News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले भोजपुरले पार्टीको अनुशासनविपरीत गतिविधि गरेको आरोपमा उपमेयर निर्मला शेर्पासहितका नेता–कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
- जिल्ला कमिटीले उपमेयर शेर्पालाई साधारण सदस्यबाट निष्कासन गरी पदमुक्त गर्न कोशी प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ ।
- वडाध्यक्ष नवीन प्रधानसहित ६ जना नेतालाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी अध्यक्ष मकरबहादुर खड्काले दिएका छन् ।
९ साउन, धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुर जिल्ला कमिटीले भोजपुर नगरपालिकाकी उपमेयर र वडाध्यक्षसहित केही नेता–कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
पार्टीको नीति, सिद्धान्त र संगठनात्मक अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोपमा भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न तथा उपमेयर पदबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाउन एमाले कोशी प्रदेश कमिटीसमक्ष सिफारिस गरेको हो ।
यस्तै, एमाले भोजपुर जिल्ला कमिटी सचिवालय सदस्य तथा भोजपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नवीन प्रधानलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।
उनलाई वडा अध्यक्ष पदबाट हटाउन आवश्यक कानुनी प्रक्रिया पनि अघि बढाइएको एमाले भोजपुरले जनाएको छ । यसैगरी, विमल रणपहेली, सुमन प्रधान, रेनुका भुजेल, कोपिला राई, बाबुराम तामाङ र दिपेन दर्नाललाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले भोजपुरले जनाएको छ ।
जिल्ला अध्यक्ष मकर बहादुर खड्काद्वारा हस्ताक्षरित शनिबार जारी प्रेस विज्ञप्ति अनुसार, पार्टीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, जनप्रतिनिधिको पदको दुरुपयोग गर्ने तथा अन्य राजनीतिक दलमा प्रवेश गराउन सक्रिय भूमिका खेलेको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ ।
एमाले भोजपुरले कारबाही गरेका उपमेयर शेर्पा, वडाअध्यक्ष प्रधान सहितका नेताहरू शुक्रबार भोजपुरमा आयोजित एक कार्यक्रममा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।
उनीहरू पार्टी अध्यक्ष हर्कराज साम्पाङ तथा भोजपुरका प्रतिनिधि सभा सदस्य ध्रुव राईको उपस्थितीमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया 4