नीति तथा कार्यक्रम माथिको संशोधन पास वा फेल गर्न लागेको समयलाई नै सम्झिऔँ । ई–भोटिङ मार्फत दुई मिनेटमा टुंगिने प्राविधिक विषयलाई हामीले २ घण्टा लगायौँ,’ आचार्यले भने,‘यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो । संसद् सञ्चालनका हाम्रा विधि र प्रक्रिया यति कर्मकाण्डी छन् कि, कोही सांसद यहाँ ननिदाएर बस्छ भने उसलाई त सम्मान नै गर्नुपर्ने स्थिति छ । यो विडम्बनापूर्ण अवस्था अब परिवर्तन हुनुपर्छ ।’

प्रविधिको उच्चतम सदुपयोग गरी सांसदहरूको समयलाई सही सदुपयोग गर्नुपर्ने आचार्यले बताए । सांसदले आफ्नो क्षमता र विज्ञता प्रमाणित गर्न सक्ने गरी संसदलाई विजनेस दिनुपर्ने बताउँदै आचार्यले उनीहरुको कार्यसम्पादन मूल्याङ्कन गर्नुपर्ने विचार राखे ।

‘हामी कतिपटक देख्छौँ एउटा सांसद संसद्‌मा उपस्थित हुँदैन, तर बाहिर कुनै कार्यक्रममा भाषण गरिरहेको हुन्छ । यो पक्कै पनि सही अभ्यास होइन,’ आचार्यले संसदमा भने,‘एउटा सांसद, संसदमा उपस्थित भयो वा भएन भन्ने कुरामा मात्रै जाँचिनु हुँदैन । तर सत्य के पनि हो भने एउटा सांसदका लागि संसदीय काम कर्तव्य भन्दा अरु ठूलो कुरा केही पनि हुनु हुँदैन । त्यसैले संसदीय गतिविधि भन्दा महत्त्वपूर्ण अरू के–के कुरा हुन सक्छन्, यो नियमावलीले ती कुराहरुमा स्पष्टता ल्याओस् ।’

नियमावलीमा सम्भव भएसम्म कुनै पनि किसिमका अस्पष्टता नराख्न आचार्यले आग्रह गरे । ‘सक्नेछ’, ‘तजबिजमा भर पर्नेछ’ जस्ता अमूर्त शब्दहरूले व्यक्तिलाई बलियो बनाउने तर पद्धतिलाई सहयोग नपुग्ने आचार्यको तर्क छ ।

संसदीय अभ्यासमा ‘सत्तापक्ष भर्सेज प्रतिपक्ष’ को मनोविज्ञान नराम्रोसँग हावी भएको आचार्यले बताए । सत्तापक्ष र प्रतिपक्षले गरेका कार्य वा बोलीलाई एक अर्कामा नकरात्मक तरिकाले व्याख्या गर्ने पररम्परा रहेको उनले बताए ।

दुवै पक्षलाई आचार्यले प्रश्न गरे,‘प्राविधिक विषयभन्दा पर, कानुन निर्माण र जनजीविकाका सवालमा सत्तापक्ष र प्रतिपक्ष दुवैले दलीय चस्मा फुकालेर ‘गुण र दोष’का आधारमा निर्णय गर्न सक्ने पद्धति हामीले किन विकास गर्न सक्दैनौँ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?