+
+
Shares

ड्रेकले तोडे माइकल ज्याक्सनको रेकर्ड, ‘जेनिस एसटीएफयू’ गीत बन्यो बिलबोर्डमा नम्बर १

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १५:००

लस एन्जलस । गायक ड्रेकले ‘बिलबोर्ड हट १००’ मा एकल पुरुष कलाकारतर्फ सबैभन्दा धेरै नम्बर १ गीत दिने कीर्तिमान बनाएका छन् । यसअघि यो रेकर्ड ‘पपका राजा’ माइकल ज्याक्सनको नाममा थियो । ड्रेकको गीत ‘जेनिस एसटीएफयू’ उनका तीन एल्बम सार्वजनिक भएपछि चार्टको शीर्ष स्थानमा पुगेसँगै उनले नयाँ इतिहास रचेका हुन् ।

यो उपलब्धिसँगै ड्रेकले समग्र कलाकारतर्फ सबैभन्दा धेरै नम्बर १ गीत दिने सूचीमा रिहाना र टेलर स्विफ्टसँग बराबरी गरेका छन् । अहिले तीनै जनाको १४ वटा नम्बर १ गीत पुगेको छ । उनीहरूभन्दा अघि केवल मारायाह केरी र द बिटल्स छन् । मारायाहको १९ तथा द बिटल्सको २० वटा नम्बर १ गीत छन् ।

यससँगै ड्रेकले सन् २०२५ मा मोर्गन वालेनले बनाएको एक सातामै सबैभन्दा धेरै गीत चार्टमा प्रवेश गराउने रेकर्ड पनि तोडेका छन् । ड्रेकका एकै सातामा ४२ वटा गीत ‘बिलबोर्ड हट १००’ मा प्रवेश गरेका छन् ।

यसअघि वालेनका ३७ गीत चार्टमा प्रवेश गरेका थिए । वालेनले त्यसअघि आफ्नै ३६ गीतको रेकर्ड तोडेका थिए । टेलर स्विफ्ट र वालेनले क्रमशः सन् २०२४ र २०२५ मा ३२–३२ गीत चार्टमा प्रवेश गराएर तेस्रो स्थान साझा गरेका थिए । ड्रेकको यसअघि एक सातामा सबैभन्दा धेरै गीत चार्टमा ल्याउने व्यक्तिगत रेकर्ड सन् २०१८ मा २७ गीतको थियो ।

हालको ‘टप १०’ सूचीमा ड्रेकले ९ स्थान ओगटेका छन् । केवल एला ल्याङ्लीको गीत ‘चुजिन टेक्सास’ पाँचौं स्थानमा कायम छ । यससँगै ड्रेकको करिअरमा ‘टप १०’ मा पुग्ने गीतको संख्या ९० पुगेको छ । साथै, उनी ‘हट १००’ मा ४०० भन्दा धेरै गीत प्रवेश गराउने पहिलो कलाकार बनेका छन् ।

ड्रेक अहिले आफ्ना तीन एल्बम ‘आइसम्यान’, ‘मेड अफ अनर’ र ‘हबिब्ती’ को सफलतामा छन् । यी एल्बम मे १५ मा सार्वजनिक भएका थिए । ‘आइसम्यान’ एल्बमलाई उनले झन्डै दुई वर्षदेखि विभिन्न लाइभस्ट्रिममार्फत चर्चा गरिरहेका थिए ।

एल्बम सार्वजनिक हुनुभन्दा केही घण्टाअघि गरिएको चौथो लाइभस्ट्रिममा उनले ‘मेड अफ अनर’ र ‘हबिब्ती’ नामका थप दुई सरप्राइज एल्बम पनि आउने घोषणा गरेका थिए ।

गत सप्ताहन्तमा ‘आइसम्यान’, ‘हबिब्ती’ र ‘मेड अफ अनर’ क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा डेब्यु गर्दै चार्ट इतिहास रचे । ‘आइसम्यान’ ले ४ लाख ६३ हजार बराबर एल्बम युनिट बिक्री गर्दै ड्रेकलाई करिअरको १५औं नम्बर १ एल्बम दिलायो । यससँगै उनले एकल पुरुष तथा आर एन्ड बी/हिपहप कलाकारतर्फ सबैभन्दा धेरै नम्बर १ एल्बम दिने जे-जीको पुरानो रेकर्ड पनि तोडेका छन् ।

ड्रेकले एकल कलाकारतर्फ सबैभन्दा धेरै नम्बर १ एल्बम दिने सूचीमा टेलर स्विफ्टसँग पनि बराबरी गरेका छन् । यो सूचीमा द बिटल्स १९ वटा नम्बर १ एल्बमसहित शीर्ष स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?