News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सफल नेपाली फिल्म ‘शक्ति’ अब प्लेक्स, फअसम र टुबीमा निःशुल्क हेर्न सकिने भएको छ ।
- नानी साह्रा वाकरद्वारा निर्देशित फिल्मले नेपालको न्याय प्रणाली र एकल आमाको संघर्षलाई सशक्त रूपमा चित्रण गरेको छ ।
- फिल्मले सात पुरस्कार जित्नुका साथै १० वटा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भई विश्वव्यापी रूपमा प्रशंसा बटुल्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सफलता हासिल गरेको नेपाली फिल्म ‘शक्ति’ लाई अब ओटीटी प्लाटफर्महरू ‘प्लेक्स’ र ‘फअसम’ मा निःशुल्क हेर्न सकिने भएको छ । अमेरिका र क्यानडाका दर्शकले ‘टुबी’मा हेर्न सक्नेछन् ।
अस्कर अवार्ड विजेता फिल्ममेकर नानी साह्रा वाकरले निर्देशन गरेको ‘शक्ति’ एकल आमाको कथा हो । आफ्नी छोरीसँग जोडिएका रहस्यमय घटनाको उत्तर खोज्ने क्रममा उनले नेपालको न्याय प्रणालीसँग संघर्ष गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय महोत्सव यात्राका क्रममा ‘शक्ति’ १० वटा महोत्सवमा प्रदर्शन भएको छ । फिल्मले सात पुरस्कार जित्नुका साथै तीन विधामा मनोनयन प्राप्त गरेको छ ।
‘शक्ति’ले हार्टल्याण्ड अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट कथात्मक प्रिमियर पुरस्कार र रिचर्ड डी. प्रोप्स कथात्मक सामाजिक प्रभाव पुरस्कार जितेको थियो ।
हालै यसले नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट नेपाली पानोरमा पुरस्कार प्राप्त गरेको छ ।
डेडलाइनका अनुसार निर्देशक वाकरले सन् २०२६ को बेस्ट अफ न्युफिल्ममेकर्स लस एन्जलस अवाड्र्समा उत्कृष्ट चलचित्रकर्मीको सम्मान प्राप्त गरेकी छन् ।
यो फिल्म सान्टा बारबरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, क्यामफेस्ट र भारतको गोवामा आयोजित भारतीय अन्तर्राष्ट्रिय चलचित्र महोत्सव लगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शन भइसकेको छ ।
गत महिना भेराइटीले ‘शक्ति’को अमेरिका र बेलायतमा अमेजन प्राइम भिडियोमार्फत डिजिटल प्रदर्शन सुरु भएको घोषणा गरेको थियो । निःशुल्क विश्वव्यापी स्ट्रिमिङ सुरु भएसँगै फिल्म फराकिलोरुपमा अन्तर्राष्ट्रिय दर्शकमाझ पुगेको छ ।
‘यस यात्राको सबैभन्दा सन्तोषजनक पक्ष दर्शकले चलचित्रसँग गहिरो सम्बन्ध महसुस गरेको देख्नु हो,’ निर्देशक वाकरले भनिन्, ‘यद्यपि ‘शक्ति’ नेपालको परिवेशमा आधारित कथा हो, यसले परिवार, शक्ति, उपचार र न्यायबारे उठाएका प्रश्नले विभिन्न संस्कृति र समाजका दर्शकसँग पनि सम्बन्ध स्थापित गरेका छन् । चलचित्रलाई विश्वभर निःशुल्क उपलब्ध गराउँदा यी संवाद अझ धेरै मानिससम्म पुग्ने अवसर मिलेको छ ।’
तीव्र रूपमा परिवर्तन भइरहेको नेपालको परिवेशमा आधारित ‘शक्ति’ले जातीय विभेद, लैङ्गिक हिंसा, भ्रष्टाचार र संघर्षशीलताका विषय उठाएको छ । नेपालमा कुनै समय यौन हिंसासम्बन्धी मुद्दा दर्ता गर्न केवल ३५ दिनको हदम्याद रहेको यथार्थबाट प्रेरित फिल्मले असमानताका संरचनामाथि बहस सिर्जना गर्दै त्यसविरुद्ध जुध्ने व्यक्तिहरूको साहस र दृढतालाई केन्द्रमा राखेको छ ।
बफेलो एटले वितरण गरेको ‘शक्ति’ अहिले विश्वभर प्लेक्स र फअसम तथा अमेरिका र क्यानडामा टुबीमार्फत निःशुल्क हेर्न सकिन्छ । चलचित्र अमेजन प्राइम भिडियोमा भाडामा लिएर वा खरिद गरेर पनि हेर्न सकिनेछ ।
निर्देशक वाकर सन् २०२४ मा बेस्ट डकुमेन्ट्री सर्ट विधामा पुरस्कार जितेको ‘द लास्ट रिपेयर सप’ की कार्यकारी निर्मात्री थिइन् ।
प्रतिक्रिया 4