+
+
Shares
तराई-मधेश यात्रा :

उहिलेको ‘बर्दीबास चोक’ अहिले मधेशकै ‘कनेक्टिभिटी हब’

बर्दिबासको भौतिक र आर्थिक रूपान्तरण भएको छ। केही वर्षअघिसम्म एउटा सामान्य व्यापारिक चोकको परिचयमा सीमित बर्दिबास आज मधेश प्रदेशको प्रमुख ‘कनेक्टिभिटी हब’ र द्रुत गतिमा हुर्किरहेको आधुनिक सहरका रूपमा विकसित हुँदै छ।

धर्मेन्द्र झा धर्मेन्द्र झा
२०८३ साउन २३ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दिबास मधेश प्रदेशको प्रमुख व्यापारिक र धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
  • टुटेश्वरनाथ महादेव मन्दिर र पञ्चधुरा माइस्थान बर्दिबास क्षेत्रका मुख्य धार्मिक स्थलका रूपमा स्थापित छन् ।
  • तीव्र शहरीकरणका कारण बर्दिबासमा खानेपानी, फोहोर व्यवस्थापन र चुरे संरक्षणको चुनौती थपिएको छ ।

बर्दीबास मेरा लागि नौलो होइन। केटाकेटीदेखि यो नगरसँगको मेरो परिचय हो । महोत्तरीको भरतपुर, गौशाला, औरही हुँदै जलेश्वर जाने, पूर्व-पश्चिम राजमार्ग हुँदै पश्चिम जाने र गौरीडाँडाको बाटो हुँदै भिमान, सिन्धुली, काठमाडौँतिर जाने चौराहाका रूपमा यो सानो बजारको परिचय मेरो मानसपटलमा स्थिर भएर रहेको छ ।

मधेश प्रदेशको करिब-करिब बीचमा अवस्थित महोत्तरीको बर्दिबासभन्दा पूर्वमा मधेशका तीन जिल्ला धनुषा, सिरहा र सप्तरी पर्छन् भने पश्चिममा सर्लाही, रौतहट, बारा र पर्सा पर्दछन् ।

म छेवैको जनकपुरको स्थायी बासिन्दा हुँ, अनेक सन्दर्भमा अनेक पटक बर्दीबाससँगको हिमचिमको सम्झना छ । यो नगर कहिल्यै मलाई नौलो लागेन। मलाई यति मात्र लाग्दै आयो- यहाँको बस्ती धेरै ठूलो भयो, सडकहरू पक्की भएछन्, घर पनि ठूला बनेछन्, बजार निकै विस्तार भएछ, आदि-आदि ।

पछिल्ला दिनमा अवस्था फेरिएको छ । बर्दीबास अब परिपक्व–प्रौढ भइसकेको छ । मधेश प्रदेशको राजधानी जनकपुर भए पनि राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा बर्दीबास चर्चामा रहँदै आएको छ। यसपटक अर्थात् २०८३ को असार ९ देखि ११ सम्म यहाँ तीन रात बिताउने अवसर पाउँदा मैले यस नगरलाई फरक ढङ्गले चिन्ने-बुझ्ने अवसर प्राप्त गरेँ ।

पत्रकारितामा अनेक समस्या

असार ९ गते साँझ काठमाडौँबाट मैले बुद्ध एयरको जहाजमार्फत जनकपुरसम्मको यात्रा गरेको थिएँ । जहाजले जब काठमाडौँको आकाश नाघ्यो, मनभरि मधेशको समथर भूभाग र चुरेको जङ्गलको भावानुभूति भयो । मनमा बेग्लै उत्साह र उत्सुकता थियो। करिब २५ मिनेटको उडानमै दृश्य बदलिएको थियो– काठमाडौँ र त्यसपछिको पहाडी क्षेत्र छिचोल्दै जनकपुरको समथर तराई मैदान। काठमाडौँको चिसो हावालाई जनकपुरधाम विमानस्थलको न्यानो स्पर्शले विस्थापित गरिदिएको थियो ।

विमानस्थल बाहिर नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष अनुज महेश दास आफैँ गाडी लिएर उपस्थित थिए । उनका साथमा थिए पत्रकार विष्णु गुप्ता । खासमा मधेश आमसञ्चार प्राधिकरणको सहयोगमा पत्रकार महासङ्घ महोत्तरीले भोलिदेखि बर्दीबासमा पत्रकारितासम्बन्धी दुई दिने तालिमको आयोजना गर्दै थियो र मैले तालिमको सहजीकरणको दायित्व निर्वाह गर्नु थियो ।

रातको करिब ८ बजिसकेको थियो । भोलि बिहानैदेखि तालिमको सत्र सञ्चालन गर्नुपर्ने भएकाले आज जनकपुर बस्ने छुट मलाई थिएन । जनकपुर बजारमै छ मेरो घर, तर त्यता नगई महेशको गाडीमा बसेर हामी महेन्द्रनगर-ढल्केबर हुँदै पूर्व-पश्चिम राजमार्ग समातेर बर्दीबासतर्फ लाग्यौँ ।

गाडी महेशले आफैँ चलाइरहेका थिए । मैले उनलाई सोधेँ, ‘भाइ, यहाँका पत्रकारले पनि अब गाडी चढ्न सक्ने भए है ?’

उनको उत्तर थियो, ‘दाइ, यो ईभी गाडी हो । घरको पैसा लगानी गरेर किनियो, बाँकी इन्धनका लागि त मेरो आम्दानीले भ्याइहाल्छ नि ।’

उनको उत्तर सुनेर बडो सन्तोष लाग्यो ।

उनको कुरा सुन्दै गएँ, उनको कुरा सुनेर मधेशको पत्रकारिता सम्बन्धमा असन्तुष्ट हुनुपर्ने अनेक कारण थिए । महेशले भनेका थिए, ‘दाइ, भोलिदेखिको तालिममा तपाईंले पत्रकार आचारसंहिता, मर्यादा, व्यावसायिकता र नयाँ मिडियाको दुरुपयोग आदिबारे अलिक कडै भएर भनिदिनुपर्ला ।’

मैले भनेँ, ‘हुन्छ, हेरौँ । पहिला सहभागीका कुरा त सुन्नुपर्‍यो नि।’

बाटो त बन्यो, कृषि केन्द्रहरू भत्किए

सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको सहर जनकपुरबाट हामी उत्तरतर्फ अगाडि बढिरहेका थियौँ। अँध्यारो भइसकेको थियो । बत्तीको उज्यालोमा बाटामुनिका खेतहरू, आँपका बगैँचा र मधेशको जनजीवन झल्कने घरहरू आँखाअगाडि नाचिरहेका थिए । अहिले जनकपुरदेखि ढल्केबरसम्म चार लेनको बाटो बनेछ । बडो राम्रो लाग्यो। म स्थानीय त हुँ, तर मैले पनि यो बाटोको प्रयोग गर्ने अवसर धेरै पाउँदिनँ ।

बाटोमा नक्टाझिज भन्ने ठाउँ आयो । विगतमा कृषि अनुसन्धानका दृष्टिले नेपाल सरकारको महत्त्वपूर्ण निकाय थियो यहाँ । निकै चहलपहल हुने गर्दथ्यो, तर ०४६ को आन्दोलनपछि यो निकाय ओरालो लाग्दै गयो । अहिले त बन्दप्रायः छ । यस्तै महेन्द्रनगरस्थित सुर्ती विकास कम्पनी र जनकपुरस्थित बागबानी केन्द्रको संरक्षण र प्रवर्द्धन पनि पछिल्लो समयमा नेपाल सरकारको प्राथमिकतामा परेन। एक किसिमले तीनवटै संरचना भत्किए । ढल्केबरसम्म आउँदा बाटामा परेका यी तीनवटै स्थान हेर्दा निकै नमज्जा लाग्यो ।

करिब एक घण्टाको यात्रापछि हामी चुरे पहाडको काखमा अवस्थित महोत्तरीको मुख्य व्यापारिक तथा पर्यटकीय केन्द्र बर्दीबास पुग्यौँ । महेशको गाडी बजारमा रोकिएन। उनी सोझै अगाडि जङ्गलतिर पो लागे।

मैले सोधेँ, ‘भाइ कता हो ?’

उनले भने, ‘दाइ यसपटक बजारमा होइन, जङ्गलमा बस्ने हो ।’

म एकछिन अलमलमा परेँ। त्यतिञ्जेल उनको गाडी माइस्थान (माइथान) नजिकैको होटेल नव्या पुगिसकेको थियो ।

भारतीय पर्यटक भरिभराउ देखिए । आज र भोलिको बास मेरो यहीँ हुँदै थियो । महेशले मलाई होटेलमा व्यवस्थापन गरे । होटलको नाम त मैले पहिले पनि सुनेको थिएँ तर बसाइको अनुभव भने थिएन । बाँकी कुरो त थाहा भएन, तर बसाइ भने स्तरीय नै लाग्यो । खुसी पनि लाग्यो, बर्दीबास बजारबाट करिब ३/४ किलोमिटरको दुरीमा जङ्गलमा माइथान मन्दिरनजिक भव्य होटल नव्या ! मलाई त्यहाँ छोडेर महेश जलेश्वर फर्किए ।

माइथान अर्थात् पञ्चधुरा : विगतदेखि वर्तमानसम्म

भोलिपल्ट तालिमको आयोजना हुने निश्चित थियो । सहभागीहरू जलेश्वर, बर्दीबास र गौशालाबाट आउनेवाला थिए । अलिक ढिलै सञ्चालन हुने तय थियो। मैले बिहानको थोरै समय सदुपयोग गर्ने विचार गरेँ। जनकपुरमा क्याम्पसमा अध्ययन गर्दा २०४३ सालतिर म यतातर्फ मित्र मुकुन्दसँग उनको घर चेरु आएको सम्झिएँ । त्यस्तै पत्रकारिताकै एक प्रशिक्षण कार्यक्रम सञ्चालनका सन्दर्भमा २०६८ सालताका सहभागीलाई लिएर माइस्थान र टुटेश्वर गएको पनि सम्झना छ । मुकुन्द अब यस धरामा छैनन्, सम्झेर नरमाइलो लाग्यो ।

बर्दीबास–४ मा अवस्थित पञ्चधुरा माइस्थान (माइथान) मन्दिर पुग्दा लाग्यो- मन्दिरमा विगतको तुलनामा थोरै परिवर्तन आएको छ, सौन्दर्यीकरण गरिएको छ । थोरै बस्ती पनि विस्तार भएको छ, तर तात्त्विक रूपमा खासै परिवर्तनको बोध मलाई भएन । यति हो, माइथान पुग्दा छुट्टै शान्ति र ऊर्जाको महसुस भने हुन्छ ।

पञ्चधुरा भगवतीको प्राचीन मन्दिर रहेको माइथान यस क्षेत्रमा शक्तिपीठका रूपमा पूजित छ । स्थानीय जनविश्वास अनुसार यो शक्तिपीठको सम्बन्ध प्राचीन जनकपुरसँग छ । बर्दीबासका पत्रकार गोपाल बरालका अनुसार राजा जनक र ऋषिमुनिले यस क्षेत्रमा तपस्या गर्दा शक्तिपीठको रूपमा पञ्चधुरा माईको स्थापना गरेका थिए ।

जङ्गलको बीचमा अवस्थित यो मन्दिरमा भाकल गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । पत्रकार बरालका अनुसार यो क्षेत्र वरिपरि भेटिने पुराना इँटा, शिला र संरचनाले यहाँ परापूर्वकालदेखि नै मानव सभ्यताको उपस्थिति रहेको पुष्टि हुन्छ । बरालले भने, ‘यो स्थानको पुरातात्त्विक महत्त्व पनि छ । सम्बद्ध निकायले पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सके यहाँसम्म थुप्रै पर्यटक आउन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।’

गौरीडाँडाको पहाडी भूगोल

कसैलाई मधेशमा पहाड छैन भन्ने लाग्छ भने त्यो गलत हो । बर्दीबासनजिक थोरै पहाडी भूमि पनि छ- गौरीडाँडा । गौरीडाँडा बर्दीबासको त्यस्तो पहाडी भूगोल हो, जहाँबाट एकातिर महाभारत र चुरे पर्वतशृङ्खलाको मनोरम दृश्य देखिन्छ भने अर्कातिर दक्षिणतर्फ फैलिएको मधेशको विशाल समथर फाँटको दृश्यपान हुन्छ। डाँडामा उभिएर चिसो हावाको स्पर्श लिनुको अनुभूति गजबको हुन्छ ।

बर्दीबास चोकबाट करिब एक- डेढ किलोमिटरको दुरीमा अवस्थित गौरीडाँडा र बर्दीबासको वातावरणमा निकै फरक अनुभव छ । बर्दीबास चोकमा गर्मी अनुभूत हुन्छ भने गौरीडाँडामा थोरै चिसो । पछिल्लो समयमा गौरीडाँडामा विकसित हुँदै गरेका पार्क, भ्यु–प्वाइन्ट हरियाली वातावरणले जो कोहीलाई मोहित बनाउन सक्छ । यहाँबाट बर्दीबास बजारको नयाँ स्वरूप र पूर्वपश्चिम राजमार्गको नागबेली दृश्यले जो कोहीलाई आकर्षित गर्न सक्छ ।

यसपछि हामी तालिममा सक्रिय भयौँ । महोत्तरीका पत्रकारको सहभागितामा यहाँको पत्रकारिताका बारेमा जानकारी प्राप्त गर्ने अवसर मलाई प्राप्त भयो । यहाँ सम्भावना र चुनौती दुवै छ तर पत्रकारको समर्पणमा थोरै समस्या पो छ कि जस्तो लाग्यो । मैले र अनुज राकेशप्रसाद चौधरीले तालिमको सहजीकरण गरेका थियौँ । पत्रकार महासङ्घका अध्यक्ष महेश, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खर्गा र मधेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झा निरन्तर हामीसँगै थिए ।

टुटेश्वर : मधेशको ‘कैलाश’ र ‘बाबाधाम’

यस क्षेत्रको अर्को महत्त्वपूर्ण गन्तव्य हो बर्दीबास–५ मा अवस्थित प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिर । बर्दिबास बजारबाट पश्चिमतर्फ राजमार्ग हुँदै छोटो यात्रापछि टुटेश्वर पुगिन्छ । मरहा (माण्डवी गङ्गा) खोलाको किनारमा अवस्थित यो मन्दिरलाई मधेशको ‘कैलाश’ र ‘बाबाधाम’ पनि भनिन्छ । विशेषगरी साउन महिनाको सोमबार, महाशिवरात्रि र हरितालिका तीजमा यहाँ लाखौँ श्रद्धालुको घुइँचो लाग्छ । भारतको झारखण्डस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग बाबाधाममा जुन शैलीमा जल चढाइन्छ, त्यही शैलीमा यहाँ पनि भक्तजनद्वारा विभिन्न नदीबाट जल ल्याएर (काँवर) चढाइने गरिन्छ । हामी बर्दीबासमा हुँदै गर्दा स्थानीयहरू आसन्न साउने मेलाको तयारीमा सक्रिय रहेको देखिन्थे ।

साउनको प्रत्येक सोमबार यहाँ भव्य मेला लाग्ने गर्दछ । स्थानीय जानकारका अनुसार यहाँ स्वयम्भू महादेवको उत्पत्ति भएको हो, तर यो स्थानको उचित प्रचारप्रसार भने हुन सकेको छैन । मन्दिरका पुजारी श्रीचन दासका अनुसार टुटेश्वर महादेवको पूजापाठ गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा यस क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रको अनुसन्धानमा सक्रिय पत्रकार राजकरण महतो जानकारी दिँदै भन्छन्, ‘एउटा किंवदन्ती अनुसार टुटेश्वर महादेव मन्दिरको नामकरणको प्रसङ्ग एक किसानसँग जोडिएको छ । एक बसाहा (साँढे) ले स्थानीय किसानको बाली खाँदै गर्दा उक्त किसानले त्यसलाई लखेट्न थाले । किसानले खुकुरी प्रहार गरे । बसाहाको कान काटियो ।

बसाहा भाग्दै जङ्गलमा अदृश्य भयो । किसान छक्क पर्दै बसाहाको रगत र पाइलाको आधारमा पछ्याउँदै जाँदा जीउभरि शीत नै शीत, तोरीको फूल टाँसिएको र दाहिने कान काटिएको अवस्थामा ढुङ्गाको रूपमा रहेको साँढेलाई देखे । ‘मैले गल्ती गरेछु’ भन्दै किसानले भगवानसँग क्षमा मागे । उता घटनास्थलमा ढुङ्गाको कान फेला पर्यो । साँढेको कान मिलाउँदा ठ्याक्कै मिल्यो । यसरी गाउँको नाम टुटेश्वर अनि मन्दिरको नाम टुटेश्वरनाथ महादेव रहन गएको जनविश्वास छ ।’

पत्रकार महतोका अनुसार यो महादेवको नाम टुटेश्वर रहनुका पछाडि अन्य अनेकौँ किंवदन्तीहरू प्रचलित छन् । टुटेश्वर, त्रिकुटेश्वर, टुकेश्वर, किराँतेश्वर आदि नामले पनि चिनिने यो मन्दिर क्षेत्रमा आएर महाभारतकालमा पाण्डवले भगवान् शिवको तपस्या गरेको पनि मानिने कुरा महतोले जानकारी दिए ।

स्थानीय विक्रम रौनियारका अनुसार स्वयम्भू अर्थात् भगवान् शिवको ज्योतिर्लिङ्ग स्वरूपको बारेमा विश्वलाई जानकारी दिई यो स्थानलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकसित गरिनु जरुरी छ । पत्रकार निकेश खनाल बर्दीबासलाई आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकसित गर्न यस कार्यमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकार सक्रिय हुनु जरुरी रहेको बताउँछन् ।

असार ११ गते बिहान म एउटा कामका सन्दर्भमा काठमाडौँ गएर साँझ पुनः फर्केर बर्दीबास नै पुगेको थिएँ । आजको रात बर्दीबास बजारस्थित प्रसिद्ध गौतम होटेलले मलाई आतिथ्य प्रदान गरेको थियो । भोलि यहाँ मधेश मिडिया काउन्सिलको कार्यक्रम थियो, त्यसको सहजीकरणको दायित्वको जिम्मा पनि मेरै थियो ।

विकासको बाटोमा बर्दीबास

यसपालि तीन रातको बसाइका क्रममा मैले बर्दीबासको अध्ययन गर्दा केही निष्कर्ष पनि निकाल्ने प्रयत्न गरेँ । बर्दीबासको भौतिक र आर्थिक रूपान्तरण भएको छ । केही वर्षअघिसम्म एउटा सामान्य व्यापारिक चोकको परिचयमा सीमित बर्दीबास आज मधेश प्रदेशको प्रमुख ‘कनेक्टिभिटी हब’ र द्रुत गतिमा हुर्किरहेको आधुनिक सहरका रूपमा विकसित हुँदै छ । हाल यहाँ सुविधासम्पन्न होटल, रिसोर्ट र रेस्टुरेन्टहरू उपलब्ध छन् । धार्मिक तथा पर्या–पर्यटनको केन्द्रका रूपमा विकसित हुँदै छ बर्दीबास ।

चुनौती पनि कम छैनन्

विकासको तीव्र गतिसँगै बर्दीबासले केही गम्भीर समस्या र चुनौतीको पनि सामना गरिरहेको बोध भयो मलाई । बर्दीबास अहिले पनि खानेपानीको समस्याबाट प्रताडित छ । वास्तवमा यो नै यहाँको सबैभन्दा ठूलो समस्या हो । चुरेको काखमा बसेको बर्दीबास चुरे क्षेत्रमा भएको अनियन्त्रित बालुवा, गिट्टी उत्खनन र वन विनाशका कारण समस्या बेहोर्न बाध्य छ ।

यस्तै द्रुत गतिमा भइरहेको घरजग्गा कारोबार र प्लटिङले गर्दा खेतीयोग्य जमिन नासिँदै गएको गुनासो पनि छ । यतिमात्र होइन, यस नगर क्षेत्रमा धेरै जग्गा ऐलानी छन् र ती जग्गा अतिक्रमणको चपेटामा परेको बेलाबखत आवाज उठ्ने गरेको छ । केहीले त सामान्य लेनदेन कागजका आधारमा अनौपचारिक रूपमा यी ऐलानी जग्गाको खरिदबिक्री भइरहेकोसम्म पनि भन्न भ्याए । बस्ती बढेको छ तर त्यस अनुपातमा व्यवस्थापनमा समस्या देखिएको छ । बजार र जनसङ्ख्याको विस्तार अनुसार उपयुक्त फोहोर व्यवस्थापन र ढलको प्रबन्ध हुन नसक्दा बजार क्षेत्रमा ढल र फोहोरको समस्या देखिन थालेको अनुभव पनि केहीले सुनाए ।

असार १२ गते दिउँसो प्रस्थान गर्ने बेला भइसकेको थियो । म जनकपुर गइरहेको थिएँ । गाडीमा थिएँ । बर्दीबास चोक आइपुगेको थियो । एकै पटक पुराना थुप्रै स्मृति मानसपटलमा दौडिए । नयाँ अनुभवले पुरानालाई विस्थापित गर्न खोजिरहेका थिए । लाग्यो, समय बदलिएको छ, सँगै बर्दीबास पनि । बर्दीबास अब एउटा चोकमात्र रहेन, यो त धार्मिक आस्था, चुरेको प्राकृतिक सुन्दरता र आधुनिक विकासको सङ्गमस्थल पो बनेको छ । मेरो गाडी अगाडि बढेर लालगढछेउ पुगिसकेको थियो । म पछाडि फर्केर अतीत सम्झँदै थिएँ ।

लेखक
धर्मेन्द्र झा

झा पत्रकार महासंघ र राससका पूर्वअध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?