News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली मूलकी बेलायती डिजाइनर संयुक्ता श्रेष्ठले लन्डन वेडिङ अवार्ड्स २०२६ अन्तर्गत 'वेडिङ बुटिक अफ द इयर' पुरस्कार जित्नुभएको छ।
- उहाँको बुटिकले नवप्रवर्तन, दिगोपन र सामाजिक उत्तरदायित्वका कारण यो सम्मान प्राप्त गरेको हो।
- संयुक्ताले भनिन्, 'म विचारले डिजाइनर र भावनाले कलाकार हुँ, तर एक बेहुलीको सपनालाई साकार बनाउनु नै मेरो कलाको वास्तविक गन्तव्य हो।'
लन्डन । डेढ दशकदेखि वातावरणमैत्री फेसन प्रवर्द्धन गर्दै आएकी नेपाली मूलकी बेलायती डिजाइनर संयुक्ता श्रेष्ठ ‘लन्डन वेडिङ अवार्ड्स २०२६’ अन्तर्गत सर्वोच्च उपाधि ‘वेडिङ बुटिक अफ द इयर’ बाट सम्मानित भएकी छन् ।
मे १३ मा आयोजित विशेष समारोहमा श्रेष्ठको बुटिकलाई उक्त विधाको विजेता घोषणा गरिएको हो । सार्वजनिक मतदान र उद्योग विशेषज्ञको मूल्याङ्कनका आधारमा प्रदान गरिएको यो सम्मानले श्रेष्ठको फ्ल्यागशिप बुटिकलाई नवप्रवर्तन, दिगोपन र सामाजिक उत्तरदायित्वको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गरेको छ ।
सन् २०११ देखि लन्डनको फेसन क्षेत्रमा सक्रिय श्रेष्ठले वातावरणमैत्री फेसनको अवधारणा खासै चर्चामा नआएको समयमा नै आफ्नो इको-फ्रेन्डली ब्रान्ड सुरु गरेकी थिइन् । उनले तयार पारेका डिजाइनहरू १६औँ शताब्दीदेखिका एक लाखभन्दा बढी ऐतिहासिक सामग्री संग्रहित विश्वप्रसिद्ध ‘फेसन म्युजियम’ मा समेत सुरक्षित राखिएका छन् ।
ब्रान्ड स्थापना भएयता श्रेष्ठले हरेक वर्ष विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गर्दै आएकी छन् । बेलायतको करिब १० अर्ब पाउन्ड बराबरको वेडिङ उद्योगमा यो अवार्डलाई सांस्कृतिक र प्रतीकात्मक रूपमा महत्वपूर्ण मानिन्छ ।

महिला संस्थापकले नेतृत्व गरिरहेको यो उद्योगमा बेहुलीको जीवनको विशेष क्षणलाई संवेदनशीलता र समानुभूतिसहित प्रस्तुत गर्ने अभ्यासलाई उच्च महत्व दिइन्छ । विश्वका ठूला फेसन हाउस उत्पादन प्रक्रिया र वातावरणीय प्रभावका कारण आलोचनामा परिरहेका बेला संयुक्ताको फ्ल्यागशिप बुटिकले ‘शून्य-फोहोर’, दिगो तथा परिष्कृत शैली र सामाजिक उत्तरदायित्वको सफल उदाहरण प्रस्तुत गरेको छ ।
उपलब्धिबारे प्रतिक्रिया दिँदै क्रिएटिभ डाइरेक्टर संयुक्ताले आफ्नो सिर्जना र शिल्पसँग जोडिएको समुदायप्रति आभार व्यक्त गरिन् । उनले भनिन्, ‘म विचारले डिजाइनर र भावनाले कलाकार हुँ । तर एक बेहुलीको सपनालाई साकार बनाउनु नै मेरो कलाको वास्तविक गन्तव्य हो ।’
उनले थपिन्, ‘लन्डनस्थित हाम्रो बुटिक सधैँ सचेत र वातावरणमैत्री सोच भएका बेहुलीका लागि सुरक्षित र आत्मीय स्थान बनेको छ । १५ वर्षदेखि हाम्रो ब्रान्ड दुलहीको अटुट विश्वासकै कारण अघि बढिरहेको छ । यो सम्मान म हाम्रा दुलही, समर्पित टोली र दक्ष महिला शिल्पीको मेहनती हातलाई समर्पित गर्न चाहन्छु ।”

यो सम्मान हालै लन्डन फेसन विकमा प्रदर्शन गरिएको डकुमेन्ट्रीसँग पनि जोडिएको छ । उक्त डकुमेन्ट्रीले संयुक्ताका डिजाइन तयार पार्ने ९५ प्रतिशतभन्दा बढी महिला शिल्पीको मेहनत र उनीहरूले समाजमा पारेको सकारात्मक प्रभावलाई उजागर गरेको थियो ।
वातावरणमैत्री उत्पादन, परम्परागत सीपको संरक्षण, उचित ज्याला र महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै संयुक्ताको ब्रान्डले विश्वस्तरीय नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई सफलतापूर्वक एकै ठाउँमा जोडेको छ ।
‘लन्डनको यो प्रिमियर बुटिक अवार्ड जितेर संयुक्ताले उच्च फेसन, नवप्रवर्तन र मानवीय सेवाबीच सन्तुलन कायम गर्न सकिन्छ भन्ने प्रमाणित गरेकी छन्,’ कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4