News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले सरकार नागरिकका समस्या समाधान गर्न र प्रेस स्वतन्त्रताको रक्षा गर्न असफल भएको आरोप लगाएका छन्।
- सुवेदीले सञ्चारगृह अगाडि सवारी साधन राखेर गरिएको अवरोधलाई पञ्चायतकालीन मण्डले प्रवृत्ति र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको संज्ञा दिएका छन्।
- मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणलाई सुशासनको दाबी गर्ने सरकारको असफलता र गरिब तथा श्रमजीवी वर्गप्रतिको विभेदपूर्ण अवस्थाका रूपमा उनले चित्रण गरेका छन्।
३१ असार, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकार नागरिकका समस्या समाधानमा असफल भएको आरोप लगाएका छन् ।
सभाको बुधबारको बैठकमा बोल्दै नेता सुवेदीले सञ्चारगृहमाथिको अवरोध, नागरिकको आत्मदाह र सुकुमवासी समस्या समाधानमा सरकार असफल भएको आरोप लगाए ।
२९ असारमा कान्तिपुर मिडिया हाउस, अनलाइनखबर र हिमालय टेलिभिजनका साथै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन पार्किङ गरी अवरोध पुर्याइएको घटनाप्रति सुवेदीले आपत्ति जनाइन् ।
यस कार्यलाई पञ्चायतकालीन ‘मण्डले’ प्रवृत्ति र ‘भूमिगत गिरोह’ को सक्रियतासँग तुलना गर्दै उनले यसलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र मनोवैज्ञानिक आतंकको संज्ञा दिए ।
यस्ता गम्भीर घटनामा संलग्नलाई सामान्य जरिवाना मात्र गरेर छोडिएको भन्दै सरकारको कामकारबाहीमाथि उनले प्रश्न उठाए ।
२५ असारमा मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा गरेको आत्मदाहको घटनालाई सुवेदीले राज्यको असफलताको संकेतका रूपमा चित्रण गरे ।
नेता सुवेदीले भने, ‘सञ्चारगृहको मूल प्रवेशद्वारमा सवारीसाधन छाडेर सञ्चारकर्मीलाई त्रसित बनाउन खोजिएको छ । देखिने शासक असफल भएपछि नदेखिने शासक अर्थात् ‘डिप स्टेट’ सक्रिय भएको आभास भइरहेको छ । तपाईंको शासनमा गणेश नेपाली र विवेक मण्डलहरूले किन शरीरमा आगो लगाउनुपर्ने ? के यही हो सुशासन ? कून कार्यान्वयन गर्दा मानवतालाई पनि जीवित राख्न जरुरी छ ।’
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै सुवेदीले सुशासनको नारा दिएर आएको दल सरकारमा हुँदा पनि गरिब र श्रमजीवी वर्गले सास्ती भोग्नुपरेको टिप्पणी गरे ।
सडकमा दुई मिनेट गाडी रोकिँदा सर्वसाधारणले आत्मदाह गर्नुपर्ने तर शक्तिमा हुनेहरूको गाडी रोकिँदा ‘सिंहदरबार जलाउने’ धम्की आउने विभेदपूर्ण अवस्थाको उनले विरोध गरे ।
प्रतिक्रिया 4