News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालस्थित अमेरिकी दूतावासले यूएस एम्बेसी युथ काउन्सिल २०२६ का लागि देशभरबाट ५५ जना युवा छनोट गरेको छ।
- दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले छनोट भएका युवाले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
- एक वर्षको कार्यकालमा युवाहरूले नेतृत्व क्षमता विकास गर्दै विभिन्न क्षेत्रका विज्ञहरूसँग आफ्नो सम्पर्क विस्तार गर्नेछन्।
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले यूएस एम्बेसी युथ काउन्सिल नेपाल (यूएसवाईसी नेपाल) २०२६ समूहका लागि देशभरबाट ५५ जना युवा छनोट गरेको छ ।
१,६०० भन्दा बढी आवेदकमध्येबाट छनोट भएका युवालाई सहभागी गराउँदै दूतावासले नयाँ समूहको सुरुवाती सत्र आयोजना गरेको हो ।
दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले छनोट भएका सहभागीलाई बधाई दिँदै उनीहरूले समुदायमा नवप्रवर्तन, आर्थिक वृद्धि र सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
दूतावासका अनुसार एक वर्षको कार्यकालमा समूहका सदस्यले नेतृत्व क्षमता विकास गर्नुका साथै आफ्ना समकक्षी र विभिन्न क्षेत्रका विज्ञसँग सम्पर्क विस्तार गर्नेछन् । उनीहरूलाई नेपालको हितमा भविष्यका अवसरका लागि तयार पार्ने उद्देश्य पनि कार्यक्रमले राखेको दूतावासले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले स्वतन्त्रताको २५० वर्ष मनाइरहेको सन्दर्भ उल्लेख गर्दै दूतावासले यूएसवाईसी नेपालजस्ता कार्यक्रमले विभिन्न व्यावसायिक क्षेत्रका नेपालका नयाँ पुस्ताका नेतृत्वसँग सहकार्य गर्ने अमेरिकी प्रतिबद्धता देखाउने जनाएको छ ।
समृद्ध नेपालले व्यापार, नवप्रवर्तन र दीर्घकालीन सहकार्यका नयाँ अवसर सिर्जना गर्ने र त्यसबाट नेपाल तथा संयुक्त राज्य अमेरिका दुवैलाई लाभ पुग्ने दूतावासको भनाइ छ ।
प्रतिक्रिया 4