+
+
Shares

विद्यार्थीलाई गृहकार्य : आवश्यकता कि बोझ ?

विद्यालयमा लामो समय पढेर घर फर्केपछि पनि घण्टौंसम्म गृहकार्य गर्नुपर्दा बालबालिका मानसिक रूपमा थकित हुन्छन् । यसले उनीहरूमा तनाव र पढाइप्रति वितृष्णा पैदा गर्न सक्छ ।

डा बलराम तिमल्सिना डा बलराम तिमल्सिना
२०८३ साउन ९ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यालयमा सिकेको ज्ञानलाई सुदृढ र दिगो बनाउन गृहकार्य शिक्षण सिकाइ प्रक्रियाको एउटा अपरिहार्य र अभिन्न अङ्गका रूपमा रहेको छ।
  • अत्यधिक गृहकार्यले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले उनीहरूको उमेर र क्षमताअनुसार सन्तुलित गृहकार्य दिनुपर्ने आवश्यकता छ।
  • प्राध्यापक ह्यारिस एम. कुपरले विद्यार्थीको उमेर र तहअनुसार दैनिक १० देखि १५० मिनेटसम्मको गृहकार्य उपयुक्त हुने १० मिनेटको नियम प्रस्ताव गर्नुभएको छ।

मेरी नातिनी कक्षा ६ मा पढ्छिन् । कहिलेकाहीँ म उनलाई लिन विद्यालय जाने गरेको छु ।

केही दिनअघि विद्यार्थी छुट्नु १० मिनेट अगावै विद्यालय पुगेकोले केही समय नातिनीलाई बाहिर पर्खनुपर्‍यो । त्यहाँ अरू अभिभावक पनि भएकाले विद्यार्थीलाई दिइने गृहकार्यबारे छलफल हुँदै थियो । कोही भन्दै हुनुहुन्थ्यो– बालबालिकालाई गृहकार्य बढी भयो । कसैको तर्क थियो– ठिकै छ, यति त चाहिन्छ, नत्र उफ्रेर खप्न दिँदैनन् ।

विद्यार्थीलाई दिइने गृहकार्यबारे राम्रो सिकाइ उपलब्धि भएका देशको अभ्यास के छ ? अध्ययन, अनुसन्धानले के भन्छ ? शिक्षा क्षेत्रका अनुभवीहरूको धारणा के छ ? यिनै विषयमा माध्यमिक तहका केही शिक्षक र विद्यार्थीसमेतसँगको छलफलपछि यो लेख तयार गरिएको हो ।

विद्यालय शिक्षाको सन्दर्भमा गृहकार्य शिक्षण सिकाइ क्रियाकलापको एक अपरिहार्य र अभिन्न अङ्गको रूपमा रहेको छ । विद्यालयमा सिकेका ज्ञान र सिपलाई अभ्यास गर्ने, स्मरण गर्ने र बालबालिकाको सिकाइ क्षमताको विकास गर्ने माध्यमको रूपमा गृहकार्यलार्ई लिइन्छ ।

तर, गृहकार्यको आवश्यकता, यसको मात्रा र विद्यार्थीहरूमा पर्ने प्रभावका बारेमा शिक्षा क्षेत्रमा निकै लामो समयदेखि बहस हुँदै आएको छ । यो लेखमा बालबालिकालाई गृहकार्य दिने कि नदिने, दिए कति मात्रामा दिने र यसले बालबालिकालाई कस्तो प्रभाव पार्छ भन्ने विषयमा चर्चा गरिन्छ ।

गृहकार्य किन आवश्यक छ ?

अमेरिकी शिक्षाविद् अल्फी कोन विद्यार्थीलाई गृहकार्य दिने परिपाटीको कडा विरोध गर्छन् । गृहकार्यले बालबालिकालाई अतिरिक्त बोझ थप्छ र पारिवारिक तथा व्यक्तिगत समयबाट टाढा गराउँछ । उनको दृष्टिकोणमा अतिरिक्त विद्यालयको कार्यभन्दा आराम, खेलकुद र मनोरञ्जनलाई प्राथमिकता दिनुपर्छ । उनको तर्क छ, ‘प्राथमिक तहका विद्यार्थीहरूका लागि गृहकार्यले शैक्षिक उपलब्धिमा सुधार ल्याउँछ भन्ने कुनै प्रमाण छैन ।’

अल्फी कोन जस्तै गृहकार्य नै दिनु हुँदैन भन्ने शिक्षाविदहरू कमै पाइन्छन् । वास्तवमा विद्यार्थीका लागि गृहकार्य विद्यालयको समय सकिएपछिको निरन्तर सिकाइ प्रक्रिया हो ।

कक्षामा शिक्षकले पढाएको कुरा एक पटक सुनेर मात्र विद्यार्थीको दिमागमा पूर्ण रूपमा बस्दैन । जब विद्यार्थीहरू घरमा गएर त्यही विषयमा गृहकार्य गर्छन्, तब विद्यालयमा सिकेको विषयवस्तुको पुनरावृत्ति हुन्छ र उनीहरूले पढेको कुरा राम्रोसँग बुझ्छन् र ज्ञान स्थायी बन्छ । यसले सिकाइलाई सुदृढ पार्न मद्दत गर्छ । कक्षाकोठाको सिकाइलाई बलियो बनाउँछ र दिगो बनाउँछ ।

गृहकार्य प्राय: विद्यार्थीले एक्लै गर्नुपर्ने हुन्छ । जसका कारण विद्यार्थीहरूलाई आफैं अध्ययन गर्ने बानीको विकास गर्छ । नियमित रूपमा गृहकार्य गर्दा विद्यार्थीमा समय व्यवस्थापन गर्ने, अनुशासित बन्ने र आत्मनिर्भर हुने बानीको विकास हुन्छ ।

गृहकार्यको माध्यमबाट विद्यार्थीको प्रगति मूल्याङ्कन गर्न पनि सजिलो हुन्छ । विद्यार्थीले पढेको विषय कत्तिको बुझेका छन्, त्यसलाई आफ्नै भाषा र शैलीमा कत्तिको व्याख्या विश्लेषण गर्न सक्छन् भनेर शिक्षकले सजिलै थाहा पाउन सक्छन् । विद्यार्थीले गृहकार्यमा गरेका गल्ती कमजोरी पहिचान गरेर उनीहरूलाई थप मद्दत गर्न र पृष्ठपोषण दिन शिक्षकलाई सहज हुन्छ ।

खासगरी प्राथमिक तहका बालबालिकाको गृहकार्यमा अभिभावक पनि संलग्न हुन्छन् । जसले अभिभावक र सन्तानबीचको अन्तर्क्रिया बढाउँछ । बालबालिका र अभिभावकबीचको सम्बन्ध सुमधुर बनाउँछ र घरमा पढ्ने सकारात्मक वातावरण सिर्जना गर्न मद्दत गर्छ ।

विद्यालयबाट फर्केपछिको पूरै समय खाली हुने हो भने बालबालिका कुलतमा फस्ने, सामाजिक सञ्जालको लत लाग्ने, आवश्यकभन्दा बढी समय खेलकुदमा बिताउने जस्ता नकारात्मक बानीको विकास हुन सक्छ । त्यसैले गृहकार्यले विद्यार्थीलाई फुर्सदको समयको सही सदुपयोग गर्न सिकाउँछ ।

गृहकार्य सम्बन्धमा एक अनुसन्धानले भन्छ– गृहकार्यले बालबालिकामा जवाफदेहिता, स्वतन्त्रता, अनुशासन, समय व्यवस्थापन, स्वनिर्देशन, समालोचनात्मक चिन्तन र समस्या समाधान गर्ने सिपको विकास गर्छ ।

गृहकार्र्य सिकाइलाई मजबुत बनाउने र विद्यार्थीको बुझाइमा सुधार गर्ने मूल्यवान साधनका रूपमा लिन्छन्, सामुदायिक विद्यालयका शिक्षकहरू । उनीहरूका बुझाइमा गृहकार्य विद्यार्थीको व्यक्तिगत स्तरअनुसार तयार पारिएको हुनुपर्छ र यसलाई सजायको रूपमा प्रयोग गर्नु हुँदैन ।

बढी गृहकार्य किन हानिकारक छ ?

अपवाद बाहेक शिक्षक, अभिभावक, शिक्षाविद्हरू विद्यार्थीलाई गृहकार्य दिनुपर्छ भन्नेमा एकमत देखिन्छन् । अभिभावकले भने अलि बढी गृहकार्य हुँदा ठिक हुन्छ भन्ने गरेको सुनिन्छ । तर विद्यार्थीलाई गृहकार्यको भारी बोकाइयो भने सिकाइमा नकारात्मक परिणाम प्राप्त हुन्छ ।

विद्यालयमा लामो समय पठनपाठन प्रक्रियामा संलग्न भएर घर फर्केपछि पनि घण्टौंसम्म गृहकार्य गर्नुपर्दा बालबालिका मानसिक रूपमा थकित हुन्छन् । यसले उनीहरूमा मानसिक तनाव, पढाइप्रति नैराश्यता र वितृष्णा पैदा गर्न सक्छ ।

अधिक गृहकार्यका कारण मानसिक मात्र नभई शारीरिक स्वास्थ्यमा पनि असर पर्छ । धेरै गृहकार्य गर्ने विद्यार्थीहरू घण्टौं एउटै कुर्सी वा आसनमा बस्नुपर्ने हुन्छ । यसले गर्दा ढाड दुख्ने, आँखा कमजोर हुने र मोटोपन बढ्ने जस्ता शारीरिक समस्याहरू देखा पर्न सक्छन् ।

गृहकार्यको चापले राति ढिलासम्म पढ्नुपर्ने हुन्छ, जसले गर्दा विद्यार्थीलाई निद्रा पुग्दैन । पर्याप्त निद्रा नपुग्दा भोलिपल्ट कक्षामा अल्छी मान्ने र एकाग्र हुन नसक्ने हुन्छ ।

बालबालिकाका लागि खेल्नु, साथीहरूसँग घुलमिल हुनु र समाजका विभिन्न गतिविधिमा भाग लिनु जीवन विकासका महत्त्वपूर्ण प्रक्रिया हुन् । तर अत्यधिक गृहकार्यले उनीहरूको सामाजिक जीवनलाई खुम्च्याइदिन्छ । उनीहरू घरभित्रै सीमित हुन्छन् र साथी तथा आफन्तदेखि टाढा हुन्छन् । यसले गर्दा उनीहरूको सिर्जनात्मक क्षमता, सामाजिक भावना र प्रयोगात्मक ज्ञानको विकासमा बाधा पुग्छ ।

उच्च सिकाइ उपलब्धि हासिल गरिरहेका विद्यार्थीमा गरिएको एक अनुसन्धानका अनुसार अधिक गृहकार्यका कारण निन्द्राको कमी, थकान, टाउको दुख्ने, पेटको सम्स्या हुने, खान मन नलाग्ने जस्ता समस्या बालबालिकामा देखापर्ने हुन्छ ।

मनोचिकित्सकको भनाइमा घरमा लामो समय गृहकार्यमा बिताउने बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

स्ट्यानफोर्ड विश्वविद्यालयको एक अध्ययनले पत्ता लगाएअनुसार गृहकार्यमा धेरै समय बिताउने विद्यार्थीहरूले मानसिक तनाव, शारीरिक स्वास्थ्य समस्या, जीवनमा सन्तुलनको कमी र इक्लोपन महसुस गर्छन् ।

अमेरिकी शिक्षाविद् एट्टा क्रालोभेक र क्यानेडियन शिक्षाविद् जोन बुलले संयुक्त रूपमा लेखेको ‘गृहकार्यको अन्त्य’ शीर्षकको पुस्तकमा गृहकार्यले गरिबलाई दण्ड दिने कुरा उल्लेख गरेका छन् ।  उनीहरू भन्छन्, ‘धनीले गृहकार्यको सहयोगको लागि निजी शिक्षक राखेका हुन्छन् जुन गरिबले सक्दैनन् । यो अवस्था हाम्रो देशमा खासगरी शहरी क्षेत्रमा प्रशस्तै देख्न सकिन्छ ।’

गृहकार्य कति हुनुपर्छ ?

गृहकार्यको मात्रा विद्यार्थीको उमेर र शैक्षिक स्तरअनुसार फरक हुनुपर्छ । गृहकार्यसम्बन्धी अग्रणी अनुसन्धानकर्ता ड्यूक विश्वविद्यालयका प्राध्यापक ह्‍यारिस एम. कुपरले गृहकार्य र शैक्षिक उपलब्धिबीचको सम्बन्धका बारेमा दशकौंदेखि गरिएका अध्ययनहरूको विश्लेषण गर्नुभएको छ । उहाँले ‘१० मिनेटको नियम’ प्रस्ताव गर्नुभएको छ । यो प्रस्तावअनुसार कक्षा १ का विद्यार्थीले दैनिक १० मिनेट र कक्षा १० का विद्यार्थीले १०० मिनेट गृहकार्य गर्नुपर्ने हुन्छ । यो प्रस्तावलाई कयौं देशका शिक्षक अभिभावक संघले निर्णय गरेर लागु गरेको पाइन्छ ।

प्राथमिक उमेरका बालबालिका भर्खर पढ्न सिक्दै हुन्छन्, त्यसैले उनीहरूलाई धेरै गृहकार्य दिनु हुँदैन । कक्षा १ मा १० वा १५ मिनेटदेखि क्रमश: कक्षा ५ सम्मका विद्यार्थीलाई ५० मिनेटदेखि अधिकतम १ घण्टाको गृहकार्य पर्याप्त हुन्छ । गृहकार्यमा लेखाइ, पढाइ र गणितीय सिप विकास गर्ने रमाइला क्रियाकलापहरू समावेश हुनुपर्छ ।

आधारभूत तह कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई विस्तारै स्वतन्त्र रूपमा अध्ययन गर्ने बानी बसाल्ने किसिमका गृहकार्यमा जोड दिनुपर्छ । उनीहरूका लागि दैनिक १ देखि डेढ घण्टाको गृहकार्य उपयुक्त मानिन्छ । यस्ता किसिमका गृहकार्यले उनीहरूलाई नयाँ विषयवस्तु खोज्न र बुझ्न प्रेरित गर्छ ।

माध्यमिक तह कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले क्षेत्रीय र राष्ट्रिय स्तरको बोर्ड परीक्षाका लागि तयारी गर्नुपर्ने हुन्छ । त्यसैले यी कक्षाहरूमा गृहकार्य अलि गहिरो र विस्तृत हुन सक्छ र विद्यार्थीले केही लामो समय गृहकार्यमा बिताउनु पर्ने हुन्छ । यद्यपि, उनीहरूलाई पनि दैनिक २ घण्टा देखि २.५ घण्टा भन्दा बढीको गृहकार्य दिनु हुँदैन ।

गुणस्तरीय गृहकार्य कस्तो हुनुपर्छ ?

गृहकार्य मूलत: पाठ्यपुस्तकबाट प्रश्न सोध्ने र त्यही पुस्तक पढेर उत्तर लेख्ने किसिमका हुन्छन् । तर  गृहकार्यलाई रुचिकर, रमाइलो, रचनात्मक र प्रयोगात्मक बनाउन पाठसँग प्रत्यक्ष सम्बन्ध हुने किसिमका चित्र बनाउने, कुनै विषयमा परिवार र समाजका सदस्यसँग कुराकानी गरेर प्रतिवेदन तयार पार्ने, करेसाबारी तथा बगैंचामा काम गर्ने जस्ता प्रयोगात्मक गृहकार्य दिन सकिन्छ ।

पाठ्यपुस्तकको गृहकार्यमा निर्देशन स्पष्ट नै हुन्छ । तर सिर्जनात्मक तथा प्रयोगात्मक किसिमका गृहकार्य दिँदा शिक्षकले विद्यार्थीहरूलाई स्पष्ट रूपमा बुझ्ने गरी निर्देशन दिनुपर्छ । विद्यार्थीले गरेको गृहकार्य शिक्षकले ध्यान दिएर परीक्षण गर्नुपर्छ ।

विद्यार्थीको सिकाइ क्षमता र स्तरअनुसार एउटै कक्षामा पढ्ने विद्यार्थीलाई पनि फरकफरक गृहकार्य दिनुपर्ने हुन्छ । त्यसैले शिक्षकले गृहकार्य दिँदा विद्यार्थीको व्यक्तिगत क्षमता र रुचिलाई ध्यान दिनुपर्छ । कमजोर विद्यार्थीलाई सिकाइको लागि प्रेरणा मिल्ने र जेहेनदार विद्यार्थीका लागि सिर्जनात्मक र खोज तथा अनुसन्धान गर्नुपर्ने किसिमका गृहकार्य दिनु उपयुक्त हुन्छ ।

सिर्जनात्मक, प्रयोगात्मक वा खोज अनुसन्धानको नाममा गृहकार्यमा पूर्णत: नयाँ विषयवस्तु दिनु हुँदैन ।

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक डेनिस पोपका अनुसार विद्यार्थीको रुचि, उमेर र क्षमताअनुसार दिइने रचनात्मक तथा स्वायत्तता प्रदान गर्ने गुणस्तरीय गृहकार्यले उनीहरूको उत्प्रेरणा र शैक्षिक स्तर बढाउँछ । बोझिलो गृहकार्य दिनुभन्दा विद्यार्थीलाई विषयवस्तु स्पष्टसँग बुझाउने खालको अर्थपूर्ण गृहकार्य दिनुपर्छ ।

स्पष्ट उद्देश्यसहित सिकाइसँग जोडिएको, विद्यार्थीले विना कुनै सहयोग वा सामान्य सहयोगमा पूरा गर्न सक्ने, शिक्षकद्वारा निर्देशन स्पष्ट र व्याख्या गरिएको, विद्यार्थीलाई समर्पित, मिहिनेती, नवीन, सिर्जनशील र आलोचनात्मक विचारक बन्न प्रोत्साहित गर्ने गृहकार्य राम्रो मानिन्छ ।

अभिभावकको भूमिका

गृहकार्य मात्र होइन बालबालिकाको समग्र पढाइलाई प्रभावकारी बनाउन अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ । घरमा बालबालिकालाई पढ्नका लागि शान्त र उपयुक्त वातावरण सिर्जना गर्ने, गृहकार्य गर्दा आउने कठिनाइलाई धैर्यतापूर्वक सुन्ने, निरन्तर हौसला प्रदान गर्नुपर्छ । तर आफैँले पूरा उत्तर भनिदिने वा लेखिदिने गर्नु हुँदैन ।

अभिभावक बालबालिकाले गृहकार्य गरुन्जेल सँगै बस्न नभ्याए पनि बेलाबेलामा गृहकार्य कति गर्यौ कति बाँकी छ जस्ता प्रश्न विनम्र भएर सोध्ने गर्नुपर्छ र अप्रत्यक्ष रूपमा नियमित निगरानी गर्नुपर्छ ।

अन्त्यमा

गृहकार्य शिक्षण सिकाइ प्रक्रियाको एक अभिन्न क्रियाकलाप हो । यसले कक्षामा सिकेको ज्ञानलाई दिगो बनाउन र विद्यार्थीलाई अनुशासित तथा आत्मनिर्भर बनाउन मद्दत गर्छ । गृहकार्यले आफ्नो शैक्षिक क्षमतामा विश्वास गर्ने, लगनशील बन्ने, भविष्यप्रति सकारात्मक सोच राख्ने सिपको विकास गराउँछ । यसले बालबालिकालाई कठिनाइमा धैर्यता अपनाउन र चुनौतीलाई सामना गर्न तयार गर्छ । गृहकार्य बालबालिकालाई परिपक्व सिकाइमा मद्दत गर्ने एउटा मुख्य माध्यम हो ।

तर, गृहकार्यको मात्रा बालबालिकाको उमेर, क्षमता र तहअनुसार सन्तुलित हुनुपर्छ । अत्यधिक गृहकार्यले बालबालिकाको मानसिक, शारीरिक, भावनात्मक र संवेगात्मक स्वास्थ्यमा असर पर्छ ।

  • गृहकार्य विद्यार्थीले बोझ महसुस नगर्ने र पाठ्य विषयवस्तुसँग मेल खाने, रमाइलो, प्रयोगात्मक, स्पष्ट तथा सिर्जनात्मक हुनुपर्छ । शिक्षक र अभिभावकले संयुक्त रूपमा विद्यार्थीको गृहकार्यलाई सही दिशा दिन सकेमा यसले बालबालिकाको सिकाइ प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?