+
+
Shares

एमबीएस प्रश्नपत्र लिक प्रकरण, यसरी बाहिरिएको थियो ह्वाट्सएपबाट

उक्त प्रश्नपत्र आउनेबित्तिकै विद्यार्थीहरूले ह्वाट्सएप ग्रुपमा छलफल गर्न थालेको देखिन्छ । ‘सर सोलुसन नि पठाइदिनुन,’ एक विद्यार्थीले प्रश्नपत्र ग्रुपमा आएको एक मिनेटमै रिप्लाइ गर्छन् । यसको जवाफमा सुलब सरले भन्छन् – हस् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ साउन १० गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रथम सेमेस्टरको प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएपछि त्रिविले छानबिनका लागि प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
  • प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न सुलभ सर भनिनेसहित दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
  • शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षणसँगै साइबर ब्युरोमा उजुरी परेपछि परीक्षाको मर्यादा र विश्वसनियता कायम राख्न दोषीलाई कारबाही गर्ने प्रक्रिया सुरु भएको छ ।

ह्वाट्सएप ग्रुप – एमबीएस फर्स्ट सेम, सेक्सन सी ।

सदस्य संख्या – एक हजार २३ जना ।

ग्रुपको उद्देश्यमा लेखिएको छ – हेल्प इच अदर । अर्थात्, एकअर्कालाई सहयोग गरौँ ।

दिउँसो १२:०५ मिनेटमा ग्रुपमा एउटा पीडीएफ फाइल आउँछ । ‘सुलभ सर’ भन्ने ह्वाट्सएपबाट आएको उक्त फाइलमा प्रश्नपत्र हुन्छ । साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही समयमै प्रश्नपत्र बाहिरिन्छ । त्यसपछि सामाजिक सञ्जालमा छताछुल्ल भएको उक्त विषय अहिले छानबिनको विषय बनेको छ ।

उक्त प्रश्नपत्र आउनेबित्तिकै विद्यार्थीहरूले ह्वाट्सएप ग्रुपमा छलफल गर्न थालेको देखिन्छ । ‘सर सोलुसन नि पठाइदिनुन,’ एक विद्यार्थीले प्रश्नपत्र ग्रुपमा आएको एक मिनेटमै रिप्लाइ गर्छन् । यसको जवाफमा सुलब सरले भन्छन् – हस् ।

त्यसपछि ती विद्यार्थीले ‘पेपर–वाइज’ भन्दै रिप्लाई गर्छन् । अनि अडियो मेसेज पनि त्यसमा आएको देखिन्छ । विद्यार्थीहरुबीच अनेक जिज्ञासामा सवालजवाफ हुन्छ । एक विद्यार्थीले उत्साही हुँदै ३० मिनेट ढिलो गर्दा परीक्षा हलमा छिर्न दिने/नदिने व्यवस्थाबारे जिज्ञासा राख्छन् । यदि यस्तो कसैले गरेको भए रिप्लाई दिन अनुरोध गर्छिन् ।

लगत्तै अर्की विद्यार्थीको जवाफ आउँछ – डिपेन्ड्स अपन सेन्टर जस्तो लाग्छ । अर्थात्, परीक्षा केन्द्रअनुसार फरक पर्नसक्ने संकेत उनले दिन्छिन् ।

यसरी विद्यार्थीबीच गन्थन चल्दै गर्दा सुलब सरले केही फोटोहरु फर्वाड गर्छन् । केही समयमा फर्वाड गरेको उक्त फोटोमा विद्यार्थीले मागेअनुसार प्रश्नका उत्तरहरु हुन्छन् । त्यसपछि उत्साही विद्यार्थीलाई के चाहियो ? अर्का एक विद्यार्थीले तुरुन्तै रिप्लाई गर्दै लेख्छन् – अब इको (अर्थशास्त्र) मा ढिला जानुपर्ला सर । क्वेसन (प्रश्न) हाल्दिनु होला त यसरी ।’

प्राप्त स्कृनसटमा सुलब सरले विद्यार्थीलाई प्रश्नपत्र लिक गराउने भूमिका खेलेको स्पष्ट देखिन्छ । उनले ग्रुपमा ‘राती ११ बजे आउँछ’ भन्दै महत्तवपूर्ण प्रश्नहरु पठाउने आश्वासन नि दिएका छन् । त्यसलगत्तै विद्यार्थीहरुले ‘आज पनि तपाईंले भन्नुभएकै आयो । तर, बिर्सेँ मैले,’ भन्दै जवाफ दिन्छन् ।

त्यसपछि सुलब सर लेख्छन् – इको (अर्थशास्त्र) को पनि दिन्छु । राम्रोसँग हेर्नुहोला ।’

‘हुन्छ,’ विद्यार्थीको रिप्लाइ छ ।

विद्यार्थीहरु एकदम खुसी र उत्साही देखिन्छन् । एकजना विद्यार्थी लेख्छिन्, ‘थ्यांक्यू । हामी जब होल्डर्सको लागि बेस्ट ग्रुप भयो यो त ! सेलेक्टिभ क्वेसन्स पढ्दा नि आज ९५ गरेँ मैले ।’

यसरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सेमेस्टरको प्रश्न पत्र बाहिरिएको खुलेपछि सामाजिक सञ्जालमा यो विषय चर्चामा छ ।

‘एमबिएस फ्रस्ट सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुप नै परीक्षा सुरु भएको ५ मिनेटमै प्रश्नपत्र पठाउने र त्यसपघि पनि महत्वपूर्ण प्रश्नहरु र सोलुसन्न पठाउने देखिएको छ ।

प्रश्नपत्र बाहिरिएपछि विभिन्न विद्यार्थी संगठन र त्रिविसम्बद्ध ग्रुपहरुले यसमा आपत्ति जनाएको थियो । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डीनको कार्यालयले त साइबर ब्युरोलाई पत्राचार नै गर्‍यो । सहायक डीन डा. भरत राईले साइबर ब्युरोलाई आधिकारिक रूपमा पत्राचार गरेका थिए । प्रश्नपत्र बाहिरिएको विषयबारे डिन कार्यलयको ध्यानाकर्षण भएको बताउँदै साइबर ब्युरोमा छानबिनको लागि अनुरोध गरिएको थियो ।

पत्रचारमा उल्लेख छ, ‘एमबिएस प्रथम सेमेस्टरको अर्गनाइजेशनल बिहेबियर विषय परीक्षाको प्रश्नपत्रको सम्बन्धमा विभिन्न ह्वाट्सएप समूहहरूमा साझा गरिएकोसम्बन्धी आएकाले, यस व्यवस्थापन संकाय डीनको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्कृनसर्टबारे खुलाउँदै यस सम्बन्धमा अवश्यक व्यक्ति, संस्था/परीक्षा केन्द्रको पहिचान गरी हदै सम्मको कानूनी कारबाही गर्न पत्राचार गरेको थियो ।

आइतबार नै परीक्षा नियन्त्रण महाशाखा पनि यसमा सक्रिय भयो । एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनाको छानबिनको लागि छानबिन समितिसमेत गठन गर्‍यो ।

त्रिभुवन विश्वविद्यालयले एमबीए प्रथम सत्रको प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्न समिति बनाएको छ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालय, परीक्षा संचालन समितिले समिति बनाएको हो ।

‘परीक्षा संचालनकै क्रममा विभिन्न सामाजिक संजालमार्फत प्रश्नपत्र सार्वजनिक भई परीक्षाको मर्यादा र विश्वसनियतामा गम्भीर प्रश्न खडा भएको हुँदा यस व्यवस्थापन संकाय डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

परीक्षा नियन्त्रण महाशाखाले आइतबार यही घटनाको छानबिन गर्नका लागि प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको हो ।

अनुगमन निर्देशनालयका उप निर्देशक सह प्रा.डा पुष्कर रैखला र केन्द्रीय परीक्षा संचालक समितिका सदस्य सह प्रा.डा महेशराज ओझालाई सदस्यको तोकिएको छ । उक्त समितिलाई छानबिन गरी सत्यतथ्य निरूपण गरी सात कार्यदिन भित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

योसँगै शिक्षा मन्त्रालय र प्रहरी संयन्त्रले शनिबारबाटै सक्रिय रुपमा यसको छानबिन थालेको छ । ‘हामीले हिजैबाट गम्भीर भएर छानबिन थालिसक्यौँ । सम्बन्धित निकायबाट कारबाही हुन्छ । मन्त्रीज्यू लागि परिरहनुभएको छ,’ शिक्षा मन्त्रालय सचिवालय स्रोतले भन्यो ।

दुई जना पक्राउ

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरेका थिए ।

छलफलमा शिक्षामन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्तिसहित दुई जना पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

घटनाका सम्बन्धमा मन्त्री पोखरेलले शनिबार राति मन्त्रालयमै गएर सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए । उनले प्रहरी उच्च अधिकारीका साथै त्रिविका पदाधिकारीसँग परामर्श गरी छानबिन समिति बनाउने लगायत विषयमा छलफल गरेका थिए ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?