News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्ट उपलब्ध गराउन तीन संस्थासँग समझदारी गरेको छ।
- समझदारीअनुसार वायुसेवा संचालक संघले उपत्यकाभित्र निःशुल्क र बाहिर न्यूनतम खर्चमा हेलिकप्टर सेवा दिने तथा ड्रोन र राफ्ट सेवा पूर्णतः निःशुल्क उपलब्ध गराइने भएको छ।
- प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपद् व्यवस्थापनमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै निजी क्षेत्रको सेवाभावप्रति आभार व्यक्त गर्नुभयो।
३० असार, काठमाडौं । विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी हेली, ड्रोन र र्याफ्टिङ उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा संचालक संघ, नेपाल ड्रोन संघ एवम् नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा) बीच समझदारी भएको छ ।
प्राधिकरणमा आयोजित एक कार्यक्रममा तीन संस्था र प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । वायुसेवा संचालक संघसँगको समझदारी अनुसार काठमाडौं उपत्यकाभित्र उडान गर्नु परे निःशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नु परे न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ ।
यसैगरी नेपाल ड्रोन संघसँगको समझदारी अनुसार विपद्को समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निःशुल्क रुपमा ड्रोन र तत्सम्बन्धी उपकरण (पाइलटसहित) उपलब्ध गराउनु पर्नेछ । सो कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने उल्लेख छ ।
यसैगरी नेपाल एसोसीएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा) सँगको समझदारी अनुसार विपद्को समयमा राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखी माग गरेमा नाराले निःशुल्क रुपमा राफ्ट र तत् सम्बन्धी उपकरण (जनशक्तिसहित) उपलब्ध गराउनु पर्ने उल्लेख छ । राफ्ट र जनशक्ति बाढी, डुबान तथा नदीजन्य विपद्मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायतका काममा प्रयोग गरिने समझदारी छ । यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरुरी हुने बताए । उनले सबैको हातेमालोबाट मात्रै विपद्लाई पार लगाउन सकिने भन्दै निजी क्षेत्रको सेवाभाव प्रति आभार व्यक्त गरे । यसैगरी वायुसेवा संचालक संघ, नेपालका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा)का निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको जिउधनको सुरक्षाका लागि आफूहरूले सकेको मद्दत गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।
उक्त अवसरमा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका उपसचिव फणिन्द्र प्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधिहरुको पनि उपस्थिति थियो ।
प्रतिक्रिया 4