+
+
Shares

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

सभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन, मानव–जङ्गली जनावर द्वन्द्व न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग माग गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठकमा सांसदहरूले बाजुरा र कैलालीका विपद् प्रभावित नागरिकलाई तत्काल राहत तथा क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् ।
  • मेची राजमार्ग क्षेत्रका संरचना खाली गराउने सूचनाले १५ लाख नागरिक त्रसित बनेको भन्दै सांसद नरेन्द्रकुमार केरुङले नीति फेर्न माग गरे ।
  • झुटा मुद्दामा फसाइएका व्यक्तिका परिवार १८ दिनदेखि धर्नामा बसेको भन्दै सांसद अफ्साना बानुले उनीहरूको माग सम्बोधन गर्न आग्रह गरे।

१७ जेठ, काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको आतङ्कबाट त्रसित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन, मानव–जङ्गली जनावर द्वन्द्व न्यूनीकरणमा विशेष योजना ल्याउन सरकारसँग माग गरे ।

नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यही जेठ १४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका वडा नं १ का पार्तोला, मटेलालगायत वस्तीमा झण्डै ३०० रोपनी बगरमा परिणात भएको र ५० जनाको घरभित्र बाढी पस्दा सयौँ नागरिक खुला आकाशमुनि बस्न बाध्य जानकारी दिँदै तत्काल प्रभावित नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर बयकले कैलालीमा यही जेठ १४ गते आएको तीव्र हुरीले लम्कीचुहा नगरपालिकामा २५, जानकी गाउँपालिकामा ६ र बर्दगोरिया गाउँपालिका ५३ गरी ८४ घर तथा टिकापुरमा एक विद्यालयको छाना उठाएको जानकारी दिँदै विपद्पीडित नागरिकलाई तत्काल राहत दिन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले जङ्गली बँदेलका आतङ्कका कारण दैलेखको भैरवी गाउँपालिकाका स्थानीय हैरान भएको जनाउँदै जङ्गली जनावर नियन्त्रण गरी किसानलाई राहत दिन माग गरे ।

कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मेची राजमार्गको दायाँबायाँ १५/१५ मिटर क्षेत्रभित्रको संरचना खाली गराउनेसम्बन्धी सङ्घीय सडक सुपरिवेक्षण इलाम डिभिजन कार्यालयको सूचनाले सो क्षेत्रमा बसोबास गरिरहेका १५ लाखभन्दा बढी नागरिकलाई त्रसित बनाएको भन्दै सो नीति परिवर्तन गर्न सरकारको ध्यानकर्षण गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अफ्साना बानुले गत भदौ २४ गतेको घटनामा झुटा मुद्दा लगाएर कतिपय युवालाई फसाइएको र उनीहरुका परिवारजन माइतीघर मण्डलामा १८ दिनदेखि धर्नामा बसिरहेको सुनाउँदै उनीहरुका माग सम्बोधन गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?