+
+
Shares

सरकारको दाबी– अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते ७:१६

८ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरेको जनाएको छ ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो । कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो ।

सोही निर्णयअनुसार त्यसबेला नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए । तर, ती वेबसाइट बन्द भए पनि नयाँ नाम र नयाँ ठेगानामा फेरि सञ्चालनमा आउने क्रम भने रोकिएको थिएन ।

प्राधिकरणका अनुसार यो वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा यस्ता एप र वेबसाइट बन्द गरिएका छन् ।

विश्वकपका बेला अनलाइन बेटिङको प्रयोग बढ्न सक्ने आकलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यस विषयलाई विशेष प्राथमिकतामा राखेको थियो । त्यसपछि प्राधिकरणले निगरानी र कारबाहीलाई थप तीव्र बनाएको हो ।

यसका लागि गठन गरिएको कार्यदलमा रहेका दूरसञ्चार प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिलाई प्राधिकरणमै राखेर शंकास्पद वेबसाइट तत्काल अवरुद्ध गर्ने व्यवस्था मिलाइएको थियो ।

उनका अनुसार आईएसपीसँगको समन्वयमा यस्ता वेबसाइटका यूआरएल (वेब ठेगाना) अवरुद्ध (ब्लक) गरिन्छ । तर एउटा वेबसाइट बन्द गरेलगत्तै अर्को नयाँ वेबसाइट सञ्चालनमा आउने भएकाले यो प्रक्रिया निरन्तर चलिरहनुपर्ने चुनौती छ ।

‘जति नयाँ वेबसाइट खुल्दै जान्छन्, त्यति नै पहिचान गरेर बन्द गर्दै जानुपर्छ,’ महतोले भने, ‘यसका लागि थ्रेट इन्टेलिजेन्स टुल प्रयोग गरेर त्यस्ता वेबसाइट खोज्ने (हन्टिङ गर्ने) काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?