१३ जेठ, काठमाडौं । मौसमविदहरुले शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेका छन् । पानी पर्ने क्रम विहीबार बेलुकादेखि नै सुरु हुने र शुक्रबार राति तुलनात्मक रुपमा बढी हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार शुक्रबारको दिन बिहान र दिउँसोको समयभन्दा रातिमा बढी पानी पर्ने सम्भावना छ ।
मौसमविद लामिछानेले अनलाइनखबरसँग भने, ‘शुक्रबार सातै प्रदेशमा पानी पर्ने सम्भावना छ । आजसम्मको अवस्था हेर्दा हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ ।’
अहिले तातो हावाको लहर चलिरहेको पश्चिम तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेकाले गर्मीबाट केही राहत मिल्ने विश्वास छ ।
मौसमविद लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । सोही प्रभावले बादल बढ्ने र मेघगर्जन चट्याङसहित पानी पर्ने पूर्वानुमान गरिएको हो । त्यसैको प्रभावले आज र भोलि पनि केही जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना छ ।
‘भारी वर्षा’ पनि हुनसक्ने
केही मौसमविदहरुले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएका छन् ।
मौसमविद विनोद पोखरेलले पनि विहीबार बेलुकादेखि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा भारी वर्षा हुनसक्ने फेसबुकमा लेखेका छन् ।
अर्का मौसमविद डा. धर्मराज उप्रेतिले पनि शुक्रबारको दिन कुनै–कुनै ठाउँमा भारी वर्षा हुँदा बाढीको जोखिम हुनसक्ने बताए ।
तर जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भने यो समाचार तयार पार्दासम्म भारी वर्षाको सम्भावनाबारे केही बताएको छैन ।
महाशाखाका मौसमविद लामिछानेले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हामीले भारी वर्षा हुने भनेका छैनौं । यदि भारी वर्षा हुने सम्भावना देखिएछ भने हामी भोलि नै अध्यावधिक गर्नेछौं ।’ मौसम छिटोछिटो परिवर्तन भइराख्ने भएकाले अहिले नै भारी वर्षा हुन्छ भनेर ठोकुवा गर्न नसक्ने उनले बताए ।
उनका अनुसार पश्चिम नेपालबाट पानी पार्ने प्रणाली क्रमश: पूर्वतिर सर्दै जाने र सातै प्रदेशका जिल्लाहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना देखिएको छ । यद्यपि सो प्रणालीलाई नजिकबाट नियालीरहेको उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी र मध्य भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहे पनि पश्चिम नेपालका तराईका जिल्लाहरुमा भने तातो हावाको लहर कायम रहने सम्भावना छ ।
प्रतिक्रिया 4