News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियाली अभिनेता किम सु-ह्यानमाथि मानहानिको झुटो आरोप लगाएको अभियोगमा युट्युब च्यानल सञ्चालक किम से-उई पक्राउ परेका छन् ।
- अभियुक्तले एआईको प्रयोग गरी नक्कली आवाज र सन्देश बनाएर अभिनेताले नाबालिग अभिनेत्रीसँग सम्बन्ध राखेको झुटो प्रचार गरेका थिए ।
- यस भ्रामक प्रचारका कारण अभिनेताको सामाजिक प्रतिष्ठा र आर्थिक गतिविधिमा गम्भीर धक्का पुगेको प्रहरीले जनाएको छ ।
प्रसिद्ध दक्षिण कोरियाली अभिनेता किम सु-ह्यान माथि मानहानी र चरित्रहत्याको झुटो आरोप लगाएको अभियोगमा एक जना युट्युबर पक्राउ परेका छन् ।
‘होभर ल्याब’ नामक चर्चित युट्युब च्यानल सञ्चालन गर्ने किम से-उईलाई अदालतको अनुमतिमा प्रहरीले पक्राउ गरेको हो ।
सियोल केन्द्रीय जिल्ला अदालतले ती युट्युबरले प्रमाण नष्ट गर्न सक्ने वा भाग्न सक्ने भन्दै मंगलबार पक्राउ पुर्जी जारी गरेको जनाइएको छ ।
प्रहरी र सरकारी वकिलहरूका अनुसार युट्युबर किम से-उईले एआईको प्रयोग गरी नक्कली आवाज र म्यासेजका स्क्रिनसटहरू बनाएर अभिनेता किम सु-ह्यानले एक नाबालिग अभिनेत्रीसँग डेट गरेको झुटो दाबी गरेका थिए।
यो विवादका कारण विज्ञापन र चलचित्र क्षेत्रका स्थापित अभिनेता किम सु-ह्यानको खेल जीवन नै ठप्प भएको थियो ।
ती युट्युबरले पक्राउ पर्नुअघि आफूमाथि लागेका आरोपहरू अस्वीकार गर्दै प्रहरी र सरकारी वकिल विरुद्ध नै उजुरी दिने बताएका थिए ।
यो विवाद गत वर्ष २४ वर्षको उमेरमा आत्महत्या गरेकी अभिनेत्री किम से-रोनको मृत्युपछि सुरु भएको थियो।
उनको मृत्युको केही महिनापछि झन्डै १० लाख सब्सक्राइबर भएको ‘होभर ल्याब’ च्यानलले एउटा अडियो रेकर्ड सार्वजनिक गरेको थियो । जसमा ती अभिनेत्रीले आफू विद्यालय पढ्दादेखि नै अभिनेता सु-ह्यानसँग सम्बन्धमा रहेको बताएकी थिइन्। तर प्रहरी अनुसन्धानबाट सो आवाज एआईद्वारा निर्मित र म्यासेजहरू पूर्ण रूपमा नक्कली भएको प्रमाणित भएको छ।
यस घटनाले अभिनेता किम सु-ह्यानको सामाजिक प्रतिष्ठा र आर्थिक गतिविधिमा गम्भीर धक्का पुर्याएको प्रहरी प्रतिवेदनमा उल्लेख छ। उनी अझै पनि मानसिक उपचार गराइरहेका छन्।
सन् २०२५ को मार्चमा आयोजित एक पत्रकार सम्मेलनमा भावुक हुँदै अभिनेता सु-ह्यानले आफूले ती अभिनेत्रीसँग उनी वयस्क भएपछि मात्र एक वर्ष डेट गरेको तर नाबालिग छँदा कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका थिए।
अभिनेताको एजेन्सीले बुधबार एक विज्ञप्ति जारी गर्दै अन्ततः सत्यको जित भएको र युट्युबरका सबै दाबीहरू आधारहीन प्रमाणित भएको जनाएको छ।
प्रतिक्रिया 4