News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयको एमबीएस तहको अर्गनाइजेशनल बिहेबियर विषयको प्रश्नपत्र ह्वाट्सएपमार्फत बाहिरिएपछि परीक्षाको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।
- शिक्षा मन्त्री सस्मित पोखरेलले साइबर ब्युरोसँगको समन्वयमा प्रश्नपत्र लिक गराउने व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
- मन्त्रालयले भविष्यमा यस्ता घटना दोहोरिन नदिन विश्वविद्यालयको मूल्यांकन प्रणालीलाई एक वर्षभित्र पूर्णतः डिजिटलाइज गर्ने योजना अघि सारेको छ ।
१० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगतको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको विषय सतहमा छ ।
स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको प्रश्नपत्र ह्वाट्एसप ग्रुपबाट बाहिरिएपछि विश्वविद्यालयको परीक्षा प्रणालीलाई लिएर नै प्रश्न उठिरहेका छन् । परीक्षाको विश्वसनियतामाथि टिकाटिप्पणी सामाजिक सञ्जालमा चलिरहेको छ ।
यसरी सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको प्रश्नपत्र लिक प्रकरणमा मन्त्रालयले शनिबारबाटै आफूहरूले काम थालेको दाबी गरेको छ । निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने बताएको शिक्षा मन्त्रालयले यस विषयलाई कसरी हेरिरहेको छ ? के गरिरहेको छ ?
शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, यसरी प्रश्नपत्र लिक भएको विषयमा मन्त्रालय वा सचिवालयलाई औपचारिक च्यानलबाट भन्दा पहिले फेसबुकमार्फत नै जानकारी भएको थियो ।
सञ्जालबाट प्रश्नपत्र बाहिरिएको थाहा पाउनासाथ सम्बन्धित सबैतिर तत्कालै सम्पर्क गर्न मन्त्रालयले थालेको थियो । सुरु भएको मन्त्रीले बताए।
घटना थाहा पाउनासाथ त्रिविका उपकुलपतिसँग तुरुन्तै छलफल भई साइबर ब्युरोलाई आवश्यक सहयोगका लागि पत्र पठाइएको थियो ।
उक्त पत्र दिउँसो नै पठाइए पनि काम अझ छिटो अगाडि बढाउन मन्त्रीले आफैं गृह मन्त्रालयमा सम्पर्क गरी विषयलाई गम्भीरताका साथ हेर्न आग्रह गरेको बताउँछन् ।
‘त्यसपछि प्रधानमन्त्रीको निजी सचिवालयसँग पनि यसबारे समन्वय भएको थियो,’ मन्त्री पोखरेलले अनलाइनखबरसँग भने ।
साइबर ब्युरोले रातभरि नै छानबिन अगाडि बढाएको र प्रारम्भिक ट्रेसिङमा सम्बन्धित व्यक्ति भारतमा रहेको देखिए पनि पछि थप छानबिनपछि नेपालभित्रै रहेको पत्ता लागेको थियो । उक्त व्यक्ति अहिले पक्राउ परिसकेको अवस्था छ ।
घटनाको गहिराइमा पुग्न त्रिविका रजिस्ट्रारसँग समन्वय गरी छिटोभन्दा छिटो छानबिन समिति गठन गर्ने निर्णय भयो । उक्त समितिको पहिलो बैठक भोलिपल्ट बिहान ७ बजे बस्ने योजना बनायो ।
मन्त्री पोखरेलका अनुसार अहिलेसम्मको अनुसन्धानअनुसार हेर्दा परीक्षा भएको केहीबेरमै प्रश्नपत्र लिक भएको विषय बाहिर आएको छ । र यो प्रश्नपत्र परीक्षा केन्द्रबाटै बाहिरिएको देखिन्छ । त्रिविअन्तर्गत हाल झन्डै ६ सय क्याम्पस रहेकाले कुन केन्द्रबाट ठ्याक्कै लिक भयो भन्ने अझै यकिन हुन बाँकी रहेको उनले बताए ।
परीक्षा हलभित्र मोबाइल लैजान बन्देज भए पनि कुनै न कुनै रूपमा केन्द्रबाटै प्रश्नपत्र बाहिरिएको हुनुपर्ने प्रारम्भिक ठहर मन्त्रालयको रहेको छ ।
तर, आफ्नै परीक्षामा भएको प्रश्नपत्र लिकको छानबिन सम्बन्धित डिन कार्यलयले गर्ने कुरा कत्तिको सुहाउँदो हो ? प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले भने, ‘जाँच सुरु हुनुअघि नै भएको भए, क्याम्पस/रजिस्ट्रार वा उपकुलपति कार्यालयस्तरबाट यो काम भएको भए शिक्षा मन्त्रालयबाटै, वा प्रधानमन्त्री कार्यालयस्तरबाटै छानबिन अगाडि बढाउने कुरा हुन्थ्यो नै । परीक्षा केन्द्रबाट भएकाले डिन कार्यलयले नै छानबिन गर्ने कुरा भएको हो ।’
छानबिन समितिमा विद्यार्थीलाई पनि समावेश गरिएको मन्त्री पोखरेलको भनाइ छ । उनका अनुसार परीक्षा प्रणालीको त्रुटि वा कुनै व्यक्तिको गल्तीका कारण नियमित विद्यार्थीले कति सम्मको परिणाम भोग्नुपर्ने हो भन्ने विषय पनि छानबिन समितिले नै मूल्यांकन गर्नेछ ।
मन्त्री पोखरेलका अनुसार यस्ता घटना दोहोरिन नदिन टियुको हालको केन्द्रीकृत मूल्यांकन प्रणालीलाई थप विकेन्द्रीकृत र डिजिटल बनाउने योजनामा मन्त्रालय अगाडि बढिरहेको छ । उनले यसलाई एक वर्षभित्र भर्ना र मूल्यांकन दुवै प्रक्रिया डिजिटलाइज्ड गर्नेगरी काम भइरहेको बताए ।
‘यी योजनामा विश्वविद्यालयका उपकुलपति र मन्त्रालय स्वयंको समन्वयमा काम भइरहेको छ । यस्ता घटना हुन नदिन हामीले हरेक विकल्पमा काम गर्नेछौँ,’ उनले भने ।
प्रतिक्रिया 4