+
+
Shares

‘मिस नेपाल २०२६’ को आवेदन खुला, ग्राण्ड फिनाले १६ साउनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १९:३४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • द हिडन ट्रेजरले मिस नेपाल २०२६ का लागि आवेदन जेठ २५ सम्म खुला गरेको छ।
  • प्रतियोगिताको ग्राण्ड फिनाले साउन १६ मा पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ।
  • यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल गरी तीन विधामा विजेता छनोट गरिनेछ।

काठमाडौं । द हिडन ट्रेजरले ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ । बुधबार पुल्चोकस्थित द प्लाजामा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी संस्करणबारे जानकारी दिइएको हो ।

आयोजकले नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक नेपाली युवतीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । आवेदन दिने अन्तिम मिति जेठ २५ (जुन ८) सम्म तोकिएको छ ।

प्रतियोगिताको ग्राण्ड फिनाले साउन १६ (अगस्ट १) मा पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ । कार्यक्रम हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।

यस वर्ष ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल कोस्मो’ र ‘मिस नेपाल इन्टरनेशनल’ गरी तीन विधामा विजेता छनोट गरिनेछ । प्रतियोगिताका लागि सहभागीको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ ।

विदेशमा बसोबास गर्ने नेपालीले गृह मन्त्रालयबाट जारी एनआरएन कार्डका आधारमा पनि आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दर्ता निःशुल्क रहनेछ ।

आयोजकका अनुसार विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा अडिसन सञ्चालन गरिनेछ । साथै काठमाडौंका १० वटा कलेजमा ‘मिस नेपाल एक्टिभेसन’ अभियान पनि सञ्चालन गरिनेछ ।

अन्तिम अडिसन जेठ २६ (जुन ९) मा काठमाडौंमा हुनेछ । छनोट भएका प्रतियोगीले ग्राण्ड फिनालेअघि आवश्यक प्रशिक्षण र ग्रुमिङ प्राप्त गर्नेछन् ।

सो अवसरमा प्रतियोगिताको संरचनामा केही फेरबदल गरिएको जानकारी दिइयो । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले अन्तिम ३० राउन्डबाट प्रश्नोत्तर हटाइएको बताए । उनका अनुसार उत्कृष्ट ५ लाई मात्र अब प्रश्न सोधिनेछ ।

फिनालेमा सहभागी हुन मिस कोश्मोका सीइओदेखि वर्तमान विजेता समेत काठमाडौंमा आउने उनले जनाए ।

द हिडन ट्रेजरले पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली प्रतिनिधिले हासिल गरेको उपलब्धिबारे पनि जानकारी दिएको छ । वर्तमान मिस नेपाल वर्ल्ड लुना लुइँटेलले ‘मिस वर्ल्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीले टोकियोमा आयोजित ‘मिस इन्टरनेशनल’ मा सहभागिता जनाएकी थिइन् ।

मिस नेपाल अर्थ २०२५ सोनी घलेले फिलिपिन्समा आयोजित ‘मिस अर्थ’ को ट्यालेन्ट राउन्ड जितेकी थिइन् भने मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपालले भियतनाममा आयोजित ‘मिस कोस्मो’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

यस वर्षको प्रतियोगितामा कजारिया रमेश टाइल्स लिमिटेड मुख्य शीर्ष प्रायोजक र श्री नटराज ज्वेलर्स सह-प्रायोजकका रूपमा रहेका छन् । श्री नटराज ज्वेलर्स गत वर्षदेखि क्राउन पार्टनरका रूपमा पनि आबद्ध रहेको आयोजकले जनाएको छ ।

यस वर्षको ‘मिस नेपाल २०२६’ को थिम ‘टप अफ द वर्ल्ड’ राखिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?