News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू मानार्थ अध्यक्ष रहेको संस्थाका कर्मचारी डा. आस्था भट्टलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका छन् ।
- अर्थमन्त्री वाग्लेले राष्ट्रिय वाणिज्य बैंकका लागि डा. सुमन दाहाल, हुमबहादुर आले, घुरन ठाकुर, गंगाप्रसाद ज्ञवाली र लक्ष्मण ज्ञवालीलाई सञ्चालकमा नियुक्त गरेका छन् ।
- आफ्नै संस्थाका कर्मचारीलाई सरकारी बैंकको सञ्चालक बनाउँदा स्वार्थको द्वन्द्व सिर्जना हुने भन्दै उच्च सरकारी अधिकारीहरूले प्रश्न उठाएका छन् ।
३० असार, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आफू मानार्थ अध्यक्ष (चेयरम्यान एमिरिट्स) भएको संस्थाकै कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेका छन् ।
दुई महिनासम्म राष्ट्रिय वाणिज्य बैंकलाई सञ्चालक समितिविहीन राखेका अर्थमन्त्री डा. वाग्लेले ६ जना नयाँ सञ्चालक नियुक्त गरेका छन् । त्यसमध्ये एकजना सञ्चालकमा डा. आस्था भट्ट पनि छन् ।
डा. भट्ट सर्वाङ्गीण विकास अध्ययन केन्द्र (इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज –आईआईडीएस)की कर्मचारी पनि हुन् । उनी आईआईडीएसमा कार्यक्रम विशेषज्ञ (अर्थशास्त्र)का रुपमा कार्यरत छन् । दिल्ली स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी भट्ट सन् २०२२ देखि आईआईडीएसमा कार्यरत छिन् । त्यसअघि उनले पीडब्लूसीमा पनि काम गरेकी थिइन् ।
डा. वाग्ले मन्त्री बन्नुअघि आईआईडीएसकै अध्यक्षका रुपमा कार्यरत थिए । मन्त्री बन्ने भएपछि उनले अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिएका थिए भने संस्थाले उनलाई चेयरम्यान एमिरिट्समा नियुक्त गरेको थियो ।
अर्थमन्त्री डा. वाग्ले आफूले गर्ने नियुक्तिहरु मेरिटोक्रेसीमा आधारित हुने बताउने गर्छन् । त्यस्तै, स्वार्थको द्वन्द्वलाई रोक्न कानुन नै ल्याउने घोषणा पनि उनले गरेका थिए ।
तर, आफ्नै नेतृत्वको संस्थाको कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गर्नुले स्वार्थको द्वन्द्व हुने एक उच्च सरकारी अधिकारी नै बताउँछन् ।
स्वार्थको द्वन्द्व भनेको कुनै पद धारण गरेको व्यक्तिले व्यावसायिक काम गर्दा व्यक्तिगत, आर्थिक वा सामाजिक स्वार्थहरु देखिनु हो ।
राष्ट्रिय वाणिज्य बैंक नेपाल सरकारको पूर्ण स्वामित्व भएको बैंक हो, जो अर्थ मन्त्रालयमातहत रहने गर्छ । तालुक मन्त्रालयका मन्त्रीले आफू कार्यरत संस्थाको कर्मचारीलाई बैंकको सञ्चालक बनाएपछि उनले संस्थाको हितभन्दा पनि मन्त्रीको स्वार्थअनुरुप काम गर्नसक्ने जोखिम हुने ती सरकारी अधिकारीले बताए ।
अर्थमन्त्री वाग्लेले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेका अन्यमा डा. सुमन दाहाल, हुमबहादुर आले, घुरन ठाकुर, गंगाप्रसाद ज्ञवाली र लक्ष्मण ज्ञवाली छन् ।
डा. दाहाल अर्थ मन्त्रालयका सहसचिव हुन् । त्यस्तै, गंगाप्रसाद ज्ञवाली २०७९ देखि २०८० सम्म नेपाल बैंकको अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनलाई सरकारले अध्यक्षबाट हटाएपछि पनि सञ्चालकका रुपमा नेपाल बैंकमा काम गरेका थिए ।
त्यस्तै, ठाकुर कृषि विकास बैंकका लामो समय काम गरेका कर्मचारी हुन्, जो अहिले कन्सल्टन्सीको काम गरिरहेका छन् । त्यस्तै, अघिल्लै सरकारले नियुक्त गरेका लक्ष्मण ज्ञवाली अहिले पनि स्वतन्त्र सञ्चालकका रुपमा कार्यरत छन् ।
प्रतिक्रिया 4