News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापन पक्षले इतर पक्षद्वारा प्रस्तुत पाँच बुँदे प्रस्तावमध्ये चारवटा बुँदामा सहमति जनाएको छ ।
- सभापति गगन थापाले १४औं महाधिवेशनका पदाधिकारीलाई विशेष महाधिवेशनबाट आएको समितिसँग एकमुष्ट समायोजन गर्न विधानले नमिल्ने स्पष्ट पारे ।
- क्रियाशील सदस्यता अद्यावधिक र १५औं महाधिवेशनको कार्यतालिका विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताए ।
४ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष इतर पक्षले ल्याएको पाँच बुँदे प्रस्तावको एउटा बुँदा बाहेक अन्य बुँदामा सकारात्मक देखिएको छ ।
१४औं महाधिवेशबाट समितिमा आएका तर विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूलाई एकमुष्ट वर्तमान समितिमा समायोजन गर्नुपर्ने प्रस्ताव स्वीकार्न नसकिने संस्थापन पक्षको भनाइ छ । अन्य प्रस्तावमा भने सहमति खोज्न सकिने महामन्त्री गुरुराज घिमिरेले बताए ।
संस्थापन इतरले आइतबार पत्रकार सम्मेलन गरी दुई पक्षको एकताका लागि पहिलो प्रस्ताव १४औं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको समितिसँग एकीकृत गर्नु पर्ने रहेको छ । तर सबैलाई एकमुष्ट समायोजन गर्न विधानले नदिने महामन्त्री घिमिरेले बताए ।
उनले अनलाइनखबरसँग भने, ‘१४औं महाधिवेशनबाट बनेको समितिका सबैलाई समायोजन गर्न विधानसम्मत हुँदैन । यो विशेष महाधिवेशनबाट पनि पछाडि सर्ने कुरा हुन्छ ।’
पार्टीभित्र यो प्रस्तावका सन्दर्भमा दुई पक्षमा औपचारिक र अनौपचारिक संवादहरू भएका थिए । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला पक्षका १११ जना केन्द्रीय सदस्य थपेर पार्टी भित्रको विवाद मिलाउनुपर्ने उक्त पक्षको अडान छ ।
अर्को पक्षमा भएका नेताहरूलाई एकमुष्ट वर्तमान समितिमा गाभ्न विधानले नदिने भन्दै यो प्रस्ताव स्वीकार्न नसकिने सभापति गगन थापाको अडान छ । संस्थापन इतरबाट आएको यो प्रस्ताव स्वीकार्न नसकिने सभापति थापाले केही दिनअघि पार्टीको आन्तरिक संवादमा बताएका थिए ।
‘विधानले जुन कुरा दिँदैन, त्यो कुरा मैले चाहेर पनि गर्न सक्दिनँ । विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय समिति बनिसक्यो,’ सभापति थापा भन्छन्, ‘सभापतिको हैसियतले पार्टीका सबै पक्षलाई मिलाउने र सबैलाई अपनत्व महसुस गराउने मुख्य जिम्मेवारी मेरो र यो कार्यसमितिको हो । पार्टीको विधि, विधान र प्रक्रियाभन्दा बाहिर जाने छुट हामी कसैलाई छैन र हुनु हुँदैन ।’
संस्थापन इतरले राखेका अन्य चार प्रस्तावहरूप्रति भने संस्थापन पक्ष सकारात्मक देखिएको छ । नेता डा. शेखर कोइरालामार्फत यसअघि आएकै प्रस्तावहरूसहित संस्थापन इतरले सहमतिका लागि आफ्ना एजेन्डाहरू राखेको छ । सभापति थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउनुपर्ने नेता कोइरालाको प्रस्तावलाई पुनः अघि सारिएको छ ।
महामन्त्री घिमिरेले यो प्रस्ताव यसअघि पनि आएको र सकारात्मक रहेको प्रतिक्रिया दिए ।
संस्थापन इतरले राखेको तेस्रो प्रस्ताव १५औं महाधिवेशनको नयाँ कार्यतालिका घोषणा गर्ने प्रस्तावमा पनि संस्थापन लचिलो छ । संस्थापन इतरले राखेको ‘पुनर्गठित केन्द्रीय कार्यसमिति’ले महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने प्रस्तावको पक्षमा नरहेको संस्थापन आपसी संवादमा नयाँ कार्यतालिका घोषणा गर्न भने सहमत छ ।
सभापति थापाले महाधिवेशनको मितिबारे छलफल गर्न सकिने सार्वजनिक रूपमै धारणा राखेका छन् । अर्को पक्षका सबै नेताहरू ‘थपेर पुनर्गठित केन्द्रीय समिति’ बनाएर महाधिवेशनको नयाँ मिति तोक्न भने संस्थापन पक्ष तयार देखिएको छैन । १५औं महाधिवेशनको मिति असोजमा गर्ने गरी कार्यतालिका बनाइएको छ ।
संस्थापन इतरले राखेको चौथो प्रस्तावमा ‘वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने’ उल्लेख छ । यो प्रस्ताव सभापति थापाले उठाउँदै आएको विषय हो ।
महाधिवेशन केन्द्रित समितिमा कोको राख्ने त्यसमा छलफल गर्न सकिने सभापतिले पटकपटक दोहोर्याएका छन् । विगतमा संस्थापन पक्षको बहुमत हुने गरी समितिहरू बन्दै आएका थिए । संस्थापनकै बहुमत हुने गरी समिति बनाउने प्रस्ताव संस्थापन इतरले अघि सारेको छ ।
प्रेमबहादुर खड्काको नेतृत्वमा महाधिवेशन केन्द्रित निर्वाचन समिति गठन गरिएको छ । खड्का नेतृत्वको निर्वाचन समितिमा सदस्य सचिवमा राजु कटुवाल र सदस्यमा सुजन लोप्चन नियुक्त भएका छन् । निर्वाचन समितिमा एक पद रिक्त छ ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वले तारामान गुरुङको नेतृत्वमा अनुशासन समिति गठन गरेको छ । यो समितिको सदस्यहरूमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली छन् ।
अनुशासन समितिमा पनि एक पद रिक्त छ । भरत शाहको नेतृत्वमा रहेको लेखा समितिमा दिलिप ढुंगाना, रमेश नेपाल र पदम भट्टराई सदस्य छन् । लेखा समितिमा एक पद रिक्त छ ।
कांग्रेसभित्र दुई पक्षमा थप विवाद सिर्जना गरेको विषय हो- सदस्यता अद्यावधिक । गत वैशाख १ गतेबाट सबै सदस्य अनिवार्य अद्यावधिक गर्नुपर्ने निर्णय पार्टीले गरेपछि संस्थापन इतर रुष्ट बनेको थियो । सभापति थापा अद्यावधिक गराउनै पर्ने अडानमा थिए ।
पार्टी सदस्यले अद्यावधिक नगर्नु विधानको बर्खिलाप हुने भन्दै यो निर्णयबाट पछि नहट्ने अडान सभापति थापाले लिएका थिए । अद्यावधिककै विषयलाई लिएर संस्थापन इतरले आइतबार राखेको प्रस्तावमा छलफल गर्न सकिने महामन्त्री घिमिरेले बताए ।
अद्यावधिकको सन्दर्भमा संस्थपन इतरले राखेको प्रस्तावमा भनिएको छ, ‘महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५औं महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने-नपाउने विषयसँग नजोड्ने ।’
डिजिटल इन्ट्रीको व्यवस्थालाई संस्थापन इतरले स्वीकारेको हुँदा यो प्रस्तावप्रति नकारात्मक हुनुपर्ने कारण नरहेको महामन्त्री घिमिरेले बताए ।
संस्थापन इतरले आइतबार सार्वजनिक गरेका प्रस्तावको अतिरिक्त वैकल्पिक प्रस्तावहरू पनि आएको महामन्त्री घिमिरेले जानकारी गराए । उक्त वैकल्पिक प्रस्तावमा सभापति थापाको नेतृत्वमा राजनीतिक संयन्त्र बनाउनु पर्नेछ ।
संस्थापन इतरबाटै आएको यो प्रस्तावमा पनि छलफलहरू भइरहेको महामन्त्री घिमिरेले जानकारी गराए । ‘निकास निकाल्नका लागि छलफल भइरहेका छन् । छलफल सकारात्मक छन्,’ महामन्त्री घिमिरेले भने ।
१५औं महाधिवेशनमा पार्टीभित्रका सबै पक्ष सहभागी हुने गरी वातावरण बन्दै गएको संस्थापन पक्षको दाबी छ । सोमबार पत्रकार सम्मेलनको क्रममा उपसभापति विश्वप्रकाश शर्माले उक्त दाबी गरेका थिए ।
उपसभापति शर्माले भने, ‘१५औं महाधिवेशनमा सबै सहभागी बन्ने वातावरण बनाएर जानुपर्छ भनेर संवादहरू भइरहेका छन् । यो संवाद सकारात्मक ढंगले टुंगिन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।’
प्रतिक्रिया 4