News Summary
Generated by OK AI. Editorially reviewed.- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जनअपेक्षा र विकासका प्राथमिकतालाई केन्द्रमा राखेर तर्जुमा गरिने बताए।
- उनले सीमित स्रोतसाधनका बाबजुद आर्थिक विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट निर्माण भइरहेको उल्लेख गरे।
- अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटलाई उत्पादनमुखी, जनमुखी, उत्तरदायी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।
१७ जेठ, धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशको आवश्यकता, जनअपेक्षा र विकासका प्राथमिकतालाई केन्द्रमा राखेर तर्जुमा गरिने बताएका छन्।
अर्थ मन्त्रालयद्वारा आइतबार जनकपुरधाममा आयोजित ‘मधेस प्रदेशको आगामी आवको बजेट तर्जुमा’सम्बन्धी अन्तरक्रिया उनले प्रदेश सरकारले सीमित स्रोतसाधनका बाबजुद आर्थिक विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट निर्माणको तयारी गरिरहेको उल्लेख गरे।
उनले प्रदेश सरकारको लक्ष्य समृद्ध, आत्मनिर्भर र विकासोन्मुख मधेस निर्माण गर्नु रहेको उल्लेख गर्दै बजेटलाई केवल खर्च गर्ने माध्यमका रूपमा नभई आर्थिक तथा सामाजिक रूपान्तरणको आधारका रूपमा प्रयोग गरिने बताए। प्रदेशको आर्थिक अवस्था, उपलब्ध राजस्व, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा विकासका चुनौतीलाई मध्यनजर गर्दै यथार्थपरक बजेट ल्याइने उनको भनाइ थियो।
मुख्यमन्त्री यादवले सरोकारवाला निकाय, निजी क्षेत्र, विकासविद्, नागरिक समाज, स्थानीय तह तथा जनप्रतिनिधिबाट प्राप्त सुझावलाई समेटेर आगामी आवको नीति तथा कार्यक्रम निर्माण गरिने बताए।
अर्थमन्त्री युवराज भट्टराईले आगामी आवको बजेटलाई उत्पादनमुखी, जनमुखी, उत्तरदायी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले बजेट निर्माणका क्रममा प्राप्त भएका सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्भव भएसम्म समेटिने बताए। प्रदेशको आर्थिक अनुशासन कायम राख्दै विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको उनले उल्लेख गरे। रासस
प्रतिक्रिया 4