१८ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ ।
बिहान ११ बजे बस्ने गरी तय भएको समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो । तर, बैठक नै स्थगित हुन पुगेको छ ।
‘…सभापतिज्यूको अर्को बैठकमा सहभागी हुनुपर्ने भएकोले स्थगित भएको बेहोरा माननीय सदस्यज्यूहरु लगायत सबै सरोकारवालाहरुको जानकारीका लागि निर्देश अनुसार अनुरोध गर्दछु’ समिति सचिवालयले सूचना निकालेर जानकारी दिएको छ ।
यो समितिका केही बैठक यस अगाडि पनि स्थगित भएका छन् । यसअघि यही साउन ११ गते बस्ने गरी तय भएको यो समितिको बैठक स्थगित भएको थियो । त्यसदिन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल काठमाडौँ बाहिर जानुपर्ने भएकोले बैठक स्थगित भएको भनेर समिति सचिवालयले सूचना निकालेको थियो ।
त्यसदिन राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची थियो । यो कार्यसूचीमा फेरि छलफल गर्ने गरी समितिको बैठक बस्न सकेको छैन ।
प्रतिक्रिया 4