+
+
Shares

सिन्धुपाल्चोकमा अवैध सञ्चालित दुई अस्पताल र एक क्लिनिकमा सिल

अनुगमन टोलीले दुई पटकसम्म पत्राचार गरी दर्ता, नवीकरण र कानुनी प्रक्रियामा आउन निर्देशन दिँदा पनि ती संस्थाले अटेर गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकमा मापदण्डविपरीत र अनुमति नलिई सञ्चालनमा रहेका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकमा जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ ।
  • कानुनी प्रक्रिया पूरा नगरेका र पटक-पटकको निर्देशन अटेर गरेका तीन संस्थालाई जनस्वास्थ्य सेवा ऐनअनुसार कारबाहीको दायरामा ल्याइएको प्रशासनले जनाएको छ ।
  • बागमती प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिँदै जनस्वास्थ्यमाथि खेलबाड गर्ने जुनसुकै संस्थालाई कडा कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

१० साउन, काठमाडौं । मापदण्ड विपरीत र अनुमति नलिई सञ्चालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक स्वास्थ्य क्लिनिकमा प्रशासनले सिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय र सम्बन्धित निकायको संयुक्त अनुगमन टोलीले सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र बलेफी गाउँपालिकास्थित पराजुली हेल्थ केयर प्रालिमा सिल गरिएको हो ।

अनुगमन क्रममा ती स्वास्थ्य संस्थाले आवश्यक मापदण्ड पूरा नगरेको, इजाजत नलिई सञ्चालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको र अनधिकृत ल्याब तथा एक्सरे सेवा सञ्चालन गरिरहेको पाइएको थियो ।

अनुगमन टोलीले दुई पटकसम्म पत्राचार गरी दर्ता, नवीकरण र कानुनी प्रक्रियामा आउन निर्देशन दिँदा पनि अटेर गरेपछि बाध्य भएर सिलबन्दी गर्नुपरेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा २१, २२ र २७ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ (दोस्रो संशोधन २०८१) को दफा ६, ११ र १५ बमोजिम नियम अनुसार अनुमति लिएर सञ्चालन भएको नपाइएपछि कारबाही अघि बढाइएको हो ।

सोही जनस्वास्थ्य सेवा ऐनको दफा ५२ र ५३ तथा प्रदेश स्वास्थ्य सेवा ऐनको दफा ६६ र ६७ को खण्ड (ख) बमोजिम कानुनी कारबाहीका लागि संयुक्त टोलीले ती संस्थाहरूमा शिलबन्दी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय र जनस्वास्थ्य कार्यालयले जिल्लाभरि बजार तथा स्वास्थ्य संस्थाको अनुगमनलाई थप तीव्र बनाएका छन् । प्रचलित कानुन र मापदण्डअनुसार दर्ता, नवीकरण र सेवा सञ्चालन गर्न आग्रह गर्दै, नियमविपरीत सञ्चालन हुने र जनस्वास्थ्यमाथि खेलबाड गर्ने संस्थामाथि कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।

यसैबीच, बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले पनि प्रदेशका १३ वटै जिल्लामा स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ । कानुनी प्रक्रियामा नआउने र जनस्वास्थ्यमाथि खेलबाड गर्ने जुनसुकै स्वास्थ्य संस्थालाई नछाड्ने मन्त्रालयले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?