२५ असार, पाँचथर । पूर्वी पहाडी जिल्लाका प्रमुख राजमार्गको रुपमा रहेको मेची राजमार्ग र तमोर करिडरको सडक अवरोध हुँदा यातायात आवगामन रोकिएको छ ।
मेची राजमार्गको इलामको माइखोला नजिकको राजदुवालीमा सडक अवरुद्ध छ । यस्तै तमोर करिडोरको पाँचथर र धनकुटाको सिमाना बग्ने नावा खोलामा बाढी आएकाले यातायत ठप्प छ ।
मेची राजमार्ग अवरुद्ध हुँदा इलामको, पाँचथर, ताप्लेजुङ र तेह्थुमको आठराई क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । मेची राजमार्गको विकल्पकमा रहेको तमोर करिडोर पनि अवरुद्ध भएपछि समस्या उत्पन्न भएको छ । यसले गर्दा राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ ।
राजदुवालीको सडक खुलाउन प्रयास भईरहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले बताए ।
सडक भासिएको र पानी परिरहेकाले सडक कहिले खुल्ने भन्ने यकिन नभएको उनले बताए ।
केही वर्ष यता राजदुवालीमा हरेक वर्षामा समस्या हुने गरेको छ । पछिल्लो वर्षका पटक-पटकका विपद्का कारण मेची राजमार्ग थिलथिलो भएको छ । मेची राजमार्ग बर्खामा कार लगायतका साना गाडी कुदाउन नहुने अवस्थामा पुगेको छ ।
तमोर करिडोरको नावा खोलामा पुल नबनेकाले हरेक वर्ष समस्या हुने गरेको छ । तमोरमा आठवटा पुलको ठेक्का लागेपनि सम्पन्न नहुँदा वर्षायाममा समस्या भइरहेको छ ।
प्रतिक्रिया 4