+
+
Shares
सिनेमा संवाद :

‘अरूले हाम्रो कथा भनिदेलान् भनेर पर्खिन चाहिनँ’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १४:०४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवेणी राई निर्देशित फिल्म 'सेप अफ मोमो' नेपाल र भारतका हलमा व्यावसायिक रूपमा प्रदर्शनमा आएको छ ।
  • यस फिल्मसँग पायल कपाडिया, जोया अख्तर र राणा दग्गुबाती जस्ता चर्चित भारतीय फिल्मकर्मीहरू सहकार्यमा जोडिएका छन् ।
  • निर्देशक राईले सांस्कृतिक प्रतिनिधित्व र पहिचानका लागि फिल्मको भाषा नेपाली नै रोजेको बताइन् ।

काठमाडौं । त्रिवेणी राई निर्देशित फिल्म ‘सेप अफ मोमो’ नेपाल र भारतका हलमा प्रदर्शनमा आएको छ । विश्वका प्रतिष्ठित फिल्म महोत्सवको यात्रा पूरा गरेपछि फिल्म व्यावसायिक प्रदर्शनमा आएको हो ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा यसको प्रिमियर गरियो । सोही अवसरमा काठमाडौं आएकी निर्देशक राईले अनलाइनखबरसँग कुराकानी गर्दै फिल्म, महिला अनुभव, नेपाली समाज, भारत-नेपाल फिल्म सहकार्य र नेपाली सिनेमाको वर्तमान अवस्थाबारे आफ्ना विचार बाँडिन् ।

उनका अनुसार ‘सेप अफ मोमो’ केवल मोमोको कथा होइन, समाजले महिलामाथि राख्ने अपेक्षा र दबाबको कथा हो ।  आफू हुर्कंदा नेपाली समुदाय र आफ्ना अनुभवको प्रतिनिधित्व कम देखेको उनले बताइन् । त्यसैले आफ्नै समाज, गाउँघर र आफूले भोगेका अनुभवलाई पर्दामा उतार्ने निर्णय गरेको उनको भनाइ छ ।

‘कति समय अरूले हाम्रो कथा भनिदेलान् भनेर पर्खिने ? मैले आफ्नै कथा आफैं भन्नुपर्छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘फिल्म आफ्नै गाउँ र घरमा छायांकन गरिएको हो । फेस्टिभलमा यसले धेरै माया पायो । अब आफ्नै भाषा बोल्ने दर्शकले यसलाई कसरी ग्रहण गर्नुहुन्छ भन्ने उत्सुकता छ ।’

त्रिवेणी चार दिदीबहिनीमध्ये साइँली छोरी हुन् । उनको परिवारमा छोरा छैन । समाजमा छोरा नहुँदाको अनुभव र त्यसले महिलामाथि पार्ने सामाजिक दबाबलाई उनले कथाको आधार बनाएकी हुन् । ‘मेरो मात्र होइन, म जस्तै धेरै महिलाको कथा यसमा छ,’ उनले भनिन् ।

किन ‘सेप अफ मोमो’ ?

शीर्षकबारे उनले रोचक व्याख्या गरिन् । उनका अनुसार मोमो हिमाली र तिब्बती संस्कृतिसँग जोडिएको परिचित परिकार हो, जसले आफ्नोपनको अनुभूति गराउँछ ।

‘सेप’ अर्थात् आकारले समाजले महिलालाई कसरी एउटा निश्चित ढाँचामा हेर्न खोज्छ भन्ने संकेत गर्छ,’ उनले भनिन्, ‘पुरुषले कमाएर परिवार पाल्नुपर्छ र महिलाले घरमा खाना पकाएर खुवाउनुपर्छ भन्ने जस्ता अपेक्षाबारे हामीले बहस सुरु गर्न खोजेका हौं ।’

फिल्मकी मुख्य पात्र विष्णुको भूमिका गौमाया गुरुङले निर्वाह गरेकी छन् । पात्रलाई मोमो बनाउन आउँदैन र अरूले के भन्छन् भन्ने कुराले उसलाई धेरै असर गर्दैन । त्रिवेणीका अनुसार यस्तै साना देखिने विषयबाट पनि समाजभित्रको सोचबारे संवाद सुरु गर्न सकिन्छ ।

भारतीय सिनेमामा पछिल्लो समय क्षेत्रीय र फेस्टिभल फिल्मको प्रभाव बढिरहेको सन्दर्भमा त्रिवेणीले विविधताले भरिएको भारतमा सबै प्रकारका फिल्मको आवश्यकता रहेको बताइन् ।

‘दर्शकलाई मनोरञ्जन दिने फिल्म पनि चाहिन्छ र ‘सेप अफ मोमो’ जस्ता सोच्न बाध्य बनाउने फिल्म पनि,’ उनले भनिन्, ‘सोसल मिडियाले पनि दर्शकलाई नयाँ कथाप्रति सचेत बनाएको छ । अहिले नेपाल र उत्तरपूर्वी भारतबाट आफ्ना कथा भन्न खोज्ने प्रयास बढिरहेको छ ।’

भिडियो-तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

भारतीय फिल्मकर्मी किन जोडिए ?

फिल्मसँग भारतीय सिनेमाका चर्चित नाम पायल कपाडिया, जोया अख्तर, रीमा कागती र राणा दग्गुबाती जोडिएका छन्। राणाको स्पिरिट मिडियाले भारतभर फिल्म वितरण गरिरहेको छ । त्रिवेणीका अनुसार यी हस्तीहरू सहकार्यमा जोडिनुको कारण बदलिँदो फिल्म इकोसिस्टम हो ।

‘मलाई सुरुमा लाग्थ्यो, हामीलाई उहाँहरूको आवश्यकता छ,’ उनले भनिन्, ‘तर उहाँहरूसँग कुरा गर्दा थाहा भयो, उहाँहरू पनि यस्ता नयाँ र फरक कथासँग जोडिन चाहनुहुँदो रहेछ ।’ नेपाल र भारतबीच फिल्म क्षेत्रमा सहकार्यको सम्भावना ठूलो रहेको उनको विश्वास छ । हाल अनौपचारिक रूपमा सहकार्य भइरहेको भए पनि दुवै देशका फिल्म बोर्डले स्पष्ट नीति ल्याए थप सहज हुने उनको धारणा छ ।

‘यहाँका कलाकार त्यहाँ काम गर्न जाऊन्, त्यहाँका कलाकार यहाँ आउन्। औपचारिक संरचना बने अझ प्रभावकारी हुन्छ,’ उनले भनिन् ।

फिल्म क्षेत्रमा महिलाको उपस्थितिबारे सोधिएको प्रश्नमा त्रिवेणीले अहिलेको समयलाई अवसरपूर्ण र उत्साहजनक बताइन् । उनका अनुसार कलाको गुणस्तर पहिलो प्राथमिकता भए पनि महिलाले अझै चुनौतीको सामना गरिरहेका छन् ।

‘भोलि यस्तो दिन आओस्, जहाँ महिला र पुरुष बराबरी देखिऊन्,’ उनले भनिन्, ‘क्यामेरा अगाडि मात्र होइन, क्यामेरा पछाडि पनि पुरुषसरह महिला प्राविधिक र सर्जक देख्न पाइयोस् ।’ बाहिरबाट हेर्दा नेपाली फिल्म उद्योगप्रति निकै सकारात्मक धारणा रहेको त्रिवेणीको भनाइ छ ।

उनले अभिनेता दयाहाङ राईको प्रशंसा गर्दै फेस्टिभल र व्यावसायिक दुवै क्षेत्रमा सफल कलाकार विरलै भेटिने बताइन् । साथै शाम्बाला, ऊनको स्वेटर लगायतका नेपाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित गरिरहेको उल्लेख गरिन् । ‘कला र व्यापार दुवै पक्षमा नेपाली फिल्म अघि बढिरहेको छ,’ उनले भनिन्, ‘हामी भारतमा खोजिरहेको सन्तुलन नेपालले केही हदसम्म हासिल गरिरहेको जस्तो लाग्छ ।’

फिल्मको भाषा नेपाली राख्ने निर्णयबारे पनि त्रिवेणी स्पष्ट छिन् । कतिपयले हिन्दीमा बनाएको भए सजिलो हुने सुझाव दिए पनि उनले सांस्कृतिक प्रतिनिधित्वका लागि नेपाली भाषा नै रोजेको बताइन् । ‘यो हाम्रो संस्कृति र पहिचानको कथा हो,’ उनले भनिन्, ‘त्यसैले मैले यसलाई आफ्नै भाषामा बनाएकी हुँ ।’

विश्वका विभिन्न महोत्सवमा प्रशंसा बटुलेको ‘सेप अफ मोमो’ अब नेपाली र भारतीय दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छ । त्रिवेणीका लागि भने फिल्मको हलसम्मको यात्रा नै ठूलो उपलब्धि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?