+
+
Shares

वार्षिक १० लाखसम्म आयकर नलाग्ने, त्योभन्दा धेरैमा कति र कसरी लाग्छ ?

विधेयक अनुसार १० लाख रुपैयाँभन्दा बढी तर १५ लाखसम्म करयोग्य आय भए १० लाखसम्म १० हजार रुपैयाँ र १० लाखभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते २०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँसम्मको वार्षिक आम्दानीमा आयकर नलाग्ने घोषणा गरेको छ ।
  • नयाँ आर्थिक विधेयक अनुसार १० देखि १५ लाख रुपैयाँसम्मको आयमा १० प्रतिशत र १५ देखि २५ लाखसम्म २० प्रतिशत कर लाग्ने छ ।
  • हाल एकल व्यक्तिको ५ लाख र दम्पतीको ६ लाख रुपैयाँभन्दा बढीको वार्षिक आम्दानीमा ३९ प्रतिशतसम्म कर लाग्ने व्यवस्था छ ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि १० लाख रुपैयाँसम्मको आम्दानीमा आयकर नलाग्ने घोषणा गरेको छ ।

सरकारले सोही  अनुसार आयकर ऐन पनि संशोधन गर्न आर्थिक विधेयक २०८२ तयार गरेको छ ।

आर्थिक विधेयक अनुसार १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भए १ प्रतिशत कर लाग्ने छ । तर, एकलौटी फर्म दर्ता भएका करदाताका हकमा, निवृत्तभरण बापत आय निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस खण्ड बमोजिमको कर लाग्ने छैन ।

विधेयक अनुसार १० लाख रुपैयाँभन्दा बढी तर १५ लाखसम्म करयोग्य आय भए १० लाखसम्म १० हजार रुपैयाँ र १० लाखभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने छ ।

त्यस्तै १५ लाख रुपैयाँभन्दा बढी तर २५ लाखसम्म करयोग्य आय भए १५ लाखसम्म ६० हजार र १५ लाखभन्दा बढी करयोग्य आयमा २० प्रतिशत आयकर लाग्ने व्यवस्था आगामी आर्थिक वर्षको बजेटले गरेको छ ।

यस्तै २५ लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए २५ लाखसम्म २ लाख ६० हजार र २५ लाखभन्दा बढी करयोग्य आयमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए बढी भएजति करयोग्य आयमा थप २ प्रतिशत बिन्दुले अतिरिक्त कर लाग्ने व्यवस्था आगामी आवको बजेटले गरेको छ ।

हाल आयकर ऐन २०५८ मार्फत एकल व्यक्तिका हकमा पहिलो ५ लाख रुपैयाँसम्म र दम्पतीका हकमा पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा एक प्रतिशत सामाजिक सुरक्षा करमात्र लिने व्यवस्था छ ।

त्यसभन्दा माथिको अर्को २ लाखमा १० प्रतिशत, अर्को ३ लाखमा २० प्रतिशत, अर्को १० लाखमा ३० प्रतिशत र अर्को ३० लाखमा ३६ प्रतिशत कर लाग्दै ५० लाखभन्दा बढीको आम्दानीमा ३९ प्रतिशत कर लाग्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?