४ साउन, काठमाडौं । साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् ।
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।
पूजाआजा गर्नेहरुको पशुपति मन्दिरमा बिहानैदेखि घुइँचो छ । भक्तजनको घुइँचोलाई मध्यनजर गरी पशुपतिका चारवटै ढोका खुला राखिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार आज बिहान ३ बजेदेखि नै चारढोका खुला छन् ।
पशुपतिनाथ दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको उनको भनाइ छ । तर पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकताअनुसार भने काम गर्न नसकिएको पनि उनले स्वीकार गरे ।
विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यस पटकको साउन महिनामा चार वटा सोमवार परेको छ ।
यसैबीच सोमबारदेखि नै देशका विभिन्न भागमा बोलबम यात्रा सुरु भएको छ । काठमाडौंको पशुपति र चितवनको देवघाटमा बोलबम मेला भर्नका लागि नेपालका अधिकांश जिल्लाका अतिरिक्त छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
प्रतिक्रिया 4