News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ११ महिनामा ९ खर्ब २६ अर्ब ६ करोडले बचतमा रहेको छ ।
- गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शोधनान्तर बचत झण्डै दोब्बरले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
- रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण मुलुकको बाह्य क्षेत्र कारोबारमा सकारात्मक प्रभाव परेको छ ।
२९ असार, काठमाडौं । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचत गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा दोब्बर बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८२/८३ को ११ महिना (साउन–जेठ) सम्म शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोडले बचतमा छ ।
अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा थियो । अमेरिकी डलरमा ६ अर्ब ३९ करोडले बचतमा छ ।
अघिल्लो आव सोही अवधिमा अमेरिकी डलरमा शोधनान्तर स्थिति ३ अर्ब ६२ करोडले बचतमा थियो । निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।
शोधनान्तर बचत भए वाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भए विदेशी मुद्रा वाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ । नेपालका हकमा रेमिट्यान्स आप्रवाह उल्लेख्य हुँदा त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा पर्छ ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ८ खर्ब २ अर्ब ६ करोडले बचतमा छ । अघिल्लो आव चालु खाता ३ खर्ब २१ अर्ब ७४ करोडले बचतमा थियो । अमेरिकी डलरमा चालु खाता ५ अर्ब ५३ करोडले बचतमा छ ।
यस अवधिमा खुद ट्रान्स्फर १७ अर्ब ३ करोड छ । गत आव यस्तो रकम ८ अर्ब ९६ करोडमात्र थियो । चालु आव प्रत्यक्ष वैदेशिक लगानी २२ अर्ब ८२ करोड भित्रिएको छ । गत आवको तुलनामा यस आवमा एफडीआई दोब्बर बढेको हो । गत आव यो रकम ११ अर्ब ७ करोड बराबर थियो ।
प्रतिक्रिया 4