+
+
Shares

कर्णालीमा कांग्रेसले तत्काल नयाँ मन्त्री बनाउँदैन : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
  • उपसभापति विश्वप्रकाश शर्माले पार्टीले तत्काल नयाँ मन्त्रीको नाम नपठाउने जानकारी दिनुभएको छ।
  • एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पालना नगरेकाले राजीनामा दिएको मन्त्री सुरेश अधिकारीले बताउनुभयो।

३१ असार, काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बनाउनका लागि तत्काल नयाँ नामहरु नपठाउने भएको छ ।

कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले बुधबार बिहान सामूहिक राजीनामा दिएका छन् । उनीहरुको स्थानमा तत्काल नयाँ मन्त्री बनाउने गरी नामहरु नपठाउने उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । ‘कांग्रेसबाट मन्त्री बनेका साथीहरुले राजीनामा दिनुभएको छ । कांग्रेसले तत्कालै नयाँ मन्त्री बनाउन सूची भने बुझाउँदैन,’ शर्माले भने ।

केही समय अघि कांग्रेस र एमाले वीचमा प्रदेश सरकार हेरफेरका लागि संवाद भएको थियो । बजेटपछि प्रदेश सरकार हेरफेर गर्ने गरी दुई पक्षको संवाद रोकिएको थियो । प्रदेश सरकारहरुले बजेट ल्याइसकेको हुँदा मुख्यमन्त्रीहरु परिवर्तनको चर्चा सुरु भएको छ । अन्य प्रदेश सरकार परिवर्तन गर्न छलफल हुँदा कर्णालीको पनि टुंगिने उपसभापति शर्माले जानकारी गराए ।

उपसभापति शर्मा विगतमा दुई दलका वीचमा भएको संवादकै निरन्तरताका रुपमा कर्णालीका मन्त्रीहरुले सामूहिक राजीनालाई बुझ्नुपर्ने बताए ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसबाट मन्त्री बनेकोहरु आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले आज राजीनामा दिएका हुन् ।

हाल कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले गरिरहेको छ । कँडेल मुख्यमन्त्री बन्दा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति दुई दलबीच भएको थियो । राजीनामा दिएका सुरेश अधिकारीले अनलाइनखबरसँग भने, ‘विगतमा हामीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर एमालेले त्यसमा इमान्दारिता नदेखाएकाले आज चारै जनाले राजीनामा दियौं ।’

कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला तत्कालीन माओवादीले समर्थन गरेको थियो । केन्द्रमा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेस–एमालेले प्रदेश सरकारमा समेत गठबन्धन गरेका थिए । सोही अनुसार २०८१ साल साउनमा कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?