News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीले ध्वस्त पारेको बीपी राजमार्गको पुनर्निर्माण कार्य जापान सरकारको सहयोग र नेपाल सरकारको लगानीमा तीव्र गतिमा अघि बढेको छ ।
- जापानले २ अर्ब ८० करोड येन अनुदान दिने र नेपाल सरकारले ८ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।
- पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देलले पुनर्निर्माण भइरहेको सडकको अनुगमन गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिए ।
१४ जेठ, काठमाडौं । आठ महिनाअघि बाढीले ध्वस्त पारेको बीपी राजमार्ग पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।
पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल, नेपालका लागि जापानका राजदूत माएदा तोरुलगायतले दुई दिन अघि शिलन्यास गरेको सडक पुर्ननिर्माणको कामले गति लिएको हो ।
उक्त राजमार्ग पुनर्निर्माणको काम जापानको सहयोगमा चलिरहेको छ । गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको ३० किलोमिटर सडकखण्डमा क्षति पुर्याएको थियो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नतिसहित पुनर्निर्माण अघि बढाइएको छ ।
जापानको सहयोगमा पिप्ले–बर्खेखोला खण्डको ३.२ किमी सडक जापान सरकारको २ अर्ब ८० करोड येन अनुदानमा सिमिजु कर्पोरेसनले निर्माण गर्ने सहमति भइसकेको छ भने नेपाल सरकारको लगानीमा अन्य तीनवटा खण्डका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिइसकेको छ ।
यस अन्तर्गत काभ्रेतर्फका तीन खण्ड र सिन्धुलीको एक खण्डमा ठेक्का लागेर धमाधम काम भइरहेको छ । पुनर्निर्माणसँगै अब यो राजमार्ग दुई लेनको हुनेछ । सडकका ५ वटा पुललाई पनि दुई लेनमा परिणत गरिनेछ । बाढीबाट पुनः क्षति नहोस् भन्नका लागि ‘आरसीसी’ पर्खाल, प्लम्प पर्खाल र सडक चौडा गर्ने कामलाई तीव्रता दिइएको छ ।
आगामी वर्षभित्र कालोपत्रसहितको काम सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाले बीपी राजमार्गलाई पहिलेभन्दा अझ सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । २०५३ सालदेखि जापानकै सहयोगमा निर्माण सुरु भएको यो राजमार्ग २०७२ सालमा नेपाललाई हस्तान्तरण गरिएको थियो ।
पुनर्निर्माण भइरहेको राजमार्गको पूर्वाधार विकास सचिव सिग्देलले अनुगमन समेत गरे । उनले अनुगमनका क्रममा निर्माणको काम समयमै सक्न निर्माण व्यवसायीहरूलाई निर्देशन दिए ।
प्रतिक्रिया 4