+
+
Shares

नारायणी अस्पताल विवाद : ६८ चिकित्सकले दिए सामूहिक राजीनामा

उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्जस्थित नारायणी अस्पतालका ६८ जना चिकित्सकले सुरक्षाको ग्यारेन्टी नभएको भन्दै सामूहिक राजीनामा दिएका छन् ।
  • डाक्टरमाथि भएको कुटपिट र प्रशासनबाट भएको दुर्व्यवहारविरुद्ध चिकित्सकहरूले आकस्मिक सेवासमेत ठप्प पारेका छन् ।
  • नेपाल चिकित्सक संघले देशव्यापी ओपीडी सेवा बन्द गर्ने निर्णय गरेपछि बिरामीहरू उपचार सेवाबाट प्रत्यक्ष मारमा परेका छन् ।

१२ साउन, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ ।

उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् ।

गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट गरेका थिए । उक्त घटनापछि अस्पतालभित्र चिकित्सकहरू असुरक्षित महसुस गरिरहेको बताउँदै उनीहरूले दोषीमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।

चिकित्सकहरूको भनाइअनुसार, घटनाको छानबिन र सुरक्षा व्यवस्थाबारे छलफल गर्न सोमबार जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले उल्टै अपमान र दुर्व्यवहार भोग्नुपरेको थियो । त्यसपछि पेशागत सम्मान र सुरक्षामाथि गम्भीर प्रश्न उठेको निष्कर्षसहित सामूहिक राजीनामा दिने निर्णय गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई बुझाइएको राजीनामापत्रमा सुरक्षा प्रत्याभूति बिना उपचार सेवा दिन असम्भव भएको उल्लेख गरिएको छ ।

नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक बनेका थिए ।

चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासनपछि उनीहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
तर वार्ता अपेक्षाविपरीत तनावमा परिणत भएको डा. सिंहको दाबी छ ।

उनका अनुसार, वार्ताका क्रममा नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको समेत राजीनामा माग्न सकिने चेतावनी दिएपछि वातावरण बिग्रिएको थियो ।

‘त्यसपछि सीडीओ र एसपी आक्रोशित हुनुभयो । चिकित्सकहरूमाथि अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिइयो,’ डा. सिंहले आरोप लगाए ।

उनका अनुसार वार्ता सकिएपछि बाहिर निस्कँदै गरेका चिकित्सकलाई प्रहरीले घेरा हाल्यो । मोबाइल फोनसमेत खोसिएको, पुनः प्रशासन कार्यालयभित्र लगेर करिब एक घण्टा नियन्त्रणमा राखिएको र अपराधीसरह व्यवहार गरिएको उनको आरोप छ ।

‘हामीमाथि अपराधीलाई जस्तो व्यवहार गरियो। यस्तो अवस्थामा चिकित्सकको सम्मान र सुरक्षाको कुनै अर्थ रहँदैन। त्यसैले यस्तो वातावरणमा काम गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेर सामूहिक राजीनामा दिएका हौं,’ डा. सिंहले भने ।

चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित तथा घटनामा जिम्मेवार प्रशासनिक नेतृत्वमाथि समेत आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।

नेपाल चिकित्सकले संघले देशव्यापी ओपीडी सेवा बन्द गर्ने निर्णय गरेपछि उपचारका लागि आउने बिरामी प्रत्यक्ष मारमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?