News Summary
Generated by OK AI. Editorially reviewed.- बजारमा नक्कली र चोरी पैठारी गरिएका जुत्ताचप्पलको कारोबार बढेको भन्दै सरकारले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामाजिक सञ्जाल र भौतिक पसल दुवैमा हुने यस्तो अवैध बिक्री रोक्न निर्देशन दिएको छ ।
- विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार वस्तुको लेबल, पैठारी र बिक्रीमा कानुनी मापदण्ड पालना गर्न सबै व्यवसायीलाई सचेत गराएको छ ।
१ साउन, काठमाडौं । बजारमा गैरकानुनी रूपमा नक्कली, गुणस्तरहीन र चोरी पैठारी गरिएका जुत्ताचप्पल (फुटवेयर) कारोबार बढेको भन्दै सरकारले कारबाहीको चेतावनी दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै यस्तो अवैध कार्य नगर्न र नगराउन सचेत गराएको छ ।
विभागका अनुसार पछिल्लो समय बजारमा लेबल नभएका, प्रख्यात ब्रान्डका नाममा बनेका नक्कली सामान र कम गुणस्तरका जुत्ताचप्पल बिक्री वितरण भइरहेको भनी विभिन्न माध्यमबाट उजुरी र गुनासा प्राप्त भएका छन् ।
यस्ता सामान भौतिक पसलबाट मात्र नभई सामाजिक सञ्जाल र विभिन्न डिजिटल प्ल्याटफर्म (अनलाइन सपिङ) मार्फत समेत व्यापक बिक्री भइरहेको पाइएको विभागले जनाएको छ ।
चोरी पैठारी गरी ल्याइएका यस्ता सामानले स्वस्थ प्रतिस्पर्धामा बाधा पुर्याउनुका साथै उपभोक्ता ठगिएको विभागको ठहर छ ।
विभागले उपभोक्ता संरक्षण ऐन २०७५ का विभिन्न दफा स्मरण गराउँदै व्यवसायीलाई आफ्नो दायित्व भुल्न नहुने सचेत गराएको छ । ऐनको दफा ६ अनुसार उत्पादक आफूले उत्पादन गरेको वस्तुमा अनिवार्य रूपमा तोकिए बमोजिमको लेबल लगाउनुपर्ने व्यवस्था छ ।
त्यसैगरी ऐनको दफा ८ मा पैठारीकर्ता (इम्पोर्टर) ले वस्तु आयात गर्दा कानुनी सर्त पूरा गर्नुपर्ने र दफा ११ मा वस्तु बिक्री गर्ने विक्रेताको विशेष दायित्व हुने व्यवस्था छ ।
उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने संवैधानिक र कानुनी अधिकार सुनिश्चित गर्न यी प्रावधान पूर्णपालना हुनुपर्ने विभागको भनाइ छ ।
विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता (गोदाम सञ्चालक) र खुद्रा विक्रेतासम्मलाई कानुनी दायित्व र सर्त बन्देज परिपालना गर्न निर्देशन दिएको छ ।
यदि कसैले प्रचलित कानुन विपरीत नक्कली सामान बेच्ने, चोरी पैठारीलाई प्रश्रय दिने वा उपभोक्ता हित विपरीतका कार्य गरेको पाइए ऐन बमोजिम कडा कारबाही गरिने विभागको चेतावनी छ ।
प्रतिक्रिया 4