News Summary
Generated by OK AI. Editorially reviewed.- मार्भल स्टुडियोले ‘एभेन्जर्सः डुम्सडे’ को पहिलो ट्रेलर सार्वजनिक गरेको छ जसमा रबर्ट डाउनी जुनियर सुपरभिलेन डाक्टर डुमको रूपमा देखिएका छन्।
- सन् २०२६ मा प्रदर्शन हुने यो फिल्ममा क्याप्टेन अमेरिकाको पुनरागमन र मल्टिभर्सका विभिन्न पात्रबीचको ठूलो युद्ध देखाइएको छ।
- ट्रेलरमा थोरले क्याप्टेन अमेरिकालाई हथौडा समातेको देखेर अचम्म मान्दै यो सम्भव हुन नसक्ने बताएका छन्।
काठमाडौं । मार्भल स्टुडियोले अन्ततः ‘एभेन्जर्सः डुम्सडे’ को पहिलो ट्रेलर सार्वजनिक गरेको छ । २ मिनेट २५ सेकेन्ड लामो ट्रेलरमा पहिलो पटक रबर्ट डाउनी जुनियर सुपरभिलेन डाक्टर डुमको रूपमा देखिएका छन् । साथै, सुपरहिरोहरूका अनुहारमा डुमको आगमनले निम्त्याएको त्रास पनि पहिलो पटक देखाइएको छ ।
सन् २०२६ मा प्रदर्शन हुने यो बहुप्रतीक्षित फिल्ममा स्टिभ रोजर्स अर्थात् क्याप्टेन अमेरिकाको पुनरागमन देखाइएको छ । ट्रेलरमा क्रिस इभान्सले थोरको हथौडा उठाउँदै देखिन्छन् । फिल्मले तीन फरक मार्भल युनिभर्सबीचको टकराव र मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) को अहिलेसम्मकै सबैभन्दा ठूलो युद्धको सुरुआत प्रस्तुत गर्ने संकेत दिएको छ ।
पहिलो ट्रेलरले लामो समयदेखि प्रशंसकले प्रतीक्षा गरेको क्रसओभर देखाउँछ । यसको सुरुआत डाक्टर डुमबाट हुन्छ, जो हरियो हुड र धातुले ढाकिएको अनुहारसहित मल्टिभर्समाथि आक्रमणको तयारी गरिरहेका देखिन्छन् । त्यसपछि प्रोफेसर जेभियर एक्स-मेनको भवनको झ्यालबाट बाहिर हेर्दै गर्दा आकाशमा देखिएको तीव्र प्रकाशले आउँदै गरेको संकटको संकेत दिन्छ ।
ट्रेलरको सुरुमै जेभियर भन्छन्, ‘केही हुन लागेको छ । यस्तो केही, जसलाई रोक्न असम्भव छ । आज सूर्य अस्ताउनुअघि हामीले त्यो निर्णय गर्नुपर्छ, जुन अहिलेसम्म गरेका छैनौं ।’
त्यसपछि थोरको आवाज सुनिन्छ । उनी बाँकी रहेका सुपरहिरो लाई भन्छन्, “मैले धेरै योद्धासँग मिलेर युद्ध लडेको छु । उनीहरू हामी सबैभन्दा पनि शक्तिशाली थिए । तर उनीहरू मारिए । उनीहरू शत्रुसँग लड्दै ज्यान गुमाए । त्यस्ता खतरनाक शत्रुसँग, जसबाट म त्यति डराएको थिइनँ, जति अहिले यसबाट डराइरहेको छु ।’
त्यसपछि ट्रेलरले पछिल्ला सात वर्ष र तीन चरणदेखि तयार पारिएको कथालाई अगाडि बढाउँछ । यसमा एमसीयू, एक्स-मेन युनिभर्स, फ्यान्टास्टिक फोर र थन्डरबोल्ट्सका पात्र डाक्टर डुमको मल्टिभर्स युद्ध सामना गर्न एक ठाउँमा भेला भएको देखिन्छ ।
ट्रेलरमा शाङ–ची र ग्याम्बिटबीचको भिडन्त देखिन्छ । मिस्टिकले येलेना बेलोभाको रूप धारण गर्छिन् । फ्लोरेन्स प्यू र रेबेका रोमिजनबीच लडाइँ हुन्छ । ब्ल्याक प्यान्थरको वाकान्डा सेना नेमोरको तालोकान सेनासँग आमनेसामने हुन्छ । फ्यान्टास्टिक फोर पहिलो पटक थन्डरबोल्ट्ससँग भेटिन्छन् भने लोकी आफ्नो टीभीए पोशाकमा देखिन्छन् ।
ट्रेलरबाट थोर यसपटक केवल बहादुर पात्र मात्र नभई कथाको भावनात्मक केन्द्रमा रहेको संकेत पनि मिल्छ । उनी अन्य हिरोहरूलाई भन्छन्, ‘आफ्ना साना–साना लडाइँ बिर्सिदिनुहोस् । एउटा कुरा मात्रै सम्झनुहोस्, यदि जीवित फर्कियौं भने परिवार बनेर फर्किनेछौं ।’
ट्रेलरको अन्तिम दृश्यमा थोरले सीधै डाक्टर डुमको सामना गर्छन्, तर कमजोर पर्छन् । त्यसपछि उनीअघि क्याप्टेन अमेरिका देखिन्छन् । उनलाई देखेर थोर भन्छन्, ‘यो सम्भव हुनै सक्दैन ।’ त्यसपछि क्याप्टेन अमेरिकाले थोरको हथौडा समातेको दृश्य ट्रेलरको सबैभन्दा रोमाञ्चक क्षणका रूपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरमा स्पाइडर-म्यान र वल्भरिन भने देखाइएका छैनन् । यद्यपि, फिल्ममा उनीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । यसैबीच, यही महिनाको अन्त्यमा ३१ जुलाईमा टम हल्यान्ड अभिनीत ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ पनि प्रदर्शनमा आउनेछ ।
‘एभेन्जर्सः डुम्सडे’ फिल्म १८ डिसेम्बर २०२६ मा सिनेमाघरमा रिलिज हुनेछ । त्यसको ठीक एक वर्षपछि १७ डिसेम्बर २०२७ मा यसको सिक्वेल ‘एभेन्जर्सः सिक्रेट वार्स’ प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया 4