News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले बारा पुगेर आन्दोलनरत मिटरब्याज पीडितहरूसँग भेट गर्दै सरकार समस्या समाधान गर्न गम्भीर रहेको बताएका छन्।
- उनले वर्तमान सरकार जनताबाट निर्वाचित भएको र पीडितहरूको माग पूरा गर्न हुबहु तयार रहेको प्रतिबद्धता जनाएका छन्।
- गृहमन्त्री गुरुङले विषयलाई अनावश्यक राजनीतीकरण नगरी स्पष्ट मागपत्रसहित प्रतिनिधि पठाएर वार्तामा आउन पीडितहरूलाई आग्रह गरेका छन्।
३२ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई भेटेर वर्तमान सरकार जनताको सरकार भएको र विगतका सरकारभन्दा फरक रहेको दाबी गरेका छन्। पीडितहरूलाई बिहीबार बारा पुगेर सम्बोधन गर्दै उनले सरकार समस्या समाधान गर्न गम्भीर रहेको र शंक नगर्न आग्रह गरेका हुन्।
विगतमा मन्त्रीस्तरमै भएका सम्झौताहरू पनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले आशंका व्यक्त गरेपछि गृहमन्त्री गुरुङले प्रश्न गरे, ‘तपाईंहरूको माझमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री आफैँ आएको छ। यत्रो आउँदा पनि विश्वास लाग्दैन ? पहिलाको सरकार भएको भए यसरी आउँथ्यो कोही ?’
उनले विगतका सरकारले पीडितका माग पन्छाउने गरेको तर वर्तमान सरकारले पीडितकै हितका लागि अपुग बुँदाहरू थप्न सुझाव दिइरहेको जिकिर गरे।
‘पहिले सरकार एकातिर र पीडित अर्कोतिर बस्थे, सरकारले ‘म यो गर्न सक्दिनँ‘ भन्थ्यो। तर हामीले त तपाईंहरूले बिर्सेका कुराहरू पनि थप्नुपर्छ भनेर भन्दै छौँ,’ उनले भने।
गृहमन्त्री गुरुङले काठमाडौँसम्म हिँडेर गए पनि अन्त्यमा भेट्ने मन्त्रालयमै भएको भन्दै आफू दुःख नदिन आफैँ आन्दोलनकारीलाई भेट्न आएको बताए। उनले आन्दोलनकारीलाई आफ्ना प्रतिनिधि छानेर सम्झौताका लागि पठाउन आग्रह गर्दै सरकार हुबहु माग पूरा गर्न तयार रहेको आश्वासन दिए।
‘यो नयाँ सरकार हो, तपाईंहरूले जिताएको हो। टीका लगाएर आएको सरकार होइन, तपाईंहरूले भोट हालेर पठाएको सरकार हो,’ गृहमन्त्री गुरुङले भने, ‘जब तपाईंहरूको सरकार तपाईंसँग यहाँ यसरी उभिएर तपाईंहरूकै बोली बोल्दै छ भने, तपाईंहरूले साथ दिनु पर्छ। यति भन्दा पनि मान्नुहुन्न भने त आफ्नो भोटमाथि आफैँले शङ्का गरेजस्तो हुन्छ।‘
साथै, उनले विषयलाई अनावश्यक राजनीतीकरण नगरी आफ्ना मागपत्र स्पष्ट रूपमा बुझाउन र प्रतिनिधिमार्फत संवादमा आउन पीडितहरूलाई आग्रह गरेका छन्।
मिटरब्याज पीडितलाई के भने गृहमन्त्री गुरुङले ?
सम्झौता लागु गरियो तर कहिल्यै कार्यान्वयन भएन। सम्झौता मन्त्रीसँग गर्दा पनि कार्यान्वयन भएन, बुझ्नुभयो ? भनेको मतलब के हो भने, हामीले पहिला कति आन्दोलन गरेर, कति बुँदे सम्झौता गर्दाखेरि पनि त्यो कार्यान्वयन नहुने पहिलाको कुरा हो। अहिलेको कुरा भनेको, तपाईंहरूले एउटा उदाहरणका रूपमा लिनुपर्छ कि नेपाल सरकार यसमा गम्भीर छ। किनभने, नेपाल सरकारका तर्फबाट, गृह मन्त्रालयको मन्त्री तपाईंहरूको माझमा आएको छ। यत्रो आउँदा पनि तपाईंहरूलाई विश्वास लाग्दैन र पहिलाको सरकारजस्तै हो भन्ने तपाईंहरूलाई लाग्छ भने चाहिँ यसमा हाम्रो भन्नु केही पनि छैन। विश्वास त गर्नुपर्यो नि त आफ्नै सरकारमाथि !
पहिलाको सरकार भएको भए यसरी आउनुहुन्थ्यो ? यसरी आउँथ्यो कोही ? हामीले कति आन्दोलन गर्यौँ, कोही आएन। नेपाल सरकारको प्रतिनिधि भएर आइरहेको यस्तो समयमा, नेपाल सरकारको बोली बोल्दै गर्दा मैले यत्तिकै बोलेको त होइन होला नि ! मैले पनि मनैदेखि काम गरेर, कतिपय बुँदाहरू उहाँहरूले बिर्सिनुभएको थियो, ‘यी बुँदाहरू थप, यी बुँदाहरू थप्यो भने तपाईंहरूलाई राम्रो हुन्छ‘ भनेर नेपाल सरकारको तर्फबाट भनिरहेको छु। कसैले तपाईंहरूको राम्रोका लागि हुन्छ, यस्तो-यस्तो गर्नुपर्छ भनेर मैले थपिदिएको छु।
नत्रभने जहिले पनि के हुन्थ्यो भन्दा, पीडितहरूले एउटा माग राख्थे, नेपाल सरकार एकातिर बस्थ्यो, पीडितहरू अर्को ठाउँमा बस्थे र सरकारले भन्थ्यो- ‘हैन, म यो गर्न सक्दिनँ, यो गर्न सक्दिनँ।‘
हामीले चाहिँ के भनेका छौँ भने- ‘हैन, यो थप, त्यो पनि थप, यो पनि थप्नुपर्छ, तिमीहरूले बिर्सेका छौ‘ भनेर हामीले भन्दै छौँ नि यहाँ त उहाँहरूलाई ! भनेको मतलब के हो ? हामी, नेपाल सरकार, गम्भीर भएर हो नि त यो ! त्यही भएर हामीले अहिले गर्न सक्ने भनेको तपाईंहरूले प्रतिनिधि बोलाउनुहोला, पठाउनुहोला। हामीले बोलेको कुरा अहिलेसम्म पूरा नगरेको भन्ने छैन।
यो नयाँ सरकार हो, तपाईंहरूले जिताएको हो; टीका लगाएर आएको सरकार होइन, तपाईंहरूले भोट हालेर पठाएको सरकार हो। जब तपाईंहरूको सरकार तपाईंसँग यहाँ यसरी उभिएर तपाईंहरूकै बोली बोल्दै छ भने, तपाईंहरूले साथ दिन सक्नुहुँदैन भने आफ्नो भोटमाथि आफैँले शङ्का गरेजस्तो हो त्यो।
त्यही भएर तपाईंहरूका प्रतिनिधिहरू तपाईंहरू नै छान्नुस्, पठाउनुस्। ‘हामी हुबहु तयार छौँ‘ भनेर हामीले भनिरहेका छौँ। अझै पनि तपाईंहरूले गरेका मागहरूमा हामी तयार छौँ भनेर भनिरहेका छौँ। कुनै कुरा घटाउने भनेर हामीले भनेका छैनौँ, बरु त्यसमा सच्याउनुपर्ने छ भनेर हामीले भनिरहेका छौँ, भनेको मतलब शब्द सच्याउनुपर्ने छ।
भनेको मतलब के हो ? तपाईंहरूको मागलाई अझै हामीले समर्थन गरेको हो नि त ! अब यत्रो भन्दा पनि मान्नुहुन्न भने त आफ्नो भोटलाई तपाईंले शङ्का गरेजस्तो हो त्यो। त्यही भएर हाम्रो तर्फबाट हामी खुला छौँ। नेपाल सरकार जनताको सरकार हो, तपाईंहरूको सरकार हो। तपाईंहरूले यसै भएर भोट हाल्नुभएको यसपालि, हो कि होइन ? ‘हामी धेरै पीडामा पर्यौँ, यसपालि चाहिँ नयाँलाई मौका दिनुपर्छ‘ भनेर तपाईंहरूले भोट हाल्नुभएको हो। अनि अझै पनि हामीले तपाईंको काम गर्न सक्छौँ भनेर नेपाल सरकारमा बसिरहेका छौँ।
त्यही भएर हाम्रो तर्फबाट हामी खुला छौँ। यो तपाईंहरूको सरकार हो, म बारम्बार भनिरहेको छु। तपाईंहरू आफ्ना प्रतिनिधिहरू पठाउनुस्, सम्झौता हुन्छ, नेपाल सरकारको मन्त्रीले बोलिरहेको छ। अब मन्त्रीको विश्वास लाग्दैन भने कसको विश्वास गर्नुहुन्छ ?
तपाईंहरू हिँडेर गए पनि ठोक्किने मैसँग हो फेरि। काठमाडौँसम्म तपाईंहरू हिँडेर जानुहुन्छ, लास्टमा गएर भेट्ने मलाई नै हो। अनि के फाइदा भयो त ? म आफैँ यहाँ तपाईंहरूलाई भेट्न आइरहेको छु। उता गएर तपाईंले मलाई भेट्ने हो, म यता आएर तपाईंहरूलाई भेटिरहेको छु। किन दुःख गर्नुहुन्छ, हैन ?
अब हाम्रो कुरा यति हो। तपाईंहरूको माग सम्बोधन गर्नका लागि, तपाईंहरूले आफ्ना मागहरू आफैँ कोर्नुभएको छ, तर तपाईंहरूलाई नै आफ्ना मागहरू थाहा छैन जस्तो लागिरहेको छ मलाई अझै पनि। एकचोटी तपाईंहरूले आफ्ना मागहरू आफ्ना प्रतिनिधिबाट पढेर सुनाउनुपर्यो। एकछिन सुनाउनुपर्यो।
(एकजना आन्दोलनकारीलाई देखाउँदै) भाइले यस्तो गरेर भन्नुभएन, राजनीति नगरौँ भाइ यसरी। यो मज्जा आएन। भाइले चाहिँ भन्नुपर्यो- ‘हाम्रो माग यो-यो छ, अहिलेको तत्कालको समस्या हामीले यसरी समाधान गर्ने‘, बुझाउनुपर्यो नि त ! अनि बल्ल पो बुझिन्छ त ! बुझेकै छैन, अनि माग कसरी सम्बोधन भयो भनेर भनिरहनुभएको छ, हैन ?
माग बुझ्नुपर्यो के, बुझाउनुपर्यो नि त तपाईंहरूले लेखेको माग त ! मागपत्र सुनाएको छैन, अनि कसरी सम्झौता भयो भन्ने कुरा आउँछ ? हैन त ? तपाईंहरूको पत्र खै ल्याइउनुहोस् ।‘
प्रतिक्रिया 4