News Summary
Generated by OK AI. Editorially reviewed.- मेची राजमार्गको इलामस्थित राजदुवाली खण्डमा सडक भासिएका कारण इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने यातायात सेवा केही दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
- सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको अभाव चुलिएको छ भने बिरामीलाई अस्पताल पुर्याउन स्थानीयले ठूलो कठिनाइ भोगिरहेका छन्।
- प्रतिनिधि सभामा सांसद नरेन्द्रकुमार केरुङले गम्भीर समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल वैकल्पिक मार्ग मर्मत गरी यातायात सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
३० असार, पाँचथर । मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली खण्डमा सडक भासिएका कारण केही दिनदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। यसबाट पूर्वी पहाडी जिल्लाहरू—इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दाहरूको जनजीवन नराम्ररी प्रभावित भएको छ।
माई खोलासँग जोडिएको राजदुवाली क्षेत्रमा बर्सेनि माटो भासिने मुख्य समस्या रहेको छ। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार मर्मतका प्रयासहरू जारी रहे पनि वर्षाका कारण उक्त खण्डलाई सञ्चालनमा ल्याउन कठिन भइरहेको छ। केही समयअघि भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले यस खण्डको स्थलगत अनुगमन गरे तापनि सडकको अवस्था भने ‘जस्ताको तस्तै’ छ।
राजमार्ग अवरुद्ध हुँदा स्थानीय क्षेत्रमा गम्भीर समस्याहरू सिर्जना भएका छन् । बिरामीलाई अस्पताल लैजान र आकस्मिक स्वास्थ्य उपचार सेवा पाउन ठूलो कठिनाइ भएको छ।
इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलका अनुसार खाद्यान्न, पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल) र एलपी ग्यास जस्ता दैनिक उपभोग्य एवं अत्यावश्यक सामग्रीको ढुवानी रोकिँदा बजारमा अभाव चुलिएको छ।
झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटार जोड्ने यो राजमार्गमा वर्षायाममा समस्या आएको यो पहिलो पटक होइन। विगतमा पाँचथरको पाङ्ग्रेभिर, रमिते तथा हेवा खोला पुलका कारण यस क्षेत्रका बासिन्दाले सास्ती खेपेका थिए भने पछिल्ला केही वर्षदेखि राजदुवाली खण्ड मुख्य समस्या बनेको छ। यति हुँदाहुँदै पनि सडकको दीर्घकालीन समाधानतर्फ सरकारको ध्यान पुग्न सकेको छैन।
मुख्य राजमार्ग बन्द भएपछि प्रयोगमा ल्याइएका वैकल्पिक सडकहरू पनि भरपर्दा छैनन् । तिलकेनी–सिमल गोलाई खण्ड अत्यन्तै कच्ची र दुरुह सडक हो, जहाँ सामान्य अवस्थामा ‘फोर ह्विलर’ जिप वा पिकअप गाडी मात्र निकै कष्टका साथ चल्न सक्छन्।
जोगमाई खोलामा बनाइएको डाइभर्सन पानी पर्नेबित्तिकै बग्ने गरेको छ। भारतबाट बेलिब्रिज उपलब्ध हुन नसकेका कारण जोगमाई र पुवा खोलामा बेलिब्रिज जडान गर्न नसकिएको सडक डिभिजन प्रमुख भट्टराईले जानकारी दिए। अर्को वैकल्पिक मार्गको रूपमा रहेको केचन–कञ्चनजङ्घा सडक पनि पुवा खोलामा पुल नहुँदा अवरुद्ध छ।
पाँचथर र ताप्लेजुङलाई धरान–इटहरीसँग जोड्ने तमोर करिडोरको नावा लगायतका खोलामा पुल नहुँदा ठुलो वर्षा हुनासाथ यातायात ठप्प हुने गरेको छ।
पूर्वी पहाडी जिल्लाका बासिन्दाले भोग्नुपरेको यो सास्तीको विषय प्रतिनिधि सभाको बैठकमा समेत प्रवेश पाएको छ। संसद्को आकस्मिक समयमा बोल्दै सांसद नरेन्द्रकुमार केरुङले सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले क्षेत्रमा ग्यास र इन्धनको चरम अभाव भएको उल्लेख गर्दै वैकल्पिक मार्गको रूपमा रहेको तिलकेनी–सिमल गोलाई खण्ड मर्मतका लागि आवश्यक बजेटसमेत नभएको भन्दै तत्काल ठोस कदम चाल्न सरकारसँग माग गरेका छन्।
प्रतिक्रिया 4